“तँ किन दमिनीको पक्ष लिन्छेस् ?”-पुरन मञ्जुल

धेरैलाई पत्याउन गाह्रो भो । मलाई पनि पत्याउनै गाह्रो भो ।आफूलाई जन्म दिने आमाले आफ्नै छोरीलाई मार्न खोज्छ ?
जोकोहीलाई पनि पत्याउन केही समय गम खानुपर्ने घटना ।मार्ने नियतले छोरीको टाउकोमा चिपर्टले हिर्काउन सक्छ ?
केही समय जुनसुकै मान्छेलाई पनि सोच्न बाध्य बनाउँछ । भयो त्यस्तै ।
‘सर, म आफैलाई यस्तो लागेको छ । म त्यही आमाकी छोरी हुँ ?’
मैले भनें, ‘हो संगीता, तिमी त्यही आमाकी छोरी हौ ।’
उनी एकछिन अड्किएर रुन्चे स्वरमा बोलिन्, ‘मलाई बाल्यकालमा आमाले त्यही चिर्पट दाउराको कोइला आगोले मेरा तालु, पिँडौला र गोलीगाँठो सेकेकी थिइन् । तर आज त्यही चिर्पट दाउराले छोरीको तालु फुटाउन र गोलीगाँठो भाँच्न पनि पछि परिनन् ।’
हो, त्यही आमाकी छोरी हुन संगीता लामा (परियार) ।
उनी लामा परिवारमा जन्मेकी हुन् । चितवन जिल्लाको पदमापुर गाविस–४ मा बाबु बल लामा र आमा धनमायाँ लेप्चाको कोखबाट । उनले कक्षा ८ मा अध्ययन गर्दैगर्दा चितवनकै जुटपानी गाविस–७ का मनोज परियारसँग ४ प्रेमविवाह गरिन्, वर्ष लामो प्रेम सम्बन्धपछि । त्यतिबेला उनी १७ वर्षकी थिइन् । अहिले उनीहरुसँग २ वर्षकी छोरी पनि छिन् । उनी भन्छिन्ः ‘मेरो श्रीमान् मनोज परियार ट्रिपर चालक हुनुहुन्छ । ससुराबुबा पनि गाडी चलाउनुहुन्छ । सानो परिवार छ । बाबु–छोराको कमाइले राम्रोसँग घर चलेको छ । सानो र सुखी परिवार । आपसमा खुसी थियौं । कसैसँग मागेर खान परेको थिएन । दुःखसुख गरेर सुखी जीवन बिताउँदै थियौं ।’

मेरो घर र माइतीघर नजिकै छ । हामी एउटै सार्वजनिक इनारको पानी खान्छौ । मेरो माइती पक्षका मान्छे मलाई देख्दा ‘दमिनी आई’ भन्दै मुन्टो बटार्थे ।
मलाई देख्नेबितिक्कै उनीहरु कतै साइतमा हिडेको हो भने फर्कन्थे, ‘छिछि दमिनी’ भन्दै । दमिनी, बदेनीजस्ता यसरी नानाथरी संज्ञा दिँदै गालीगलोज गदै थुक्थे पनि ।इनारमा पानी लिन जाँदा ‘किन इनार छोएको’ भनेर गाली गर्थे उनीहरु । बेलाबेलामा मानसिक तनाव पनि दिन्थे ।
मेरै आमाको मुखबाट पनि ‘पोइ नपाएर दमाईंसँग विवाह गरिस्’ भनेको कति पटक सुनेकी छु ।तर पनि मलाई ‘किन यस्तो व्यवहार गरेको होला’ जस्तो लाग्थ्यो । मनोज पनि मान्छे हुनुहुन्छ, उहाँलाई पनि भन्नै नमिल्ने शब्द प्रयोग गरिन्यो । मैले यी सबै कुरालाई सामान्य रुपमा लिइरहेकी थिएँ । र पनि म आफ्नै संसारमा रमाइरहेकी थिएँ ।
उनीहरुको गालीगलौजबाट बचेकी थिइनन्, मेरी नाबालक छोरी पनि । खेल्दै गरेको वा कतै गइरहेको देख्यो भने उनीहरु ‘थुक्क दमिनीकी छोरी, दमाईंकी छोरी आई’ भन्दै थुक्थे । तर त्यो नाबालकलाई के थाहा, उनीहरुले के भन्दैछन् भनेर । तर छोरीलाई भन्दा मेरो चित्त दुख्छ । मलाई त बानी परिसकेको थियो ।’
