दलित कसलाई भनिन्छ ? दलित कति प्रकारका छन् ?
नेपालमा दलितले विशेष अर्थ राख्दछ ? हिन्दु मोडेल (जातप्रथा) र नेपालको मुलुकी ऐन, सन् १८५४ ले परिभाषा गरेअनुसारका अछूत समुदायलाई दलित भन्ने गरिएको छ । दलित समुदायभित्र पनि जात प्रथा छ । नेपालमा दलितलाई तीन समूहमा बाँड्न सकिन्छ : (१) पहाडे दलित, (२) नेवार दलित र (३) मधेसी दलित । नेवार दलितहरू आफै बीचमा उनीहरू दलित हुन् वा होइनन् भन्नेमा बाँडिएका छन् । भाषाका दृष्टिले दलितहरू नेवारभाषी, खस भाषी, भोजपुरीभाषी, अबधिभाषी, मैथिली भाषी आदि विभिन्न भाषी छन् । जनजातिको जस्तो दलितको आफ्नो छुट्टै जातीय भाषा र ऐतिहासिक भूगोल छैन ।
अन्य जातिको समस्या समाधानको लागि सुझाइएको उपचारले नछुने यो समुदायको रोग हो – छुवाछूतको भेदभाव । सबैभन्दा नराम्रो मानवताविरोधी प्रथा नै जातप्रथा हो । ब्राह्मणवादी समाजले थोपरिदिएको दासताको सिक्री । त्यसैले यो समुदायले आफैभित्र र आफूबाहिरको समाजसँग जुझ्नु पर्दछ । राज्यको हरेक निकाय र तहमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व र क्षतिपूर्ति स्वरूप विशेष अधिकारको व्यवस्था यो समुदायको प्रमुख मुद्दा हो । सामाजिक अन्तरघुलन यो समुदायको दीर्घकालीन रणनीति हो । जबसम्म यो समुदायले समाजमा समान व्यवहार पाउँदैन, जबसम्म सार्वजनिक जीवनमा न्यायोचित सहभागिता हुँदैन, जबसम्म स्रोतसाधनमा समान पहँच हुँदैन, तबसम्म दलित समुदायको मुक्ति हुँदैन ।
पिछडावर्गले के बुझिन्छ ? के मधेसी र पिछडावर्ग एउटै हुन् ?
पिछडावर्गले नेपालको तराईमा बसोबास गर्ने आदिवासी जनजाति र दलितको बर्गीकरणमा नपरेका जातप्रथाका आधारमा ब्राह्मणक्षेत्रीभन्दा भिन्न निम्न तथा मध्यम जातसमूहका मानिसहरूलाई बुझाउँछ भन्न सकिन्छ । यो परिभाषा विकासका आधारमा पछि परेको समुदायको अबस्थालाई प्रतिविम्वित गर्न गरिएको छ र यसले भारतमा विद्यमान अन्य पिछडा वर्ग (Other backward class concept) को अवधारणालाई अंगिकार गरेको देखिन्छ । राज्यको हरेक निकाय र तहमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व यो समुदायको प्रमुख मुद्दा हो । यो हिसावले हेर्दा पिछडावर्ग अलि संकुचित र मधेसी अलि ब्यापक शब्द लाग्दछ ।
मधेसी भनेको तराईमा बसोबास गर्ने बैदिक हिन्दुआर्य जाति नै हुन् जसमा ब्राह्मण, क्षेत्री, बैश्य, शुद्रजस्ता जातहरू छन् । तराईका आदिवासी जनजाति समुदायले “हामी मधेसी होइनौं” भनेर आफूलाई मधेसी भन्न इन्कार गरेकाले आदिवासी जनजाति, पहाडे खसआर्य जातिलगायतलाई छोडेर पिछडावर्ग, मधेसी दलित र अन्य समुदायलाई मधेसी भन्न सकिन्छ ।
सीमान्तकृत वर्ग/समुदायले केलाई बुझाउँछ ?
सीमान्तकृत वर्ग/समुदायले सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक आदि दृष्टिले पछाडि परेको वर्ग/समुदायलाई बुझाउँछ भन्न सकिन्छ । यो वर्ग तथा समुदायसापेक्ष कुरा हो, निरपेक्ष होइन । नेपाल सरकारद्धारा मान्यता दिएको ५९ वटा जनजातिलाई पनि विभिन्न सूचकहरूको आधारमा सङ्कटापन्न समूह (Endangered groups), अति सीमान्तकृत समूह (Highly marginalized groups), सीमान्तकृत समूह (Marginalized groups), अवसरबाट बन्चितसमूह (Disadvantaged groups) र अग्रवर्ती (विकसित) समूह (Advanced groups) मा विभाजन गरिएको छ । उक्त बर्गीकृत समूहभित्र र एउटा समूहभित्र पनि सीमान्तकृत समूह हुन सक्दछ ।
source:-esamata
No comments:
Post a Comment