नेवार समुदायको मुख्यथलो काठमाडौं उपत्यका हो । उपत्यकामा सभ्य र समुन्नत संस्कृति निर्माणमा यो समुदायको महŒवपूर्ण भूमिका रहँदै आएको छ । यो समुदायको आफ्नै साझा भाषा, साझा भूगोल, साझा आर्थिक जीवन र सांस्कृतिक मनोविज्ञान छ । नेपालको राजनीतिमा नेवार समुदायभित्र छुवाछूत छ वा छैन, यस जातिभित्र अछूतको आरोप लगाइएका दलित समुदाय छन् वा छैनन् भन्ने बारेमा बहस चल्ने गरेका छन् । कुनै पनि समुदाय कुन जाति वा समुदायभित्र पर्छ भन्ने कुरा अनुमानका आधारमा भन्दा पनि ती समुदायको ऐतिहासिक पृष्ठभूमि, उत्पीडनको स्वरुप, भाषिक तथा सांस्कृतिक स्थिति, आर्थिक प्रणाली आदिका आधारमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका आधारमा नै विश्लेषण गरी किटान गरिनुपर्दछ ।
दलित समस्या सामन्तवादले आफ्नो सत्तालाई सुदृढ र विस्तार गर्ने क्रममा मुख्यतः दक्षिण एसियामा विशिष्टरुपले आफ्नै चरित्र ग्रहण गरेको विशिष्ट समस्या हो । यो समस्या विश्वमा अन्यत्र कहीं कतै भेटिंंदैन । दक्षिण एसियाको पनि मुख्यतः भारत र नेपाललगायतका हिन्दू धर्मको बढी प्रभाव भएका केही देशमा मात्रै यो समस्या रहेको छ । यो समस्याको सूक्ष्म र व्याख्यात्मक ढंगले विश्लेषण गर्ने हो भने दलित समस्या सारतः हिन्दू सामन्तवादी राज्यसत्तास“ग गहिरोस“ग अन्तरसम्बन्धित रहेर लामो अन्तरालपछि सांस्कृतिक चरित्र ग्रहण गरेको राजनीतिक समस्या हो । यो वर्गीय राज्यसत्ताको उत्पीडनको भिन्न र जारी रूप हो । यसको उत्पत्तिको जरो सही ढंगले नठम्याएसम्म यसको हल वैज्ञानिक हुनै सक्दैन । त्यसकारण हामीले दलित समस्याको उत्पत्ति, उत्पीडनका स्वरुप, यसले नेपाली समाज र संस्कृतिमा पारेको नकारात्मक प्रभाव, राज्यको उत्पादन सम्बन्ध, सामाजिक सम्बन्ध र अन्तरविरोध आदिलाई राम्रोस“ग केलाएर अध्ययन र अनुसन्धान गर्नु जरुरी छ ।
लिच्छविकालको शुरुको समयसम्म पनि नेपालमण्डलभित्र जात प्रथा थिएन । लिच्छविहरूले शासन शुरु गरेपछि नेपाली समाजलाई चार वर्ण र अठार जातमा विभाजन गरे । नेपाल संवत् ५०१ मा राजा जयस्थिति मल्लले नेवारी समाजलाई ६४ वटा जातमा विभाजन गरेको पाइन्छ । निश्चितरुपमा लिच्छविकालभन्दा अघिसम्म नेवारी समाजभित्र जात विभाजन पनि थिएन र विभेद पनि थिएन तर लिच्छवि राजा सुपुष्प, अंशुवर्मा हुँदै जयस्थिति मल्लसम्म आइपुग्दा हिन्दू वर्णाश्रम व्यवस्थालाई सुदृढ र व्यवस्थित गर्दै जाने क्रममा नेवारी समाजलाई पनि ६४ वटा जातमा विभक्त गरिएको पाइन्छ । उपत्यकाका नेवारी समाजभित्र पनि हिन्दू संस्कार र संस्कृतिको प्रभाव गहिरोसँग पर्दै गयो, जसका कारण नेवारी समुदायभित्रका पनि च्यामे, पोडे, देउला, कुचिकार, नापित (हजाम), खड्गी, कपाली, धोबी (रजक) आदि समुदायलाई छुवाछूतको व्यवहार गरिंदै आएको छ ।
