भट्टचन सर, कसरी होला दलित र जनजातिबीच सहकार्य ? - शिवहरि ज्ञवाली

समाजशास्त्री डा. कृष्ण भट्टचनले ‘भट्टचन दृष्टि’ स्तम्भमा दलित समुदायलाई जनजातिहरूको आन्दोलनमा ‘सँगै लड्ने कि दनक खाने ?’ भनेर प्रश्न गरे । उनको मूल आशय थियो
दलित, मधेसी र जनजातिहरूको एक्लाएक्लै आन्दोलनले तीनै पक्षलाई अधिकारसम्पन्न बनाउन सक्दैन । ‘सँगै लड्ने कि दनक खाने ?’ लेखमा उठाइएको विचारप्रति सैद्धान्तिक रुपमा मेरो कुनै आग्रह वा पूर्वाग्रह छैन । तर व्यावहारिक रुपमा भने दलित समुदायमाथि बाहुन–क्षेत्रीहरूले गर्ने विभेद र आदिवासी जनजातिहरूले गर्ने विभेदको पाटोलाई जनजाति आन्दोलनले सम्बोधन गर्ने चेष्टासमेत नगर्नुप्रति मेरो खबरदारी गर्न खोजेको हुँ ।
बाहुन–क्षेत्री, जनजाति र मधेसीहरूले दलितमाथि गर्ने विभेदमा के भिन्नता छ ? यो एउटा अनुसन्धानको विषय हुनसक्छ । गत वर्ष मधेसी (यादव) समुदायले रौतहट, पिपरैयामा दलित बस्तीमाथि दिउँसै आक्रमण गर्‍यो । त्यस्तै, जनजातिभित्रको गुरुङ समुदायले २०६८ कार्तिक २६ गते घान्द्रुकका शिक्षक कर्णबहादुर नेपालीलाई कालोमोसो र पेटिकोट लगाएर गाउँ घुमायो । मधेसी र जनजाति समुदायले गर्ने विभेद र बाहुन–क्षेत्रीले गर्ने विभेदबीच के भिन्नता छ ? यी तीनै समुदायले गर्ने विभेदबीच एकजना पीडित दलितको पीडा र विभेदको आयतन कत्तिको फरक छ ? मधेसी, विशेषतः जनजाति आन्दोलनले किन अझैसम्म छुवाछूत र जातीय विभेदको मुद्दालाई बाहुन–क्षेत्रीसँगको मुद्दाको रुपमा मात्र लिने गरेको छ ? दलित आन्दोलनले बुझ्नुपर्ने कुरा पनि यही हो । यो बुझ्न नसकेमा दलित आन्दोलनले ‘दनक’ खाई नै रहने छ ।
एक दशकअघिको एउटा घटना सम्झिन्छु । २०६१ पुस ९ गते सप्तरी, पथ्थरगढाका दलित समुदायले स्थानीय भगवती, राजाजी र बजरंगबली तीनवटा मन्दिरमा एकैपटक प्रवेश गरे । यसको विरोधमा स्थानीय गैरदलित समुदायको गाउँ भेलाले मन्दिर प्रवेश अभियानका अगुवा ५४ वर्षीय ओमप्रकाश मेहतालाई १५ हजार नगद जरिबानाका साथै उठबससमेत गरायो । स्मरणीय छ, तीनवटै मन्दिर निर्माणमा दलित तथा गैरदलित समुदायबाट बराबर चन्दा उठाइएको थियो ।
यो घटना सेलाउन नपाउँदै मार्च २१ को अवसर पारेर दलित नागरिक समाजले रुसी सांस्कृतिक केन्द्रमा अन्तर्क्रिया कार्यक्रम राख्यो । कार्यक्रमका एक वक्ता डा. ओम गुरुङले मञ्चबाटै दलित समुदायलाई “मन्दिरमा देवता राख्ने ठाउँमा दलितहरू किन जानुपर्‍यो ?” भन्ने आशयको मन्तव्य राखे । उनको यो विचारले मञ्चमा रहेका दलित अगुवाहरू स्तब्ध भए, तर उनीहरूले कुनै प्रतिक्रिया भने जनाएनन् । त्यसको अडियो रेकर्ड जागरण मिडिया सेन्टरमा सुरक्षित छ । यसलाई केहीले जनजातिहरूमा रहेको ‘बाहुनवाद’को प्रभाव भने, तर खुलेर चाहिँ कसैले बोलेनन् ।
अब विगतका केही महिनालाई मात्रै केलाएर हेरौं । नेपालमा बुद्ध धर्म मान्ने जनजातिहरूको ठूलो जनसंख्या छ । छुवाछूतविरोधी मानिने बुद्ध धर्म र त्यो पनि लुम्बिनीमै केही महिनाअघि दलित भिक्षुमाथि विभेद गरियो । करिब २ वर्षअघि राजकीय बौद्ध विहारमा मुख्य पुजारी रहेका भिक्षु मिलिन्दलाई दलित भएको थाहा पाएपछि विहार प्रशासनले निकाल्यो । उनी हाल अनसनमा छन् ।
