नेपालमा दलित आन्दोलनलाई संस्थागत गर्ने प्रयास २००४ साल तिरबाट भएको पाइन्छ । त्यतिबेला बाग्लुङमा भगत सर्वजित विश्वकर्माको नेतृत्वमा “विश्व सर्वजन संघ” गठन भएको विश्वास गरिनछ । यसै वर्ष अर्थात् २००४ सालमा काठमाडौंमा सहश्रनाथ कपालीको नेतृत्वमा “टेलर युनियन” र धरानमा जदुवीर विश्वकर्मा (पण्डित) को अध्यक्षतामा उमालाल विश्वकर्मा, हीरालाल विश्वकर्मा, टि.आर विश्वकर्मा लगायतको सहभागितामा ‘निम्न समाज सुधार संघ’ गठन भएका थिए तर यी संस्थाहरूको स्थापनामा विवाद देखिएको छ । वरिष्ठ दलित नेता, पूर्व सांसद मनबहादुर विश्वकर्मा (स्वर्गीय) २००६ सालतिर मात्र विश्व सर्वजन संघ संस्थापना भएको बताउनु हुन्थ्यो । वरिष्ठ दलित नेता तथा पूर्व सहायक मन्त्री प्रतापराम लोहर टेलर युनियन र निम्न समाज सुधार संघ पनि २००८ तिरमात्र गठन भएको दावी गर्नुहुन्छ । उहाँका अनुसार २००७ अघि सामाजिक संघसंस्था खोल्नु त्यति सम्भव थिएन । ०७ को परिवर्तनपछि २००८ मात्र यस्ता संस्थाहरू स्थापना भएका हुन् तर दलित इतिहासका अनुसन्धाता ओमप्रकाश भि.के भने २००३ सालमै विश्व सर्वजन संघ र २००४ सालमा “टेलर युनियन ‘निम्न समाज सुधार संघ’ स्थापना भएका दावी गर्नुहुन्छ ।
वि.सं २००६ सालमा स्थापित नेपाल विश्वकर्मा संघका महासचिव वरिष्ठ दलित नेता तथा राष्ट्रिय दलित आयोगका संस्थापक अध्यक्ष पद्मसिंह विश्वकर्मा हुनुभएको थियो । वि.सं २००८ मा पोखरामा नेपाल राष्ट्रिय विश्व सर्वजन संघको
(शाखा?) स्थापना भई त्यसका सचिव गणेश परियारले दलित आन्दोलनलाई संगठित गर्ने प्रयास गर्नुभएको थियो । वि.सं २००४ मा स्थापना गरिएको टेलर युनियन नाम परिवर्तन हुँदै वि.सं २०११ सम्म आइपुग्दा ‘समाज सुधार संघ’ को नाममा परिणत भएको थियो । वि.सं २०११ मा सहश्रनाथ कपालीको नेतृत्वमा गणेश योगी, सिद्धिबहादुर खड्गी, मिठाइदेवी कपाली लगायतको संलग्नतामा “पशुपति प्रवेश संघर्ष समिति” गठन गरेको थियो तर यो समिति नितान्त अस्थायी र निश्चित उद्देश्यमा केन्द्रित अभियान मात्र थियो ।
वि.सं २०१२ मा मिठाइदेवीको अध्यक्षतामा परिगणित नारी संघ गठन भयो । वि.सं २०१४ मा भएको संघको सम्मेलनबाट सहर्षनाथ कपालीकै अध्यक्षतामा उक्त ‘समाज सुधार संघ’ लाई “नेपाल राष्ट्रिय परिगणित परिषद्मा” रूपान्तरण गरियो । वि.सं २०१५ मा कपालीकै नेतृत्वको संघमा मिठाइदेवी कपाली विश्वकर्मा नेतृत्वको परिगणित नारी संघलाई एकीकरण गरियो । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका संस्थापक अध्यक्ष तथा हालै (भदौ २९ गते) नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा नियुक्त प्रतापराम लोहरका अनुसार “नेपाल राष्ट्रिय परिगणित परिषद्” लाई वि.सं २०१९ मा तत्कालीन मजिष्ट्रेट कार्यालयमा विधिवत रूपमा दर्ता गरिएको थियो तर त्यसबेला संघ संस्था दर्ता ऐन २०३४ लागू नभएको अवस्थामा दर्ता गरिएको यो संस्थाको बारेमा थप जानकारी प्राप्त हुनसकेको छैन ।
वि.सं २०३४ सालमा “नेपाल राष्ट्रिय दलित जनविकास परिषद्” लाई सामाजिक सेवा समन्वय परिषद् (हालको समाज कल्याण परिषद्मा) दर्ता गराउने प्रसंगमा टी.आर.. विश्वकर्मा र उहाँका दाजु हीरालालबीचमा फुट आएको थियो । हीरालालहरू “नेपाल राष्ट्रिय दलित जनविकास परिषद्” को नामबाटै सो परिषद्लाई दर्ता गराउन चाहनुहुन्थ्यो तर सामाजिक सेवा समन्वय परिषद्ले समाजमा नयाँ मुलुकी ऐन (२०२०) लागू भइसकेको अवस्थामा कसैले पनि आफूलाई सानो÷ठूलो जातिको सम्झन हुँदैन भन्दै “दलित” शब्द नहटाएसम्म “नेपाल राष्ट्रिय दलित जनविकास परिषद्” लाई सामाजिक सेवा समन्वय परिषद्मा दर्ता गर्न नसकिने जनाइएपछि हीरालालहरू दलित शब्द हटाएर भए पनि ‘नेपाल राष्ट्रिय जनविकास परिषद्’ लाई सामाजिक सेवा समन्वय परिषद्मा दर्ता गराउन सहमत हुनुभयो तर टी.