अहिले नेवारी दलित दलित हुन् वा होइनन् भन्ने बारेमा बहस चलिरहेको छ । स्वयं नेवार जातिभित्रका यी समुदायबीच पनि आफ्नो समुदाय दलित हो वा होइन भनेर दाबी गर्ने गरिएको पनि पाइन्छ । वास्तवमा ‘दलित’ शब्दको अर्थ र पहिचान दक्षिण एसियामै एउटै छ किनकि दलित समस्या दक्षिण एसियामा मात्र रहेको समस्या हो । हिन्दू समाज व्यवस्था वा अन्य सामाजिक व्यवस्थामा समाजको सबैभन्दा तल राखेर असाध्यै अपहेलित गर्दै सबै क्षेत्रबाट पछाडि पारिएका पानी नचल्ने, अछूतको व्यवहार गरिने समुदायलाई दलित समुदाय भनिन्छ ।
नेपालको सन्दर्भमा दलित समुदायलाई तीन भागमा विभक्त गर्ने गरिएको छ । पहिलो– आर्य खस जातिभित्र पर्ने दलित समुदाय, दोस्रो– आर्य–द्रविड मिश्रित मधेशी जातिभित्र पर्ने दलित समुदाय र तेस्रोमा नेवारी जातिभित्र पर्ने दलित समुदाय पाइन्छ । तीनवटै दलित समुदायका आ–आफ्नै भाषा, संस्कृति, भूगोल, आर्थिक प्रणाली र मनोवैज्ञानिक बनावट रहेका छन् । जातिगत हिसाबले हेर्दा आर्य खस जातिभित्रका दलित (जसलाई पहाडिया दलित पनि भन्ने गरिएको छ) को भाषा, संस्कृति, भूगोल, आर्थिक प्रणाली र मनोवैज्ञानिक बनावट आर्य जातिसँग नै मेल खान्छ । आर्य–द्रविड मिश्रित मधेशी जातिभित्र र नेवारी जातिभित्रका दलित समुदायको भाषा, संस्कृति, भूगोल, आर्थिक प्रणाली र मनोवैज्ञानिक बनावट पनि नेवार समुदायसँग नै मेल खान्छ ।
नेपालका दलितलाई तीन वर्गमा विभाजन
गरिए पनि अन्ततः उनीहरूको साझा उत्पीडन भनेको हिन्दू वर्णाश्रम व्यवस्थाद्वारा लादिएको छुवाछूतको समस्या नै हो । आर्थिक र शैक्षिक अवस्था फरक हुनसक्छ तर पनि सामाजिक–सांस्कृतिक अवस्था भने उही नै छ । यसर्थ, नेपालका दलित समुदाय कुनै एक जातिविशेषमा मात्रै विभक्त छैनन् । यसो हुँदा नेपालका दलितहरू जाति नभएर समुदाय हुन् । तीनवटा जातिभित्रका अछूत मानिएकाहरूको समूह भएको हुनाले दलित नै हुन् ।
ऐतिहासिक पृष्ठभूमि, उत्पीडनको स्वरुप, विगतको दलित मुक्ति आन्दोलनमा नेवारी दलितको भूमिका र वर्तमानको सामाजिक अवस्था सबैलाई राम्रोसँग अध्ययन गर्दा नेवारी समुदायभित्रका च्यामे, पोडे, देउला, कुचिकार, नापित, खड्गी, कपाली, धोबी आदि समुदाय दलित नै भएको पुष्टि हुन्छ । नेवार जातिभित्र छुवाछूत प्रथा भएको र दलित समुदायलाई त्यो प्रथा भोग्न बाध्य पारिंदै आएको छ । नेवारी समुदायमा तल्लो जात भनिएकामध्ये नाय (खड्गी), जोगी (कपाली), नापित आदिका साथै कतिपय स्थानमा नकर्मी, मानन्धर, प्रजापतिलाई पनि यस्तो व्यवहार गर्ने गरिएको पाइन्छ । आर्य र मधेशी जातिमा पनि केही ठाउँमा दलितहरूलाई छुवाछूत गरिँदैन । पश्चिम नेपालका माओवादी आन्दोलनलाई गहिरोसँग आत्मसात् गरिएका क्षेत्रमा छुवाछूत करिब–करिब अन्त्य भएको थियो । अब प्रश्न उठ्न सक्छ, त्यहाँ भएका दलित समुदायलाई दलित भन्ने कि नभन्ने ? यसो हँुदा वर्तमानमा छुवाछूतमा कमी भए पनि वा बढी नै रहे पनि ऐतिहासिककालदेखि नै छुवाछूतको समस्या भोग्दै आएका र अहिले पनि समाजको पुरानो पुस्ताले सहजरुपमा स्वीकार्न नसकेको समुदाय नै दलित हुन् । उपत्यकाको सन्दर्भमा पनि बुढा–पुराना पुस्ताले नेवारी जातिभित्रका दलित समुदायलाई अरूसरह सामाजिक–सांस्कृतिक मान्यता दिन सकिरहेका छैनन् । यद्यपि नेवारी दलितभित्रका खड्गी र कपालीहरूको आर्थिक स्थिति भने केही सुध्रिएको छ ।
