|
-सञ्जय साह ‘मित्र’ |
हरेकजसो समाजमा कुनै न कुनै रूपमा सकारात्मक विभेदीकरणलाई पश्रय दिइएको हुन्छ। बालबालिकालाई माया गर्नु, बूढाबूढीप्रति सहयोगी हुनु, बिरामीप्रति सहानुभूति राख्नुलाई मानवताको दृष्टिले जति राम्रो मानिन्छ, यस किसिमका सम्पूर्ण कार्यलाई आधुनिक भाषामा हाम्रो परम्परा र जीवनपद्धतिमा रहेको सकारात्मक विभेद मान्न सकिन्छ। माग्ने आयो भने भिक्षा दिनुदेखि बालबालिकाले गरेको गल्तीलाई खास गल्तीको रूपमा स्वीकार नगर्नुलाई पनि यही सकारात्मक विभेदको रूपमा लिन सकिन्छ। समाजमा अधिकारको कुरा निकै पछि मात्र आएको हो तर समाज र संस्कृतिले नै सकारात्मक विभेदलाई अँगालेको देखिन्छ। ग्रामीण समुदायमा समेत कुनै सार्वजनिक वा सामूहिक कामको लागि चन्दा उठाउँदा गरिबसँग कम र धनीसँग तुलनात्मकरूपमा बढी चन्दा उठाउने कार्यलाई समेत यही सकारात्मक विभेदको उदाहरणको रूपमा लिन सकिन्छ । देह देखके मारी आ धन देखके डारी (ज्यान हेरी कुटनू र धन हेरी जरिवाना गर्नु) भन्नेजस्तो अनेकौं उखानले समेत सकारात्मक विभेदलाई नै जनाउँछ ।
समाज र संस्कृतिले सकारात्मक विभेदीकरणलाई आदिकालदेखि नै मान्यता दिएको भए पनि वर्तमान लोकतान्त्रिक संस्कारले यसलाई बढ्दो चेतनासँगै विस्तार गरेको देखिन्छ। संविधानले नै सकारात्मक विभेदलाई आरक्षणको रूपमा स्वीकार गरेको देखिन्छ। आरक्षणको व्यवस्था निकै देशमा रहेको छ र आरक्षणले समाजका सबैजसो क्षेत्रलाई विस्तारै समेट्दै लगेको पनि देखिन्छ। विस्तारै जीवनको हरेकजसो सार्वजनिक सरोकारको क्षेत्रमा यसको प्रवेश भइसकेको छ। हिजोको दिनमा जुन रूपमा समाजले सकारात्मक विभेदीकरणलाई स्वीकार गर्दथ्यो, अहिले अधिकारको रूपमा स्थापित गरेको देखिएको छ। सामाजिक चेतनाको लागि विभेदीकरणले सहयोग पुर्याएको छ र विभेदीकरणले समाजमा पछाडि परेको वर्ग, समुदाय, अशक्त, कमजोर व्यक्ति, जाति तथा क्षेत्रलाई फाइदा पुर्याएको पनि छ। समाजमा पछाडि परेको वर्ग र समुदाय तथा क्षेत्रले वर्तमान परिवेशमा साँच्चिकै फाइदा लिएको देखिन्छ । आजभोलि दलित कोटामा डाक्टर बनेर रोगीको सेवा गरेको, महिला आरक्षणमा नेपाली सेनामा देशको सेवा गरेको, राजनीतिक र सामाजिक क्षेत्रमा निकै महत्त्वपूर्ण योगदान दिएको अनगिन्ती अन्य उदाहरणसमेत रहेका छ। पहिले के भनिन्थ्यो भने आरक्षण त्यति बेलासम्मका लागि र त्यस्तालाई दिइन्छ, जो अवसरबाट वञ्चित छ। कुनै पनि कारणले अवसरबाट वञ्चितलाई विभिन्न आधार बनाई अवसर प्रदान गरिनु आरक्षणको धर्म हो। जसरी गाउँमा कुनै सार्वजनिक वा सामूहिक कार्य गर्दा कुनै गरिब र कुनै ुधनीमाथि बराबरी चन्दा लगाउनु, मोटो मानिस