दलित भन्नाले थिचोमिचो,शोषण, दमन र उत्पीडिनमा परेका मान्छे वा समुदाय भन्ने बुझिनु पर्ने हो

वीरेन्द्र कटवाल
एल.के.जी. मा पढ्ने एउटी सानी नानीले आफूभन्दा ठूली दिदीलाई सोधि, ‘‘शुष्मा विश्वकर्मालाई किन दलित भनेको, दिदी?’  
 
‘उनीहरू सानो जातका हुन, त्यसैले।’ दिदीले जवाफ दिई। 
 
‘क्या हो सानो जात भनेको, दिदी?’ बैनीले फेरि सोधि।  
 
‘पानी नचल्ने जात क्या।’ दिदीले उत्तर दिई।   
 
शुष्मा विश्वकर्मा र निषा दाहाल अँगालो मारेर दिदीको सामु उभिएका थिए। शुष्माले निषा र उसकी दिदीको अनुहार पालो–पालो गर्दै हेर्थी। निषाको अँगालोमा बाँधिएकी शुष्मा अलमल्ल परि। ती दुबै अबोध नानीहरू नारिएरै त्यहाँबाट हिँडे। अलि पर गए र सँगै खेल्न थाले।
 
स्कूलका ती निर्दोश र अबोध बालबालिकाहरू खेलिरहेको दृश्य रमाईलो मानेर हेरिरहेको थिएँ। घरमै स्कूल थियो। बार्दलीमा बसेर रमाइलो लिइरहेको थिएँ। उनीहरूको यो सम्वादले मेरो खुसीमा एक्कासि हिलो छ््यापे जस्तो भयो। मलाई नरमाइलो लाग्यो। र, म भित्र धेरै अनुत्तरित प्रश्नहरू जन्मिए। 
 
यो सम्वाद यहाँ उल्लेख गर्दा कसैप्रति निन्दा गरेको भन्ने अर्थ निस्कियो भने माफ गरिदिनु होला। मेरो आसय कसैलाई निन्दा र भत्र्सना गर्नु पटक्कै होइन। बरु, छुवाछुत जस्तो निन्दनीय कुप्रथालाई हटाउन भनेर ल्याइएको यो ‘दलित’ प्रथामा केही सुधार र पुनर्विचार पो गर्नु पर्ने हो कि? भन्ने प्रस्ताव राख्न चाहिँ मन लागेको छ। 
 
त्यो ५ वर्षकी अवोध नानी निषा दाहालको मनमा आफ्नी साथीलाई शुष्मा विश्वकर्मा भन्दा कुनै पनि जिज्ञासा जन्मिएको थिएन। ऊ ठान्थी आफ्नो नाम निषा दाहाल, साथीको नाम अभिषेक थापामगर भनेजस्तै उसको नामपनि शुष्मा विश्वकर्मा हो। 
 
तर, जब निषाले आफ्नी साथी शुष्माको ‘दलित’ भन्ने थप पहिचान पनि रहेछ भन्ने थाहा पाइ, उसको वालशुलभ हृदयमा कौतुहलता जन्मियो। 
 
उसको मनमा जन्मिएको त्यो कलिलो जिज्ञासा दिदीको सामु बिसाइ। 
 
दिदीले पनि जे जानेकी थिइ, त्यही उत्तर दिइ। विचरा, त्यो दिदीको पनि के दोष? उसलाई पनि घरपरिवार र आफू बसेको समाजले जे सिकाएको थियो, त्यहि भनिदिइ। 
 
वास्तवमा हाम्रा संस्कार र प्रचलनहरू यसैगरि हस्तान्तरण हुँदै आएका हुन्। 
 
सोचेँ, ‘आफूलाई पढाउँने म्यामसित सोधेको भएपनि त हुनेनी, कम्तिमा दलित भन्ने शव्दले अनर्थ बेहोर्नु पर्ने त थिएन?’ 
 
मेरो मनमा अरु प्रश्नहरूपनि जन्मिए ‘अब यो नानीले यही जिज्ञासा को को सित राख्छे होली? र उत्तर कस्तो कस्तो पाउँछे हो ली?’
 
