म त्यो घरमा जानै सक्दिनँ, बरु यतै ज्यान फाल्छु ।’- काली बोगटी

डोटी- काडामाडौं गाविस-६ खडेलाकी काली बोगटी एक वर्षकी नहुँदै एचआईभी/एड्सले आमा बितिन् । तीन वर्षपछि त्यही रोगले बुवालाई पनि लग्यो । जन्मजात एचआईभी बोकेर आएकी उनलाई माया गर्ने हजुरबुवा पनि थप डेढ वर्षभन्दा बाँचेनन् ।
लामो समयदेखि एचआईभीको औषधि (एआरभी) खाँदै गरेकी उनलाई अनि घरबाट छिछि-दुरदुर सुरु भयो । भाउजूको गाली र सराप सहन नसकेर अन्तत: हिँडिन् । ‘घरमै नआइज भनेर भाउजूले अनेक दु:ख दिन्छिन्,’ सदरमुकाम सिलगढीस्थित मोतीराम कामीको घरमा बंगुर स्याहारिरहेकी १४ वर्षीया कालीले भनिन्, ‘म त्यो घरमा जानै सक्दिनँ, बरु यतै ज्यान फाल्छु ।’
कसैले राख्न नमानेका उनलाई धन्न मोतीरामले आश्रय दिए । उनको स्याहारमा सहयोग पुगोस् भनेर सीडीएफ डोटीले जेठदेखि मासिक हजार रुपैयाँ भाउजू देवी बोगटीका नाममा खाता खोलेर जम्मा गर्दै आएको थियो । कालीले त्यो रकम कहिल्यै उपयोग गर्न नपाएको दु:खेसो गरिन् ।
सीडीएफ डोटीका प्रदीप पन्तले त्यसपछि रकम उनकै हातमा दिन खातामा हाल्न रोकेको बताए । उक्त संस्थाले ४४ संक्रमितलाई मासिक हजार रुपैयाँ दिँदै आएको छ । त्यसअघि रेडक्रसले कालीको परिवारमा जीविकोपार्जन होस् भनेर बाख्रा पालनमा सहयोग गरेको थियो । दाजु अमरले छोरो जन्मेको खुसीमा त्यसलाई पनि काटेर खाइदिएको उनको आरोप छ ।
परिवारकै असहयोगका कारण आफूले ३ कक्षाभन्दा पढ्न नसकेको उनले बताइन् । काडामाडांै गाविसका सहलेखापाल भीम बोगटीले कालीलाई घर फर्काउने प्रयास गरे पनि नमानिरहेको बताए । डोटीमा एचआईभी संक्रमित बालबालिका ६८ छन् ।

No comments:

Post a Comment