संगीताले भनिन्, ‘सर पख्नुस् है । मलाई अलि गाह्रो भयो ।’
उनी बैशाखीको सहारा लिँदै औछयानबाट उठिन् र अर्को ठाउँ परिवर्तन गरिन् । ठूलो सुस्केरा हाल्दै उनले भनिन्, ‘मलाई लागेको थियो, मेरा बुबाआमाले कुनै न कुनै दिन अवश्य पनि मलाई स्वीकार गर्नुहुनेछ । मैले गल्ती गरेको जस्तो लाग्दैन । तर पनि उहाँहरुले ‘गल्ती गरिस्, अब तेरो जिन्दगी राम्रो होस्’ भनेर आर्शिवाद दिनुहुन्छ होला भन्ने सोचेकी थिएँ । सुनेकी थिएँ, पढेकी थिएँ, हरेकका बाबुआमाले यस्तो गरेको कुरा । त्यसैले त्यस्तै आशा लाग्थ्यो । कल्पना पनि गर्थें तर त्यसो भएन ।
माघ १२ गते मंगलबार त्यसको ठिक उल्टो भयो । साँझ ५ बजेतिर श्रीमान, देवर र ससुराबुबा कोही घरमा हुनुहुन्नथ्यो । म छोरीलाई घरमै छाडेर इनारमा पानी लिन गएकी थिएँ । पानी भर्दै गर्दा एक हुल मान्छे आए । उनीहरुले मलाई चारैतिरबाट घेरे । उनीहरुले चिर्पट दाउरा, खुकुरी र खुर्पा लिएर आएका थिए । ‘दमिनी, पानी छोइस्’ भन्दै एक्कासी टाउकोमा हिर्काए । म त्यहीँ विहोस भएछु । मलाई केही थाहा भएन ।
पछि थाहा भा, म विहोस भएको बेला उनीहरुले मेरा पिँडुला र गोलीगाँठोमा हानेछन् । मलाई पानीले छम्कँदै व्युँताउँदै हान्दै गरेछन् । करिब ३० मिनेट जति पिटेछन् । म फेरि विहोस भएछु । मेरो घरछेउकी पवित्रा तामाङ दिदी र श्रीमान आएर पुलिस बोलाउनुभएछ । प्रहरीकै पहलमा एम्बुलेन्समा चितवन मेडिकल बलेजमा भर्ना गरिसकेपछि मात्र थाहा भो, मेरो खुट्टा भाँचिएको रहेछ !
अझै पनि मलाई घटना सम्झिँदा आङ सिरिङ हुन्छ र बारम्वार मानसपटलमा आघात पुगेको छ । अहिले पनि कोही मान्छेको हुल आउँदा डर लाग्छ । मलाई लाग्छ, मेरा बाबुआमा मलाई मार्न आएका थिए । मेरो लेखा भनौ वा संयोग, म बाँचें ।’
संगीताले अलि आवेगमा आउँदै भनिन्, ‘मेरा बाबुआमालाई तबसम्म त्यसै छाड्न मिल्दैन, जबसम्म उनीहरुले सजाय पाउँदैनन् । कानुनले जस्तो सजाय दिए पनि दियोस् तर सजाय चाहि दिनुपर्‍यो । मलाई छोरी नमान्नेले मैले पनि बुबाआमा मान्नुपर्छ भन्ने लाग्दैन ।’
संगीतालाई बचाएकी पवित्रा तामाङ भन्छिन्, ‘सर यो संसारमा यति पापी मान्छे पनि हुँदा रहेछन । यति ठूलो घटना हुँदा पनि छिमेकीको कसैको मन पग्लेन । २१ औ शताब्दीमा पनि जातीय छुवाछूत भन्दै मान्छेलाई कुटपिट गर्नु कति उचित हो ? सबै छिमेकी उनीहरुकै कुरा सुनेर हेरेर बसे । मलाई ‘तँ किन दमिनीको पक्ष लिन्छेस्’ भन्दै मार्ने घम्कीसमेत दिए । त्यो दिन म त्यहाँ नभएको भए संगीतालाई लास बनाउँथे । धन्न, म भाग्यले आइछु ।’