र दुब्लो मानिसलाई सँगै दौड प्रतियोगिता गराउनु, शहरको स्तरीय बोर्डिङ पढेको र कुनै सुविधा तथा शिक्षकविहीन गाउँको स्कूल पढेका विद्यार्थीबीच अङ्ग्रेजी बोल्ने प्रतिस्पर्धा गराउनु अन्यायपूर्ण कार्य हो, त्यसरी नै आरक्षणबिनाको प्रतिस्पर्धा अन्याय हुन्छ । यसै भनाइको आधार र सामाजिक–सांस्कृतिक कारणले मानिसको चेतना बढेसँगै अहिले दुर्गम क्षेत्रका बासिन्दाले सुगममा र मधेसका मानिसले हिमालमा नोकरी पाइरहेका छन्। साँच्चिकै पछाडि परेका वर्ग, समुदाय र क्षेत्रले केही हदसम्म राज्य र समाजमा आफ्नो उपस्थिति जनाउने मौका पाएका छन् र आफूमा रहेको दक्षता तथा क्षमताको उपयोग गर्ने अवसर पाएका छन्। यसैको माध्यमले कतिपयले आफ्नो परिचय र पहिचान पनि स्थापित गर्ने मौकासमेत प्राप्त गरेका छन्।
आरक्षणको आधार पाएको क्षेत्र, वर्ग र समुदायका आरक्षित समूहले आज आरक्षणको फाइदा उठाउन आफूमा क्षमता उमार्न निकै कसरत गरेको पनि पाइएको छ। परिश्रम गरे आफ्नो योग्यतालाई व्यवहारमा उतार्ने र आफ्नो रुचिको क्षेत्रमा काम पाइने सम्भावना बढेकोले पहिलेभन्दा बढी जोश र जाँगर बढ्नुका साथै आफूमा जिम्मेवारी बढेको अनुभूति पनि भएको पाइएको छ। यस कारण मानिसमा प्रतिस्पर्धी क्षमताको विकास भएको समेत देखिएको छ। यस किसिमका तर्कहरूले गर्दा आरक्षण अर्थात् सकारात्मक विभेदीकरणले समाजमा सकारात्मक प्रभाव उत्पन्न गरिरहेकोलाई सङकेत गरेको छ भोलिका दिनमा अझ बढीले विभेदको फाइदा लिने कुराको विश्वासका आधारहरू खडा भएको छ। तर सकारात्मक विभेदीकरणको दुरुपयोग पनि हुन थालेको देखिन्छ। सकारात्मक विभेदीकरणले पारिरहेको सकारात्मक प्रभावको छायामा नकारात्मकता उम्रिन थालेको देखिन्छ। कतिपय अवस्थामा राम्रो भनिएको कुरालाई पनि बङ्ग्याइएको देखिएको छ, जसको नियन्त्रणमा आरक्षण उपयोगकर्ताको समूह, संस्था तथा प्रतिनिधिहरू सचेत हुनुपर्ने देखिएको छ। एउटा यथार्थ उदाहरण यहाँ प्रस्तुत गर्न चाहन्छु। कुनै एउटा संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी सबैले नियम बनाए। बनाएको नियमलाई सबैले देख्नेगरी मोटो अक्षरमा लेखेर टाँसियो। सबै पढेलेखेका र लेखाइको माध्यमले नै सिकाइ हुने कार्यक्रम भएकोले नियम सबैले पालना गर्नुपर्ने थियो। तीन दिनको कार्यक्रममा पहिलो दिन सबैले नियम पालन गरे। दोस्रो दिन नियमको उल्लङ्घन भएको पाइयो। नियम उल्लङ्घन हुँदा नियमपालकले सचेत गराउने, दोस्रोपटकमा तोकिएको जरिवाना गर्ने र तेस्रोपल्टमा त्यो दिनको भत्ता नदिने तथा सोही रकमबाट सबैले चिया खाने भन्ने थियो। दोस्रो दिन तीनजनाले नियम उल्लङ्घन गरे तीन–तीनपल्ट। तेस्रो