१५ मुक्त हलिया परिवारलाई १०/१० धुरको संयुक्त पुर्जा वितरण

शुक्रबार भूमिसुधार कार्यालयमा संयुक्त धनी पुर्जा बुझेपछि भेला भएका मुक्त हलिया। तस्बिर: भवानी/कान्तिपुर
कञ्चनपुर, फाल्गुन २ - झलारी पिपलाडी नगरपालिका ९ खजुवाकी सावित्री लुहार दुधे बालक काखी च्यापेर शुक्रबार बिहानै महेन्द्रनगरस्थित भूमिसुधार कार्यालय पुगिन्। कार्यालयमा धेरैबेरको पर्खाइपछि श्रीमान् गोपाल राम र आफ्नो नामको संयुक्त जग्गाधनी पुर्जा पाउँदा उनी एकपटक विगतका सबै दुःख बिर्सन पुगिन्। परिवारमै पहिलोपटक महिलाका नाममा जग्गाधनी पुर्जा पाउँदा उनमा खुसीको सीमा रहेन।
सरकारले मुक्त हलिया पुनस्र्थापना कार्यक्रमअन्तर्गत घरजग्गा केही नभएका परिवारका महिला र पुरुषका नाममा संयुक्त जग्गाधनी पुर्जा दिन थालेपछि खुसियाली आएको हो। जिल्ला भूमिसुधार कार्यालयले शुक्रबार पुन्ास्र्थापना कार्यक्रमअन्तर्गत १५ मुक्त हलिया परिवारलाई १०/१० धुरको संयुक्त पुर्जा वितरण गरेको हो। उनीहरूले भीमदत्त नगरपालिका ८ तिलाचौरमा जग्गा दिएको हो। 'सरकारले श्रीमान्/श्रीमती दुवैका नाममा एउटै पुर्जा दिएर समान व्यवहार गरेको छ,' धनी पुर्जा लिएपछि खुसी हुँदै सावित्रीले भनिन्, 'यसले जग्गामा दुवैको बराबर अधिकार र सम्पत्तिको हक मिलेको छ।' उनले अब श्रीमान् एक्लैले जमिन बिक्री गर्न वा धितो राख्न नसक्ने भएकाले महिलालाई यसले निकै फाइदा हुने बताइन्।
'श्रीमान्ले रक्सी खाएर झगडा गर्दा तेरो केही छैन भन्न सक्ने अवस्था अब रहेन्,' भीमदत्त ९ मटेनाकी ६० वर्षीया रामा सार्कीले भनिन्, 'हामीले पनि घरमा आफ्नो केही छ भन्ने महसुस गर्न पाउँछौं।' उनको परिवारले तीन पुस्तापछि धनी पुर्जा पाएको हो। 'मेरो बुबा र बाजेका नाममा कतै पनि केही छैन,' संयुक्त पुर्जा लिँदै रामाका श्रीमान् लालुले भने, 'हलिया मुक्तिपछि बसोबासको ठेगान थिएन, अब सानै छाप्रो भए पनि आफ्नै जमिनमा बनाउन सकिने भयो।' उनी कञ्चनपुरका विभिन्न ठाउँमा गरी करिब २० वर्ष हलिया बसेका थिए। 'श्रीमान्/श्रीमती दुवैका नाममा पुर्जा बन्दा धेरै फाइदा हुन्छ,' उनले भने, 'एउटैले चाहेर केही गर्न सक्दैन र परिवारमा मायाप्रेम पनि बढाउँछ।'
संयुक्त पुर्जा पाउँदा मुक्त हलिया खुसी भए पनि पुनस्र्थापना प्याकेज सानो भएकाले घरबास मात्रै हुने भएकाले जीविकाका लागि सरकारसँग थप सहयोग आशा गरेका छन्। 'हामीलाई बस्न मात्रै भएर पुग्दैन, साँझबिहानको छाक टार्ने व्यवस्था गर्न पनि सरकारले सहयोग गरिदिनुपर्छ,' लालुले भने, 'कि त वैकल्पिक रोजगारी व्यवस्था गरिदिनुपर्‍यो।'
'घरजमिन केही नभएका परिवारलाई पुनस्र्थापना कार्यक्रमअन्तर्गत जग्गा खरिदका लागि प्रतिपरिवार डेढ लाख रकम निकासा भएको थियो,' भूमिसुधार अधिकृत जानकी कार्कीले भनिन्, 'त्यसै बजेटबाट जमिन खोजेर उनीहरूलाई जग्गाधनी पुर्जा दिएको हो।' उनले मुक्त हलिया परिवारलाई विगतमा श्रीमान्कै नाममा धनी पुर्जा दिए पनि दुवैको स्वामित्वका लागि यस वर्ष संयुक्त बनाइएको बताइन्। 'मुक्त हलिया परिवारलाई यतिले मात्रै पुग्दैन,' उनले भनिन्, 'केही नहुनुभन्दा यसले थोरै राहत अवश्य दिन्छ।'
राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवि लुहार पनि पुनस्र्थापना प्याकेज एकदमै न्यून भएकाले सन्तुष्ट हुन नसकेको बताउँछन्। उनका अनुसार अहिलेसम्म ३५ परिवारलाई जग्गा खरिद, ५ लाई घर निर्माण र ३० लाई घर मर्मत गरी ७० परिवारको पुनस्र्थापना भइसकेको छ। 'जग्गा खरिदमा डेढ लाख, घर निर्माणका लागि २ र मर्मतका लागि १ लाख निकासा भएको छ,' उनले भने, 'उक्त रकमले २ धुर जमिन पनि किन्न सकिँदैन, घर निर्माण र मर्मतको रकम पनि एकदमै न्यून छ।'

No comments:

Post a Comment