उपत्यकाका नेवार समुदायले हिन्दूधर्म नमाने पनि नेवारी जातिभित्र हिन्दूधर्मको अनुकरण हुँदै आएको छ । त्यसैको उपजका रुपमा राजा जयस्थिति मल्लले शुरु गरेको वर्णाश्रम प्रथा अहिलेसम्म आउँदा जब्बर बनेर झांगिएको छ । नेवार समुदायमा छुवाछूत अझै पनि छ र त्यहाँका दलित पनि उत्पीडन भोगिरहेका छन् । नेवारी दलितहरूको अवस्थिति उपत्यकामै भए पनि राज्यसत्ताका कुनै पनि अंगमा उनीहरूको उपस्थिति छैन । राजनीतिक, आर्थिक, सामाजिक–सांस्कृतिकलगायत सामाजिक जीवनका सबै क्षेत्रमा उनीहरू पछाडि छन् । अहिले एकथरी नेवारी दलित आफू दलित नभएको जिकिर गरिरहेका छन् भने अर्काथरी आफू दलित भएको जिकिर गरिरहेका छन् । दलित समस्याको व्यापक छलफल र विश्लेषण गरी यो समस्याको चुरो कारण पहिचानपछि संगठित ढंगले वैज्ञानिक र दूरगामी हल गरिनु अति जरुरी छ ।
शताब्दीऔंदेखि सामन्ती शासकले मनुवादी संस्कार र संस्कृतिको विकास गर्दै सामन्ती सत्ता टिकाउने रणनीति अन्तर्गत यो वर्गलाई दलित बनाएका हुन् । वास्तवमा यो वर्ग ऐतिहासिकरुपमा श्रमिक वर्ग हो । सीप र कलाका पारखी इन्जिनियरहरूको समूह पनि हो । त्यसकारण दलित भएकोमा हीनताबोध गर्नु आवश्यक छैन । बरु आफ्ना पुर्खाले मान्छेको परिभाषा गर्न नजानेका रहेछन् भनेर गैर दलितले हीनताबोध गर्नुपर्दछ । दलित भनिएकाले त स्वाभिमानी र इमानदार समुदायभित्र परेको हुनाले गर्व गर्न सक्नुपर्छ । त्यसकारण नेवारी दलित भनिएकाहरूले छुवाछूतको उत्पीडन आफ्नो समाजमा रहिरहेर र भोगिरहेर विशुद्ध नेवार हुँ भनी गर्व गर्नुभन्दा पनि आफूमाथि भएको उत्पीडनविरूद्ध जुझ्दै नेवारी दलित हुँ भनेर गर्व गर्न सक्नुपर्छ । आफूलाई थप विशेषाधिकार चाहिन्छ भनेर लड्न सक्नुपर्छ ।
नेपालको राजनीतिमा दलित र महिलालाई विशेषाधिकार हुनुपर्ने कुराको लगभग राजनीतिक सहमति बन्दै आएको छ तर विडम्बना नेवारी दलित समुदायले दलित उत्पीडन पनि भोगिरहने अनि दलित होइनौं भन्नु उपयुक्त हुँदैन । तसर्थ आफ्नो समुदायको ऐतिहासिक पृष्ठभूमि, उत्पीडनको स्वरुप, वर्तमान राजनीतिक तथा सामाजिक परिवेश र नेपाली दलित मुक्ति आन्दोलनमा नेवारी दलित समुदायले खेलेको ऐतिहासिक भूमिकाका बारेमा गम्भीरतापूर्वक अध्ययन गरी नयाँ ढंगले अगाडि बढ्नु जरुरी छ । नेवारी दलितहरू भाषागत, जातिगत, भूगोल, आर्थिक प्रणाली र मनोवैज्ञानिक बनावटका हिसाबले पनि नेवारी जाति नै हुन् भने उत्पीडनका हिसाबले दलित पनि हुन् । त्यसकारण आफू नेवारी दलित भएको कुरामा स्पष्टताका साथ गर्व गर्दै आगामी दिनमा विशेषाधिकारको मुद्दालाई केन्द्रमा राखेर संगठित ढंगले नेपाली दलित मुक्ति आन्दोलनमा गोलबन्द हुनुपर्दछ । त्यसबाट मात्र समग्र दलित समुदायको पूर्ण मुक्ति सम्भव छ ।
(लेखक पूर्व सभासद् हुनुहुन्छ । )
No comments:
Post a Comment