दलित भन्नाले थिचोमिचो, शोषण, दमन र उत्पीडिनमा गरेका मान्छे वा समुदाय भन्ने बुझिनु पर्ने हो। तर, हामी त्यस्तो बुझिरहेका छैनौं। र, बुझाइ रहेकापनि छैनौं। 
 
दलित भन्ने शब्दलाई अछुत भन्ने शब्दको पर्याय बनाइयो। हामी समानताका कुरागर्न र बिभेदकारी संस्कृतिको बिकाश गर्न औधि बाठा छौ। 
 
उही समाजमा बस्ने, मर्दापर्दा काम लाग्ने, आफू मर्न लागेकोबेला उसैको रगतलिएर बाच्न पनि हुने, तर काम सिद्धिएपछि आफ्नै छिमेकीलाई जन्मजात अछुत भनेर निन्दा गर्ने हामी नै हौं। अव अहिले छँदाखादाको ‘दलित’ भन्ने शब्दलाई अछुत बनाउँदै रहेछौं। 
 
पुस्तौदेखि आफ्नै छरछिमेकहरूबाट ‘अछुत¬’ भनेर छिःछिः र दुरदुर सहँदै आएका मान्छेहरू, लोकतन्त्र आएको २५ बर्षपछि पनि उहीरूपमा छन। केवल लोकतन्त्रले नयाँ नाम दिएको छ, ‘दलित’। 
 
ती निर्दोष बालबालिकाको के दोष। उनीहरू त समाजको रिफ्लेक्शन मात्रै हुन। उसकी दिदी यही समाजबाट दीक्षित भएकी हो। उनीहरूको ज्ञानको प्राकृतिक श्रोत त उनीहरू हुर्किएको परिवार, समाज र सर–संङ्गत नै हो। हामी किन दोहोर्‍याउँदै छौ, पुरातन भूल? 
 
मेरो मनमा अरु धेरै  गम्भीर प्रश्नहरू जन्मिए। 
 
उनीहरूको मौलिक पहिचान विश्वकर्मा, परियार, मिझार, चमार हो कि? दलित उनीहरूको पहिचान हो? 
 
दलित भन्ने पहिचानले अहिलेको नयाँ पुस्तामा सबै मान्छेहरू बराबार छन, भन्ने सिकाइ रहेको छ? 
 
अथवा मान्छे–मान्छे बीचमा जन्मजात बिभेद छ, भन्ने पुरानै संस्कारले नयाँ नाममा निरन्तरता पाइरहेको छ? 
 
दलित भन्ने शब्दले पहिचान बोकेको छ कि, आफ्नो मौलिक पहिचानको निन्दा र भत्र्सना गरेको छ?
 
दलित भन्ने पहिचानको आन्दोलनले स्वयम् दलित समुदायले कति मुक्ति पायो थाहा भएन। तर, उनीहरूको नाममा धेरै टाठाबाठाहरूले मुक्ति पाए। दलितको नाममा धेरै सेमिनार र गोष्टिहरू भए। र, भैरहेका छन। तर, त्यसको प्रभाव चित्त बुध्जो छैन, समाजमा। 
 
कुरामा बिभेदको अन्त्य गर्ने भनिदैछ। तर, दलित भन्ने शब्दले समाजमा फेरिपनि बिभेदकै अर्को पहिचान बनाइरहेको छ। किन आवश्यक छ, दलित भनिन? आफ्नै मौलिक पहिचानको बिकाश र रक्षा गर्नु राम्रो कुरा होइन र?
 
विश्वकर्मा, परियार, मिझार, चमार नै भएर आ–आफ्नो मौलिक परिचयलाई स्थापित गर्दा पो राम्रो हुने हो कि? यो मेरो नितान्त ब्यक्तिगत प्रस्ताव पनि हुनसक्छ। तर, हाम्रो मौलिकताले कसैलाईपनि दलित या अछुत बनाएको होइन। यी त शोषण र दमनका रूपहरू मात्रै हुन।
 
यसो भनेर उत्पीडित र सिमात्कृत समुलायलाई तथाकथित मुठीभर सम्पन्न र ढनाढ्य मान्छेहरूको कै बास्केटमा हाल्नुपर्छ भन्न पटककै खोजिएको हैन। बरु, राज्यले उनीहरूको मौलिक पहिचानकै आधारमा टेकेर उच्चशिक्षा सम्म निःशुल्क पढाउँन सक्छ। रोजगारको ग्यारेन्टिपनि गर्न सक्छ। तत् तत् क्षेत्रमा आरक्षणको व्यवस्था पनि गर्न सक्छ। राज्यले ‘दलित’को नाममा अर्को बिभेदकारी कुप्रथाको चलन बसाउँन जरुरी छैन, भन्न सम्म खोजिएको हो। 
 
