विपन्न मुसहर दम्पतीलाई सन्तानको उपचार र पालपोषणमा समस्या

पर्सा बिरुवागुठी १ झुलेटारकी पञ्चमी माझी मुसहर आफ्ना २ सुस्त
 मनस्थितिका छोराछोरीका साथ । 
तस्बिर : शंकर/कान्तिपुर

बिरुवागुठी (पर्सा), फाल्गुन १० - 
यहाँस्थित विपन्न मुसहर दम्पतीलाई सुस्त मनस्थितिका २ सन्तानको उपचार र पालपोषणमा समस्या भएको छ । झुलीटारका सुरेश र पञ्चमी मुसहरका १२ वर्षीय हेमन्त र ५ वर्षीया रुक्मिणी सुस्त छन् । ज्यालादारी नगरे छाक नटर्ने उनीहरूलाई सन्तानको स्याहार र उपचारमा समस्या छ । उनका ८ वर्षीय माहिला छोरा फन्टुस स्वस्थ छन् । जेठा हेमन्त ३ वर्ष पुगेपछि बिरामी परेका थिए । त्यसयता शरीर स्थिर छैन । हिंडडुल गर्न सक्दैनन् । कान सुन्छन् तर बोल्न सक्दैनन् । होस छैन । खान र शाैच गर्न सक्दैनन् । 

पहिले रुने, झम्टने र टोक्ने गर्थे । औषधि सुरु गरेपछि छाडे । औषधि नियमित नभएका बेला त्यस्तो व्यवहार दोहोर्‍याउँछन् । आमा गोठालो बस्छिन् । 'एक्लै छोड्न भएन, हानि गर्ला भन्ने डर,' पञ्चमीले भनिन्, 'जानै परे बाँधेर जान्छु ।' छोरीका खुट्टा सुकेका छन् । उचाइ बढेको छैन । बस्न र हिंडडुल गर्न सक्दिनन् । बोल्न थालेकी छन् । आमाले बोक्नुपर्छ ।

'छोरीको जात, त्यसमाथि अपांग,' उनले भनिन्, 'एक्लै छोडेर कतै जान सक्दिनँ, जहाँ गए पनि बोकेर हिंड्छु ।' बाबु सुरेश स्थानीय जगदम्बा पाइप उद्योगमा मजदुरी गर्छन् । ऐलानीमा कच्ची घर छ । मेहनतले जोगाएको २ लाख यिनको उपचारमा खर्च भयो । 'सन्तान हुन, माया लाग्छ,' उनले भने, 'नेपाल र भारतका थुप्रै अस्पताल धाएँ, ठीक पार्न सकिएन ।' सम्पत्ति नभएकाले बिक्री गर्न जेथा छैन । 'यो जुनी कष्टमै बित्लाजस्तो छ,' सुरेशले भने, 'कसैले उपचार व्यवस्था गरे आभारी हुन्थे ।'

No comments:

Post a Comment