गत माघमा चितवन, पदमपुरकी संगीता तामाङलाई दलितसँग विवाह गरेकै आधारमा आफ्नै बाबुआमाले खुट्टा भाँचिनेगरी कुटपिट गरे । तामाङ समुदायको भीडमा संगीतालाई बचाउने एक्लै थिइन् पवित्रा तामाङ । व्यक्तिगत रुपमा उनीमाथि समेत ज्यान मार्ने धम्की आएपछि मैले जनजाति नेताहरूको सहयोगका लागि सुझाएँ । उनले जनजाति नेताहरूले उल्टै पीडकहरूको पक्ष लिने र दलितबारे नबोल्ने बताएपछि म नराम्ररी झस्किएँ ।
पदमपुर घटना नसेलाउँदै नुवाकोटकी रश्मी मगरमाथि दलितसँग बिहे गरेकै निहुँमा हत्या गर्ने उद्देश्यले आक्रमण गरियो । घटनाबारे जनजाति संघसंस्थालगायत मानवअधिकारवादी संस्थाहरूलाई इमेल गरें । जवाफमा ‘पीडितको व्यक्तित्व विकासमा सहयोग गर्ने भन्दै तालिममा पठाइदिन’ एक महाशयले आग्रह पो गरे । स्मरणीय छ, केही राष्ट्रिय तहका जनजाति नेताहरूकै सल्लाहमा पीडितलाई उल्टै जबर्जस्ती करणी र बालविवाहको मुद्दा हाल्न पीडकहरूलाई सुझाइयो ।
जागरण मिडिया सेन्टरको एउटा अध्ययनले जातीय भेदभाव तथा छुवाछूत (कसुर सजाय ऐन, २०६८) आइसकेपछि जातीयताकै आधारमा हत्या गरिएका ७ जनामध्ये ३ जनाको हत्यामा जनजाति, ३ जनाको हत्यामा बाहुन–क्षेत्री र एक जनाको हत्यामा दलित समुदाय नै संलग्न रहेको देखिन्छ । अन्तरजातीय विवाहपछि गाउँ निकाला गर्ने र कुटपिट गर्नेमा जनजातिहरू सबैभन्दा अगाडि छन् । तर, जनजाति आन्दोलन यी सबै कुरा भुलेर “आऊ सँगै लडौं” भन्दैछ । यो विषय बारम्बार जनजाति नेताहरूसँग राख्दै पनि आएको छु । तर, यसको जवाफ एउटै छ, ‘जनजातिभित्र रहेको बाहुनवाद ।’ वाह, बाहुनवादको फर्माइसी फर्मुला, जसले दलितहरूलाई अझ विभेदमा पारिरहेछ । बाहुन–क्षेत्री र जनजातिहरू यही बाहुनवादको पुच्छर समातेर दलितहरूमाथि दाइँ गर्दैछन् ।
सर्वविदितै छ, हिन्दु धर्म र ब्राह्मणहरू जातीय विभेदको मामलामा सबैभन्दा निकृष्ट छन् । म र मेरा पुर्खा स्वयम् पनि पीडकहरू नै हौं, भलै मैले आफूलाई सुधार्दै छु । अहिले जसरी जनजाति आन्दोलनमा दलितहरूको सहभागिता छ, त्यो भीडभित्र हराइरहेका दलितहरूको अमुक पीडा हो यो ‘बाहुनवाद’ ।
दलित तथा जनजाति आन्दोलनमा बाहुनवादलाई उनै ब्राह्मण–क्षेत्री र जनजातिहरूले आफ्नो हितमा प्रयोग गर्दैछन् । अर्कोतिर दलित आन्दोलनभित्र समेत शुद्धीकरण गर्नुभन्दा बाहुनवादको निहुँमा कमजोरीहरूलाई बढावा दिइँदैछ । मूलतः यसको समग्र प्रभाव दलित समदायको मुक्तिको बाटोलाई अझ पर धकेल्नु हो । यसले बाहुनवादको नाममा जातीय विभेद गर्ने ब्राह्मण–क्षेत्री र जनजातिहरूलाई उन्मुक्ति दिने काम गर्छ । यो तथ्यलाई अहिले आन्दोलनको एउटै मोर्चामा रहेको जनजाति आन्दोलन स्वीकार्न नचाहनुको अर्थ के होला ?
बिनापूर्वाग्रह भन्ने हो भने जनजातिहरूमाथिको विभेद र दलितहरूमाथिको विभेद एउटै स्वरुपको हुनै सक्दैन । मानवअधिकारको विश्वव्यापी घोषणापत्रले समेत परिभाषित गर्न नसकेको दलित समुदायको मुद्दा ‘राइटस् टु वि ह्युमन’ अर्थात् मान्छे हुन पाउने अधिकार हो । मान्छे हुन पाइसकेकाहरूले बल्ल खोज्छन् मानवअधिकार । डोकोले छोपेर, मनबाट निकालेर, बेवास्ता गरेर ‘हामी दुवै पीडित हौं, आऊँ सहकार्य गरौं’ भनेर हुन्छ ? अब आफ्ना कमजोरीलाई सुधार्ने कि बाहुनवाद भनेर उम्किने ? आउनुस्, बाहुनवादलाई पुनः परिभाषित गरौं ।
swource:-esamata

No comments:

Post a Comment