तल्लो जातसँग गएर हाम्रो इज्जत फालिस्, केटा छाडेर हिँड भने

नुवाकोट, माघ २० – चारघरे–८ की रजनी थापामगरले एक वर्षदेखिको पवित्र मायालाई मार्न सकिनन् र माघ १७ गते छिमेकी गाउँकै एक दलित युवकसँग प्रेम विवाह गरिन् । तर, उनको घरपरिवार र आफन्तलाई यो निर्णय मन परेन । जसको परिणामस्वरुप विवाह भएको दुई दिन नबित्दै आफ्नै आफन्त, दाजुभाई र आमासहित मिलेर सोमवार साँझ रगताम्मे हुनेगरी कुटिएकी रजनीको हत्या प्रयास गरे । दलित केटालाई छोड्न दवाव दिँदा नमानेपछि उनीहरुले यस्तो प्रयास गरेका हुन् ।   
सदरमुकाम विदुरसँगै जोडिएको कल्याणपुर गाविस वडा नं. ४ खुर्सानीखोलाका २१ वर्षिय लालबहादुर विश्वकर्मासँग विवाह गर्न रजनीलाई प्रेमका सामु कुनै जातभातले छेकेन । उता, परिवार र आफन्तलाई भने ‘पानी नचल्ने तल्लो जात’ सँग गएर आफुहरुको इज्जत फालेको भन्ने रिसको आवेगमा छोरीको कुटपिट गरी हत्याको प्रयास समेत गरेका छन् ।   कुटपिटबाट शरीरभरी निलडाम र चोट लागेर घाइते भएकी उनको जिल्ला अस्पताल त्रिशूलीमा उपचारका लागि भर्ना गरिएको छ । पीडित रजनीका अनुसार सोमवार दिउँसो चारघरेस्थित माइतीबाट गएकी आमा रमा थापामगरको नेतृत्वमा पुगेका दाजु सुसन, काका महेन्द्र र दुईजना सानीआमासहित १६ जना कल्याणपुर गाउँमा रहेको युवकको घरमा पुगे । युवकको छिमेकमा उनीहरुको आफन्त पर्ने मगरहरुको वस्ती छ । उनीहरुलाई साथमा लिएर विश्वकर्माको घर घेर्न पुगेका करिब ८० देखि ९० जनाको समुहले छोरीसँग कुरा गर्नुछ भन्दै घरबाट निकालेका थिए ।   परिवार र आफन्तबाट कुटिएको कहालिलाग्दो घटना सम्झिँदै रजनी भन्छिन्, ‘मलाई फकाउँदै घरदेखि पर एकान्तमा पु¥याएपछि तँ पानी पनि नचल्ने तल्लो जातसँग गएर हाम्रो इज्जत फालिस्, त्यो केटा छाडेर हिँड भने । जात मलाई थाहा छैन, मैले मन मिल्यो बिहे गरिसकेँ, अब उसलाई छोड्दिन भनेर मैले मानिँन । त्यसपछि अब तैँले बाँच्न पाउँदिनस्, भन्दै आमा, दाई र काका सबैले जथाभावी चिर्पट र ढुंगाले हान्न थाले । मार्नै खोजेको थाहा पाएपछि ज्यान जोगाउन भागेँ । मुख र नाकबाट रगत बग्दाबग्दै बेहोस् भएछु पछि श्रीमान् र अरु आफन्तले आएर बचाए ।’   रजनीलाई मार्न खोजेको बुझेपछि उद्धार गर्न जाँदा आफूहरुलाई पनि केही समय बन्धक बनाइएको युवकका भिनाजु विनोद सुनारले बताए ।   
श्रीमान् लालबहादुरका अनुसार रजनी तीन महिनाकी गर्भवतीसमेत छिन् । कुटपिटबाट शरीरको भित्री भागमा असर पुगेकोले अवस्था पनि संवेदनशील भएको अस्पतालका चिकित्सकहरुले बताएका छन् । ‘छिमेकका मगरहरुले घरबाहिर निस्के मार्ने भनेका छन्,’ लालबहादुरले भने, ‘गाउँ छोडेर अन्तै जा, नत्र गाउँबाट निकालेर डाँडा कटाउने धम्की छ, कहाँ जाने हामी ? सानो जात भनेर बाँच्न पनि नसकिने भइयो ।’   यता, प्रहरीले भने यस घटनाको उजुरी आएमा दोषीहरुलाई कानुन बमोजिम कारबाही गरिने जानकारी दिएको छ । 
Source by: ratopati

No comments:

Post a Comment