पार्टीभित्र पनि म धेरै हदसम्म अछुत नै छु -पाण्डव मल्लिक

मेरो नाम पाण्डव मल्लिक हो । वि.सं २०४४ सालदेखि लगातार कम्युनिष्ट पार्टीको सदस्य छु । एक ताका नेपाल उत्पीडित जातीय मुक्ति समाजको अध्यक्ष पनि भएको थिएँ । अहिले पनि म नेपाल कम्युनिष्ट पार्टी एमालेमा संगठित छु । डोम समुदायको सदस्य हुँ जसलाई हाम्रो समाजले अहिलेसम्म अछुत मान्छ । त्यसैले पार्टीभित्र पनि म धेरै हदसम्म अछुत नै छु । म फोहोरी छैन तर मसँग आफ्नै पार्टीका साथी हात मिलाउन मान्दैनन् ।   
बाल्यकाल 
मेरो घर धनुषा जिल्लाको माची झिटकैया–७ मा पर्छ । डोम शब्दले नै डोम बाहेक सबै नेपालीको मष्तिकमा एउटा छाप पर्छ– डोमहरु फोहोरी हुन्छन्, उनीहरु 'अछुत' हुन् । यही समुदायको भएकाले मैले बुझ्ने भएदेखि नै जातीय विभेदको चरम रुप देख्दै र भोग्दै आएको हुँ ।   हाम्रो समुदायको परम्परागत कार्य सुँगुर पालन गर्नु हो । त्यससंगै डोमहरुले बाँसको चोयाबाट विभिन्न सामग्री बनाउने गर्छन् । चोयाबाट पंखा (बैना) बनाउँछन । तराईमा गर्मीको समयमा डोमले बनाएका पंखाबाट गर्मी छल्ने गरिन्छ । त्यसैगरी टोकरी, दाउरा, ढाकी, कोनिया, ढाल, चगेरा, पौती, फूलडाली लगायत सामग्री बनाउँछन् । मधेसी समाजमा विहेवारी, चाडपर्व, कर्मकाण्डमा यही समुदायले बनाएका यी सामग्रीहरु अनिवार्य छन् ।   पहिले पहिले डोम समुदायका मानिसले मरेका मान्छेका फालिएका लुगाफाटा प्रयोग गर्ने र मुर्दाघाटबाट दाउरा ल्याएर बाल्ने गर्थे । गाउँघरमा वेवारिस मरेका पशु फ्याँक्ने जिम्मा परम्परागत रुपमा डोम समुदायको रहेको थियो । गाउँघरमा हुने भोज भतेरबाट जुठो पात संकलन गरेर त्यसमा बाँकी रहेका खाना खाने गर्थे । डोम समुदायलाई परम्परागत काम बाहेक अन्य कार्य गर्न बन्देज थियो । ज्याला मजदुरी वा कृषि कार्यमा समेत काम लगाउने चलन थिएन । त्यसैले उनीहरुको आय आर्जनको कुनै स्रोत नै थिएन भन्दा पनि हुन्छ ।    परम्परागत रुपमा जिम्मा लगाईएका कामले नै अन्य सबै जातिको नजरमा डोम समुदायलाई ‘अछुत’ बनाइदिएको थियो । यहाँसम्म कि डोमकोे छायाँले छोइन्छ भनेर डोमसंगै सडकमा हिंड्न नमान्नेको ठुलै संख्या हुन्थ्यो । गैर डोमको आँगनमा टेक्न पनि छुट थिएन । हामीलाई पानीका धारा, कुवा, पोखरी छुन मनाही थियो ।    हाम्रो समुदायमा छोरा छोरीलाई पढाउनु पर्छ भने चेतना थिएन । अहिलेसम्म पनि धेरैमा त्यो चेतना विकास भएको छैन । म सनो छदाँ मेरो एक जना दाजु रामजी मल्लिक कक्षा ६ मा पढ्दै गर्दा दुर्घटनामा परेर बित्नु भयो । डोमहरु विद्यालय जानु हुँदैन थियो, विद्यालय गएकै कारण दाजु मरेको भन्ने नै परिवारका सबै सदस्यलाई लाग्यो । त्यसैले गर्दा म सुरुमा पढ्नबाट वञ्चित भएको थिएँ ।   