दलितको लागि छुट्टयाइएको करोडौं रुपैंयामा अनियमितता

काठमाडौं, फागुन १० – सरकारले दलित समुदायको आर्थिक विकासको लागि गठन गरेको उपेक्षित उत्पीडित दलित वर्ग उत्थान विकास समितिमा करोडौं रुपैंया अनियमितता भएको पाइएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत गठित रहेको सो समितिका अधिकारीहरु कार्यकारी निर्देशक चन्द्र विश्वकर्मा,स्थानिय विकास मन्त्रालयका सचिव सोमलाल सुवेदी, लेखा अधिकृत अरुन गिरी अर्का लेखापाल उमेश कुमार मुढभरीको मिलेमतोमा दलितको विकाकासको लागि छुट्टयाइएको करोडौं रुपैंया रकम अनियमितता गरिएको हो । उपाध्यक्षको किर्ते हस्ताक्षेर गरि कार्यकारी निर्देशकले करोडौं रुपैंया अनियमितता गरेका हुन् ।
रातोपाटीलाई प्राप्त प्रमाणहरुका आधारमा पहिलो श्रङ्खला यस्तो छ । एक खरिद आदेशपत्रमा कार्यालय व्यवस्थापनको लागि भन्दै २०७१ साउन १० गते जारी गरिएको छ । जारी पत्रमा करिब ७८ हजार रुपैंयाको सामग्री खरिद गरिएको देखाइएको छ । कार्यलय प्रमुखको दस्तखत भन्दै हस्ताक्षेर गरिएको छ । तर कार्यलय प्रमुख भन्दै कार्यकारी निर्देशक चन्द्र विश्वकर्माले आफै हस्ताक्षेर गरेका छन् । तर सो कागजात नक्कली पेस गरी रकम निकालिएको हो । नियत नै भ्रष्ट भएपछि भ्रष्टचारीहरुले अरुको नामको समेत दूरुपयोग गरी रकम कुम्ल्याएका छन् । निर्देशक र लेखापाल मिलेर सञ्चालक समितिका एक सदस्यको नाममा समेत २ लाख रुपैंया निकालिएको पाइएको छ । बोर्ड सदस्य राम बिलास सदाको नाममा २ लाख पेस्की दिएको बताइएको छ । तर सो रकम विलासको खाताको होइन लेखापाल अरुन गिरिको बैंक खातामा जम्मा भएको देखिन्छ । खानेपानी कार्यक्रमलाई सदाको नाममा भन्दै चेक नम्बर ०७६२१ उल्लेख गरि भौचर काटिएको छ । तर भौचरमा उल्लेख भएको चेक नम्बरमा २०७१ साउन १४ गते सोहि नम्बरमा अरुन गिरीको नाममा २ लाख रुपैंया जम्मा गरेको देखिन्छ ।
बोर्ड सदस्य सदाले आफ्नो नाममा २ लाख रुपैंया पेश्की देखिएपछि आश्चर्य मान्दै आफ्नो नाम हटाउन माग गर्दै निवेदन समेत दिएका छन् । अनियमितता गर्ने लेखापाल अरुन गिरिको मोबाइल नम्बरमा सम्पर्क गर्दा उनले आफूले सबै काम डाइरेक्टर सापको निर्देशनमा गरेका स्वीकार गरे । ‘म एउटा माध्यम मात्रै हो,’ उनले भने ‘मैले एक्जुकेटिभ डाइरेक्टर सापले जे भन्नु भयो त्यहि मान्ने मात्रै हो ।’ कार्यकारी निर्देशक चन्द्र विश्वकर्मालाई फोन गर्दा उनले आफ्नो बारे समाचार लेखे हातखुट्टा भाँचिदिने भन्दै रातोपाटीलाई धम्की समेत दिएका छन् । हामीले फोन गरेपछि उनले ९८४११८१४२९ नम्बरबाट रातोपाटीको नम्बरमा फोन गरि उनले धम्क्याए ‘तलार्इं यो देशमा बस्न मन छैन ? समाचार लेखिस् भने हात खुट्टा भाँच्दिन्छु ।’ - 
Source:- रातोपाटी

No comments:

Post a Comment