पवित्राले अलि दरो स्वरमा भनिन्, ‘सर, मलाई मार्ने धम्की आए पनि संगीताको न्यायका लागि म लागिरहने छु । यो गाउँका नेताहरु र छिमेकी भनेका छन्, दमिनीलाई दमिनी नभनेर के भन्ने ? यहीँ सबै कुरा मिलाउनुपर्छ । उनीहरुले घटना दबाउन खोजेका थिए । मैले तुरुन्तै प्रतिवादमा भनें, यो घटना यहाँ मिलाउन मिल्दैन । म नै प्रहरीलाई बोलाउँछु । त्यसपछि मात्र प्रहरीमा मुद्दा जाहेरी भएको थियो ।’
उनीहरुको कुरा सुनेपछि मैले केही सोधखोज गरें । थाहा भयो, अहिले पीडितको जाहेरीअनुसार प्रहरीले संगीताका बाबु, आमा र दिदीलाई हिरासतमा राखेको छ । अर्की अभियुक्त बम माया तामाङ फरार छिन । तर प्रहरीले फरार महिलालाई खोज्नमा आलटाल गरिरहेको छ । अभियुक्तहरुलाई जाहेरीको म्याद थप्दै हिरासतमै राखिको छ । प्रहरीको सुस्त गति हेर्दा घटनालाई मेलमिलापमा टुंग्याउने नियत देखिन्छ ।
संगीताका ठूला बाबु भने उपचार खर्च दिएर मेलमिलाप गर्नु पर्‍यो भन्दै संगीतासँग तारन्तार धाइराखेका छन । प्रहरीले फरार महिलालाई नपक्रिएसम्म कुनै पनि हातलमा अभियुक्तलाई नछाड्ने संगीताको अडान छ ।
अहिले यो घटनामा संगीतालाई नेपाल उत्पीडित जातीय मुक्ति समाजका सदस्य दीपक परियार, पत्रकार नारायण ढुङ्गाना र पवित्रा तामाङले सहयोग गरिरहेका छन् । एसियन ह्युमन राइट्स कमिसनले अर्जेन्ट अपिल निकालेको छ र त्यसलाई प्रधानमन्त्रीको कार्यालय तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग, नेपाल प्रहरी हेडक्वार्टर र महान्याधिवत्ताको कार्यालयमा पठाएर दबाब दिएको छ ।
यो समाजमा संगीताजस्ता कयौं युवायुवती जातीय छुवाछूतका घटनाबाट दिनानुदिन पीडित भइरहेका छन् । राज्यले जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा पनि गरे पनि लागु गरिएको छैन । सरकारले जातीय छुवाछूत तथा कसुर सजाय ऐन–२०६८ पनि ल्याएको छ । यसको प्रभावकारी कार्यान्वयन हुन नसक्नाले छुवाछूत हटेको छैन । यस्ता घटनामा सरकारी निकाय कानुनी रुपमा कारबाही गर्नु भन्दा पनि पीडित र पीडकलाई मेलमिलाप गराउने पक्षमा उद्यत हुँदै आएको देखिन्छ । जातीय छुवाछूतजस्ता जघन्य अपराधविरुद्ध गृह प्रशासन र प्रहरी प्रशासनले बढीभन्दा बढी संक्रियता देखाउन आवश्यक देखिन्छ ।
यस्ता छुवाछूत र उत्पीडनविरुद्ध लड्नुपर्ने नागरिक समाज, दलित अधिकारकर्मी तथा दलित संघसंस्थाहरु भने अघाएका बाघझै मौन र निष्क्रिय छन् । उनीहरु मौन र निष्क्रिय भइरहेमा संगीताजस्ता हजारौं पीडितहरु दिनप्रतिदिन समाजमा बढ्दै जानेछन् । अहिले संगीता घरको कुनामा बैशाखीको सहारा लिँदै न्यायको पाउने आशामा कुरेर बसिरहेकी छन् । के उनी र उनीजस्ता पीडितले न्याय पाउलान् ? यो प्रश्न सबैसामु तेर्सिएको डेमोकल्सको तरवार हो ।
source#esamata

No comments:

Post a Comment