दलित आयोगमा ११ पदाधिकारी नियुक्त

काठमाडौ, फाल्गुन १३ - लामो समयदेखि रिक्त राष्ट्रिय दलित आयोगमा पदाधिकारी नियुक्ती भएका छन् । मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले आयोगमा सदस्यसचिवसहित ११ सदस्य नियुक्त गरेको हो । १७  जना पदाधिकारीको पद रहेपनि यसअघि अध्यक्ष मानबहादुर नेपाली र सदस्य रुकमाया रणपाल दुईले मात्रै काम गरिरहेका थिए ।
आयोगको सदस्य सचिवमा सीताराम परियार र सदस्यमा लीलामान परियार, कोपिला बिक, बंगाली हजारा पासवान, परदेशी सुनार, बिकास रोका, राजेशकुमार रसाइली, बुद्धिमान परियार, बिमला बिक, बेगम विक, मेहेल पार्की छन् ।
गत असोज २६ मा आयोगका १५ पदाधिकारीको पद रिक्त भएको थियो । दुई जना मात्रै पदाधिकारी हुँदा पाँच महिनादेखि आयोगको काम कारवाही सुचारु हुन सकेको थिएन ।
आयोगले दलित मानव अधिकार उलङ्घनका घटनाको अनुगमन गर्ने र दोषीलाई कारवाही गर्न सरकारलाई सिफारिस गर्ने काम गरिररहेको आयोगका अध्यक्ष मानबहादुर नेपालीले जानकारी दिए ।
'सरकारको दलित कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन गराउन अनुगमन गर्ने र त्यसका कमीकमजोरी पत्ता लगाएर सुधारका लागि सरकारलाई सुझाब दिने गरिरहेका छौं,' अध्यक्ष नेपालीले भने, 'नयाँ पदाधिकारी नियुक्ती भएपछि काम गर्न सहज हुनेछ ।'
आयोगले हाल ५ वर्षे रणनीतिक कार्ययोजना निर्माण गर्ने तयारी गरिरहेको छ । बिशेष गरी दलित समुदायको शिक्षा, स्वास्थ्य, र रोजगारी को सुनिश्चितता गर्न ५ वर्षे कार्ययोजना बनाउने तयारी भइरहेको अध्यक्ष नेपालीले जानकारी दिए ।

No comments:

Post a Comment