एक दिन गाउँका शिक्षक सुकदेव मैरवैता यादव (कारीमास्टर)ले मेरो बुवालाई ‘तेरो छोरो पाण्डव बोल्न टाठो छ, यसलाई पढाएपछि ठूलो मान्छे हुन्छ र जीवन पनि सुध्रिन्छ’ भनेर  मलाई विद्यालय पठाउन सहमत गराउनु भयो । त्यसबेला म ८ वर्षको भइसकेको थिएँ । कक्षा १ मा बुवाले नाम लेखाइदिनु भयो । कक्षा ५ सम्म गाउँकै विद्यालयमा पढेँ । विद्यालयमा धेरे हेलाहोंचो गर्थे । डोम समुदायको एक्लो विद्यार्थी थिएँ म । सहपाठी कोही पनि मसंग एउटै बेन्चमा बस्दैनथ्यो । सबभन्दा पहिले विद्यालय पुगे पनि सबभन्दा पछाडीको बेन्चमा एक्लै बस्नु पथ्र्यो । केही शिक्षकले मेरो कपी पनि चेक गर्दैनथे । शिक्षकहरुले ‘तँलाई पढ्नु छ भने गाउँ समाजको रीतिरिवाज त मानै पर्छ’ भन्दै पछाडी नै बस्न लगाउँथे । होटलमा चिया पिउन त के मेचमा बस्नसम्म अधिकार थिएन । चिया पिउन जाँदा आफ्नै गिलास बोकेर जानु पथ्र्यो । गाउँघरमा हुने यस्ता भेदभावलाई परम्पराका नाममा निरन्तरता दिइएको थियो ।   
छात्रावासमा विभेद 
कक्षा ५ पास गरेपछि २०४० साल तिर के. एच. एच. माध्यमिक विद्यालय  खडहरी मौहुवामा भर्ना भएँ । उक्त विद्यालय मेरो घरदेखि ४ किलोमिटरको दुरीमा थियो । गरिब भएकाले साइकल किन्ने औकात थिएन । मलाई विद्यालय जान आउन कठिनाई हुन्थ्यो । विद्यालयमा छात्रवासको सुविधा थियो । मेरो बुवाले गाउँलेहरुसंग ‘भिख मागेर पनि खर्च पु¥याउँछु, छोरोलाई छात्रवासमा राखिदिनु पर्यो’ भनेर आग्रह गर्नुभयो । मलाई पढ्न सजिलो हुन्छ भनेर बुवाले प्रयास गर्नुभयो । तर, त्यो समयमा विद्यालयका कुनै पनि शिक्षक मलाई छात्रावासमा राख्न मन्जुर भएनन् । डोमको बच्चा छात्रावासमा रह्यो भने सारा छात्रावास ‘अपवित्र’ हुन्छ भनेर राख्न तयार नभएका हुन् ।   विद्यालयका प्रधानाध्यापक जोखन झा हुनुहुन्थ्यो । छात्रावास प्रमुख दयानाथ झा हुनुहुन्थ्यो । उहाँहरु कुनै पनि हालतमा मलाई छात्रावासमा बस्न नदिने अडानमा हुनुहुन्थ्यो । तर सुकदेव मरवैता कम्युनिष्ट विचारधाराका हुनुहुन्थ्यो । उहाँले जातपात केही होइन, यो त ‘सर्वहारा वर्गको सन्तान हो, यसलाई छात्रावासमा बसेर पढ्ने अवसर दिनु पर्छ’ भनेर अडान लिनु भयो । डोम जातिकै भएकाले जातीय रुपमा विभेद गर्न पाइदैन भनेर अडान लिएपछि विद्यालय प्रशासन मलाई छात्रावासमा राख्न सहमत भयो । तर शिक्षकहरुका दुइ सर्त थिए । पहिलो, छात्रावासमा एउटा कोठामा दुइ जना बस्नु पर्ने भएकाले, रुममेट आँफैले खोज्नु पर्ने । जातिवादी शिक्षकहरुले के अनुमान गरेका थिए भने डोमलाई कसैले पनि आफुसंग राख्दैन । दोस्रो, छात्रावासमा बसे बापत मासिक रुपमा तिर्नु पर्ने २२ किलो चामल, ५ केजी दाल, र ४० रुपैयाँ गरी सबै जोडेर पैसा नै तिर्नु पर्ने । ‘अछुत’को घरको दाल, चामल कसरी लिने भन्ने उहाँहरुको तर्क थियो । मेरो बुवा त्यो तर्क मान्न पनि राजी हुनुभयो । तर मसंग बस्न कोही तयार थिएन । अन्तिममा मेरो गाउँको लक्ष्मेश्वर शाह मलाई आफ्नो कोठामा राख्न तयार भयो । म भुईंमा सुत्नु पर्छ भन्ने उसको सर्त थियो । मैले त्यो सर्त स्वीकारें ।    