पुस्तौ देखि ‘अछुत’ भन्ने पहिचान दिएर समाजका टाठाबाठाहरूले उनीहरूमाथि शोषण गरे, शासन गरे। अहिले फेरि ‘दलित’ भन्ने नयाँ पहिचान दिएर बिगतको बिभेदलाई नै निरन्तरता दिइरहेका छन। लक्षित समुदायलाई यस्तो लाग्छ कि लाग्दैन, थाहा छैन। तर, ती साना नानीहरूको सम्वादले मलाई यस्तो अनुभूति दिलायो। 
 
ठीक यति नै बेला नेपाललाई हिन्दु राष्ट्र बनाउँनु पर्छ, आफ्नो मौलिक धर्म र संस्कृतिको विकाश र रक्षा गर्नुपर्छ, भन्ने चर्काचर्का आवाजहरू पनि सुनिदै छ। रथयात्रा पनि गरिदै छ। हिन्दु धर्मभित्रै हुर्काइएको यो बिभेदकारी कुप्रथाको अन्त्य गर्नु, ती धर्मयुद्धका अभियन्ताहरूको कर्तब्य हो कि होइन? 
 
एउटै धर्म मान्ने, एउटै देवतालाई पुजागर्ने धर्मचारीहरूकै बीचमा छुवाछुत र उचनीचको व्यावहारको आजैको मितिबाट अन्त्य गरिनु पर्छ। हिन्दुधर्मका अभियन्ताहरूले दलित भन्ने पहिचानको खारेज गर्नुपर्छ। र, उपर उल्लेखित निषा दाहाल र शुष्मा विश्वकर्माको जस्तो सबैसित कुममा कुममिलाएर अगाडि बढ्नु पर्छ। अनिमात्रै हाम्रा मौलिक धर्म र संस्कृतिहरूको रक्षा गर्न सम्भव छ। 
 
के हिन्दु ब्राह्मणहरू आफूलाई आफ्नो देवता भन्दापनि श्रेष्ठ ठान्छन्? होइन भने देवतालाई दलितहरूले छुन, पूजागर्न, प्रसाद अर्पण गर्न हुने। तर, दलितहरूले ब्रह्मणहरूलाई छुन नहुने? दलितहरूले बनाएको प्रसाद देवतालाई चल्ने। तर, एउटै देवताका भक्त ब्रह्मणलाई नचल्ने। कस्तो धार्मिक न्याय, हो यो?
 
नेपाललाई हिन्दुराष्ट्र बनाउँनु पर्छ भन्नेहरूले आफ्नै धर्मभित्रको अमावीय र निन्दनीय प्रथाको अन्त्य गर्नुपर्छ। एउटा जात बिषेशको जनसमुदायलाई ‘दलित’ या ‘अछुत’ भनेर निन्दा गर्न पाइँदैन। बिभेद गर्न पाइँदैन।
 
दलितहरूलाई ‘तँ पर बस, मलाई छोलास’ भनेर धार्मिक ऐकबद्धताको अभियान पुरा हुँदैन। धार्मिक सहिष्णुताको अभ्यास आफ्नै धर्मावलम्बीहरूप्रति सहिष्णु भएर सुरुवात गर्नु पर्छ। आफ्नो मौलिक धर्म र संस्कृतिको विकाश, प्रवचनले मात्रै हुदैन। 
 
आफ्ना कमी कमजोरीहरूको पहिचान गर्नुपर्छ। राम्रा कुराहरूलाई अङ्गीकार गर्नु पर्छ। खराब कुरालाई परित्याग। र, आजैको मितिबाट दलित र छुवाछुत प्रथाको धार्मिकरूपमै अन्त्य भएको घोषणा गरेर ‘खराब परित्याग अभियान’ को शुभारम्भ गर्नुपर्छ। अनिमात्रै कुप्रचलन र कुप्रथा हस्तान्तरण प्रकृयाको अन्त्य हुन सक्ला। 
 
Birendra_katuwal@yahoo.com
From: Saudi Arabia, Jeddah

No comments:

Post a Comment