दिन पनि तिनीहरूमध्येका दुईजनाले फेरि नियम उल्लङ्घन गरे। अब जरिवानास्वरूप दुईजनाको दुई दिनको र एकजनाको एक दिनको भत्ता कट्टा गरिएको नियमपालकले सुनाए। आयोजक संस्थाले चिया खुवाएकोले कार्यक्रमका सहभागीहरूको समूहलाई काटिएको भत्ताको सम्पूर्ण रकम दिने घोषणा भयो। यसपछि आयोजकमाथि यही विभेदीकरणको नकारात्मक छायाले आक्रमण गर्यो। सरकारले आरक्षित गरेको समूहभित्रका मानिसहरूकै भत्ता संयोगले कट्टा गरिएको थियो। पछि तिनीहरू बम्किए ( हामीलाई ताकीताकी नियम उल्लङ्न गरेको आरोप लगाए, हामीलाई त्यस्तो नियम थाहा थिएन, नियम बनाउँदा हामी थिएनौं, आदि आदि । फलस्वरूप झगडा भयो र समूहको बहुमतको निर्णयले तीनजनालाई समूहबाट निष्काशित गर्यो। समूहको निर्णय नमान्ने भएपछि र समूहमा नराख्ने निर्णय भएपछि भत्ताको रकम फिर्ता गरियो। उनीहरूले जति भत्ता पाए, त्यसको कम्तीमा दश गुना बढी रकम फेरि अरूलाई यस कारण ख्वाउनमा खर्च गरे कि हामी फेरि समितिमा बस्छौं र अबदेखि त्यस्तो गल्ती गर्दैनौं। आरक्षणको नाउँमा विभिन्न समूहबाट सहुलियतमा ऋण लिने र कुनै पनि हालतमा फिर्ता नगर्नेहरू कति छन्। आएजतिको सुविधा आफ्नै होओस् भनेर सुविधा मात्र खोज्नेहरूको सङ्ख्या निकै नै होला। आरक्षणको कोटा खोज्ने तर आरक्षणको कर्तव्य नगर्नेको सङ्ख्या त झन् गनेर साध्य नै नहोला। समाजमा आरक्षणको नाउँमा भ्रष्टाचार पनि मौलाएको छ। कसैको घरमा भाडा लिएर बसेपछि भाडा नतिर्ने र घरबेटीले भाडा माग्दा आफ्ना आरक्षित समूहका नेता तथा अगुवाको धाक लगाउनेहरू पनि देखिएका छन्। जुन टोलमा यस किसिमको घटना घटेको छ, त्यो टोलका अरू घरमा त्यस आरक्षित समूहका मानिसलाई डेराका लागि आफ्नो घर भाडामा दिन गार्हो मानेको पाइएको छ । यसैलाई कतिपयले कुनै रङ दिएको देखिन्छ त कसैले कुनै रङ। चित्त बुझेसम्म ठीक र चित्त बुझ्न छाडेपछि जाति, धर्म, सम्प्रदाय, वर्ग, लिङ्ग तथा आदिवासी, जनजाति, दलित, मुस्लिम आदिको विभेद गरेको आरोप लगाइहाल्ने प्रवृत्तिको विकास पनि भएको छ। यसले अन्तत: समाजलाई नै घाटा भएको छ। हो, हरेक ठाउँमा अधिकार छ, तर त्यसको पनि सीमा होला। अधिकारसँगै कर्तव्य पनि टाँसिएर आएको होला। अधिकार र कर्तव्य एकअर्काका पूरक हुन् भन्नेजस्ता कुराहरू सम्बन्धित क्षेत्रका आरक्षण अर्थात् सकारात्मक विभेदीकरणका अगुवा, समर्थक, समूहका प्रतिनिधिहरूले बुझ्नु जरुरी छ र अरूलाई पनि बुझाउनु जरुरी छ। सकारात्मक विभेदीकरणको नकारात्मक छायालाई धेरै लम्बिन दिनुहुँदैन। यसले सबैलाई आघात पुर्याउने सम्भावना हुन्छ।
- See more at: http://www.prateekdaily.com
No comments:
Post a Comment