छात्रावासमा खाना खाने समय सबै विद्यार्थी बरण्डामा बस्थे । मलाई भने पर दुवोमा बसाउँथे । खाना पस्किसकेपछि सबभन्दा अन्तिममा मलाई एक जना खत्वे (मधेसी दलित) विद्यार्थी मार्फत उसको थालमा भात राखेर मेरो थालमा भात तरकारी राख्न लगाउँथे । खाना पस्किंदा मेरो थालमा डाडु, पन्यूले छोईन्छ भन्ने गैर दलित विद्यार्थीको साझा बुभाई थियो । ती खत्वे विद्यार्थी पनि दलित नै थिए । विभेद उनलाई पनि हुन्थ्यो । तर त्यसको मात्रा र स्वरुपमा केही फरक थियो ।    
टियुसन पढ्नबाट वञ्चित 
 छात्रावासका प्रमुख दयानाथ झाले छात्रावासमै विद्यार्थीलाई टियुसन पढाउनु हुन्थ्यो । तर त्यो अवसर मैले पाइन । अछुत भएकाले मलाई विज्ञान र गणितको टियुसन पढाउन उहाँले अस्वीकार गर्नुभयो । मेरो बुबाले जति पैसा लागेपनि तिर्न तयार छु भन्दा पनि सरले ‘म कुनै सर्तमा डोमको बच्चालाई पढाउँदिन’ नै भन्नुभयो । तर एक जना मौजै नाम गरेका भारतीय शिक्षक हुनुहन्थ्यो । उहाँ ‘अल राउण्डर’ खालको शिक्षक हुनुहुन्थ्यो । उहाँले भन्नुभयो ‘तिमी चिन्ता नगर, म तिमीलाई सबै विषय पढाउँछु ।’ उहाँले नै मलाई अंग्रेजी, गणित, विज्ञान विषयका टियुसन पढाउनु भयो । उहाँले ‘तिमी डोम समुदायको रोल मोडेल हुन्छौं, तिम्रो बुवाले पढेन र त अन्याय भोग्दै छौ,’ भनेर निरन्तर हौसला दिइरहनुहुन्थ्यो ।   २०४७ सालमा एस.एल.सी पास गरें ।  त्यसको २/४ सालपछिसम्म पनि धनुषा जिल्लाबाट कुनै पनि डोमले एस.एल.सी पास गरेको थिएन । एसएलसी पास भएसंगै बुवालाई क्यानसर भयो । घरको सबै कामकाज र परिवारको जिम्मेवारी मेरो काँधमा आइलाग्यो । मेरो पढाई अवरुद्ध भयो । कानुन पढेर आफ्नो समुदायमाथि हुने अन्यायको विरुद्धमा वकालत गर्न चाहन्थें । तर, त्यो इच्छा पुरा भएन । धेरै पछि भारतबाट आइ.ए.पास गरें ।   
राजनीतिमा सहभागिता 
२०४४ सालमा बहुदलवादी राजनीतिक दल भूमिगत थिए । माले पार्टीका नेताहरु संगठन विस्तार गर्न रातीराती गाउँगाउँमा आउँथे । मुडेवा गाउँमा माधव नेपाल, जोगिन्द्र शाह, ईश्वर पोखरेलहरु आउनुहुन्थ्यो । मलाई पढ्न हौस्याउने शिक्षक कुलदेव मरवैता (यादव)को बुवा ०३६ सालमा सहिद भएका थिए । कक्षा ८ मा पढ्दै गर्दा विद्यालयमा कम्युनिष्ट विद्यार्थी संगठनको सभापति भएको थिएँ । स्कूलमा पढ्दा म त्यो एरियामा राम्रो फुटबल खेलाडी पनि थिएँ । त्यसैले मलाई संगठन गर्न सजिलोे थियो । २०४६ सालसम्म मैले विद्यार्थी फाँटमा काम गरें । २०४६ सालको जनआन्दोलनमा गाउँको जनपरिचालन समितिको सभापति भएँ । राम्रो काम गरेकाल केही समयपछि नै पार्टीले मलाई क्षेत्रीय सभापति समेत बनायो ।   २०४६ साल फागुन ७ गते जनकपुरमा भएको प्रर्दशनमा मुठभेड भयो । मेरो नाउँमा पनि वारेन्ट जारी भएपछि म भारततिर लागें । ०४६ साल फागुन २३ गते जयनगरमा रेल्वे स्ट्राइक गर्ने भइयोे । सबभन्दा पहिले मैले नै ढुङ्गा लिएर रेलको लीकमा राखीदिएँ, जसले गर्दा रेल्वे सेवा अवरुद्ध भयो । २०४६ सालको बहुदल घोषणा पछि ०४७ सालको चुनाव आयो । मेरो गाउँमा राजावादीहरु धेरै थिए । पञ्चायत पक्षधरहरुले ममाथि हमला गरे । डोम जातका व्यक्तिले हामीसंग टक्कर लिने भन्दै त्यसबेला मलाई धेरै दुःख दिइयो ।   २०४८ पछि गिरजा प्रसाद कोइराला प्रधानमन्त्री भए । त्यसै साल जेठ २६ गते मेरा तीन जना साथीमाथि  राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यले डकैतीको मुद्दा दायर गरियो । तर डकैती भएकै थिएन । पञ्चायत समर्थकले नै यो डकैतीको मुद्दा दर्ता गरेका थिए । मुद्दा दर्ता गर्नेहरु पछि सबै कांग्रेसमा लागे । त्यतिबेला माले र मसालहरु एकिकृत भएर नेकपा एमाले बनिसकेको थियो ।   आन्दोलनका क्रममा मलाई ४५ दिनसम्म थुने । त्यस मध्ये ३० दिन एक नम्बर थुना अर्थात शौचालयको मुखको सामुन्नेको कोठामा राखियो । यातना त मलाई दिनहुँ दिइन्थ्यो । नियम अनुसार थुनुवालाई प्रहरीले खाना खुवाउनु पर्छ भन्दा पनि मलाई उनीहरुले कुट्थे । एमालेका अरु साथीहरु पनि विभिन्न आरोपमा थुनिएका थिए । म उनीहरुलाई थुनाभित्र संगठित गरेर प्रहरीको ज्यादती र सेवा सुविधाको विषयमा कुरा उठाउँथे । सबैलाई थुना भित्रै आन्दोलन गर्न उचाल्थें । घरबाट खाना ल्याउने होइन, थुनुवालई प्रहरीले खान दिनु पर्यो, दैनिक रुपमा नुहाउने व्यवस्था गर्नु पर्यो भनेर माग गर्थें । प्रहरी आक्रोशित भएर कुटपिट गर्थे । एक जना गोविन्दराज जोशी नाम गरेका इन्सपेक्टर थिए । उनले बयान लिने बेलामा मलाई ठूलो याताना दिए । मेरो नङ्ग उखेलेर यातना दिने क्रममा सहन नसकेर मैले वायाँ हातले एक थप्पड हिर्काएँ । उसको त दाँत नै झर्यो । त्यसपछि त मलाई के बाँकी राख्थ्यो र ?   
अझै अछुत 
 यतिका वर्ष राजनीति गरियो, लामो संघर्ष गरियो । पार्टी कार्यक्रममा बाहिर जाँदा साथीहरुले भेदभाव नगरे पनि तिनै साथीहरु गाउँमा आउँदा अझै मलाई अछुत देख्छन् । पार्टीका साथीहरुबाट अझै पनि विभेद खेपिरहेको छु । एमालेका मधेस ब्युरो इञ्चार्ज र पटक पटक मन्त्री बनिसकेका रघुविर महासेठ जस्ता नेता मसँग हात मिलाउँदैनन् भने अरुको के कुरा ! कुनै साथीले नगरे पनि तिनका परिवारले देखिने गरी नै विभेद गर्छन् । म दलित भएकैले महासेठ जस्ता नेताले मसँग हात नमिलाएको भन्ने मेरो अनुमान छ । पार्टीमा पनि कुरा उठाएको छु तर महासेठहरु पार्टीको ‘डोनर’ भएकाले होला, सुनुवाइ भएको छैन । हामी दलितको आवाज अझै सुनिंदैन ।    

भोला पासवानसंगको कुराकानीमा आधारित ।  - SOURCE: recordnepal

No comments:

Post a Comment