मुक्त हलिया पुनस्र्थापना हुन नसक्दा बिचल्लीमा

कञ्चनपुर, माघ २० भूमिसुधार कार्यालय परिसरमा आइतबार मुक्त हलियाको भीड थियो । प्राय: सुनसान हुने उक्त कार्यालयमा मुक्त हलिया पुनस्र्थापनासम्बन्धी कार्यक्रम आएको खबरले एकाएक भीड बढाएको हो । पुनस्र्थापना प्याकेजअन्तर्गत घर निर्माण र मर्मतका लागि सहयोग पाउने छिनोफानो हुने भएकाले उनीहरू आएका हुन् । सरकारले किस्ताबन्दीमा गरिरहेको सहयोगप्रति मुक्त हलिया सन्तुष्ट हुन सकेका छैनन् । उनीहरू सहयोग पाउन गाउँका शिविरबाट सदरमुकाम धाउनुपरेकामा झन् समस्यामा परेको बताउँछन् ।
‘हामीलाई यसरी किस्ताबन्दीमा सहयोग गरेर सताउनुभन्दा जेलमा राखिदिए राम्रो हुन्थ्यो,’ राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका पूर्वअध्यक्ष प्रेमबहादुर कोलीले भने, ‘जेलमा राखे त पेटभरि खान पाइन्थ्यो ।’ उनले कतिपय पुनस्र्थापना हुन नसक्दा बिचल्लीमा परेको बताए । ‘मुक्त हलियाले काम नपाएका दिन भोकै बस्नुपर्ने अवस्था छ,’ उनले भने, ‘पुनस्र्थापनाका नाममा हाम्रो जीवनमाथि खेलबाड हुन भएन ।’ हलिया मुक्तिको घोषणा भएको ६ वर्ष बितिसक्दा पनि लापरबाहीले वास्तविक तथ्यांक संकलन हुन नसकेको कोलीले बताए । ‘मुक्ति घोषणापछि पहिलोपटक गणना हुँदा कञ्चनपुरमा मात्रै ४ हजारभन्दा बढी परिवार भेटिएका थिए,’ उनले भने, ‘प्रमाणीकरणमा २ हजार ५ सय १६ मात्रै परे ।’ उनले वास्तविक हलियाहरू रोजगारीका लागि भारत तथा नेपालकै अन्य ठाउँतिर लागेकाले तथ्यांक संकलन हुन नसकेको बताए ।
‘भारत गएका र जानकारी नभएका परिवार प्रमाणीकरणमा परेका छैनन्,’ कोलीले भने, ‘कतिपयलाई मालिकले नै नाम दर्ता गर्न दिएका छैनन् ।’ पुनस्र्थापनाका लागि पटकपटक भूमिसुधार कार्यालय आउनुपर्दा समस्या हुने गरेको उनको गुनासो छ । ‘हामीले अहिलेसम्म कुनै परिचय पाएका छैनौं,’ भीमदत्त नगरपालिका ५ सुकासालकी विमला सेरालाले भनिन्, ‘नाम दर्ता र परिचयपत्रका लागि सरकारी कार्यालय धाउन थालेको पनि २ वर्ष बित्यो ।’ उनीहरूले मुक्तिपछि मजदुरी गरेर बचत भएको रकमबाटै छाप्रो बनाई बसेको बताए । ‘दिनभरि मजदुरी गरेर छोराछोरी पालिरहेका छौं,’ उनले भनिन्, ‘स्कुल पढाउनसमेत निकै समस्या भएको छ । प्रमाणीकरणमा परेकामध्ये १ हजार ३३८ ले विभिन्न श्रेणीको परिचयपत्र पाएका छन् । भूमिसुधारका अनुसार घर-जमिन केही नभएका क, ऐलानी वा प्रति जमिनमा बसेका ख, जग्गा भए पनि घर नभएका ग र घर र जमिन दुवै भएकालाई घ वर्गको परिचयपत्र दिएको छ ।
यसपटक ख र घ वर्गका परिवारलाई घर मर्मत तथा निर्माणका लागि पुनस्र्थापना कार्यक्रमअन्तर्गत बजेट आएको राष्ट्रिय हलिया मुक्ति समाज अध्यक्ष सीबी लुहारले बताए । उनले उक्त कार्यक्रमअन्तर्गत घर मर्मतका लागि १० परिवार छनोट भइसकेको बताए । भूमिसुधारका अनुसार यस वर्ष घर मर्मतका लागि १० परिवारलाई १/१ लाखका दरले बजेट निकासा भएको छ । ‘गत वर्ष २०/२० परिवारलाई जमिन खरिद तथा घर मर्मतका लागि बजेट आएको थियो,’ कार्यालय प्रमुख जानकी कार्कीले भनिन् ।

No comments:

Post a Comment