आर. हरू भने दलित शब्द राख्नै पर्ने अडानमा हुनुहुन्थ्यो । अर्कोतिर तत्कालीन श्री ५ बडामहारानी ऐश्वर्यको नेतृत्वको सामाजिक सेवा समन्वय परिषद्ले ‘नेपाल राष्ट्रिय जनविकास परिषद्मा रहेको परिषद् शब्दमा पनि आपत्ति गरेपछि नेपाल राष्ट्रिय जनविकास संगठनको नाममा सो संस्था दर्ता गर्ने पहल भएको बताइन्छ ।
वरिष्ठ दलित नेता प्रतापराम लोहारका अनुसार उहाँहरूको लामो प्रयासपछि २०३९ सालमा राजदरबारका तत्कालीन प्रमुख सचिव रञ्जनराज खनालले एक दिन नेता श्री लोहारलाई फोन गरी एक घण्टाभित्र उहाँको अध्यक्षतामा सिद्धबहादुर खड्गी, हीरालाल विश्वकर्मा र टी.आर. विश्वकर्मा सदस्य रहने गरी नामै तोकेर संगठन दर्ता गर्न लिखित निवेदन दिन सूचित गर्नुभयो । सो समितिमा प्रतापराम लोहारले हीरालाल कपाली (न्यू रोडका) र चन्द्र कपालीको नाम पनि समावेश गरी दरबारमा निवेदन बुझाएपछि दरबारका मुख्य सचिवको तोक आदेशअनुसार २०३९ मा नेपाल राष्ट्रिय समाज कल्याण संघ नामक संस्था जिल्ला प्रशासन कार्यलय काठमाडौंमा दर्ता भयो, जसको दर्ता नंं. छ थियो । यो संस्था नै मुलुकको पहिलो ‘दलित’ संस्था हो । यसअघि २०३६ मा शंकर विश्वकर्माको संयोजकत्वमा समाज सुधार मञ्च गठन भएको थियो । मोरङमा २०३७ मा जवाहर रोक्काको अध्यक्षतामा पछौटे जाति सुधार संघ स्थापना भएको थियो । काठमाडौंमा नारायणप्रसाद कपालीको अध्यक्षतामा २०३८ मा नेपाल अति पिछडिएको जनविकास परिषद् गठन गरियो ।
२०४२ मा बलबहादुर खातीको अध्यक्षतामा छुवाछूत मुक्ति संगठन स्थापित भयो । यसैगरी २०४४ काठमाडौंमा मेघबहादुर परियारको अध्यक्षतामा जाति विभेद उन्मूलन मञ्च गठन भयो । वि.सं २०४५ मा गोल्छे सार्कीको अध्यक्षतामा उत्पीडित जातीय उत्थान मञ्च स्थापना गरियो । दलित मुक्ति मोर्चा
(२०४५) रूपन्देही, दलित मुक्ति मोर्चा (२०४६) झापा, छुवाछूत मुक्ति संगठन काठमाडौं (२०४६) र जातीय समता समाजबीच एकता भएर वि.सं २०४९ भदौ १ गते पदमलाल विश्वकर्माको अध्यक्षतामा “नेपाल उत्पीडित दलित जातीय मुक्ति समाज” गठन भयो ।
प्रजातन्त्र पुनःस्थापनाको करीब एक दशकपछि २०५४ साल मंसिर २६ गते नेपाल दलित संघ स्थापना भयो । शुरुमा तदर्थ समिति र सोको विधानमार्फत स्थापित संघको विधान र तदर्थ समितिलाई नेपाली कांग्रेसले २०५४ फागुन ४ गते स्वीकृत गरी पार्टीको भातृसंस्थाका रूपमा मान्यता दिएको थियो । वि.सं २०२४ मा सहश्रनाथ कपाली अध्यक्ष र हीरालाल विश्वकर्मा महासचिव रहनुभएको नेपाल राष्ट्रिय दलित जनविकास परिषद्को स्थापना गरियो । यस परिषद्का कार्यक्रमहरू राष्ट्रियस्तरमा फैलिंदै जानेक्रममा वि.सं २०२९ जेठ २९ गते काठमाडौंमा परिषद्को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न गरियो । सम्मेलनपछि मोहनलाल कपाली र टी.आर. विश्वकर्मा क्रमशः परिषद्को अध्यक्ष र महासचिव बन्नुभयो भने, हीरालाल विश्वकर्मा, जवाहर कपाली, बिच्छेवर्मा कपाली आदि परिषद्को नेतृत्वमा रहनुभयो । मुलुकका विभिन्न जिल्लामा यस परिषद्का शाखा खुल्दै गए र दलित आन्दोलन अझ संगठित हुँदै गयो । पछिल्ला समयमा राजनीतिकभन्दा सामाजिक उद्देश्यका गैरसरकारी निकायहरूको स्थापना गर्ने क्रम बढेको छ ।
No comments:
Post a Comment