महोत्तरी बर्दिवास मुसहर बस्तीका बालबालिका स्कुल जान मान्दैनन्


महोत्तरी, २६ माघ । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–२ स्थित मुसहर बस्तीका बालबालिका अझैपनि स्कुल जान मान्दैनन् । ५५ घरधुरी रहेको मुसहर समुदायका स्कुल जाने उमेरका बालबालिका निरक्षर रहेका छन् । उनिहरु नजिकै रहेको विद्यालय जान नमानेपछि निरक्षर रहनुपरेको हो ।

1423321128बस्तीको छेउमै स्नातकसम्म पढाइ हुने जनता उच्च मावि छ । पाँचसय भन्दा धेरै जनसङ्ख्या भएको मुसहर बस्तीमा एकजना किशोरबाहेक सबै निरक्षर छन् । स्थानीय लक्ष्मी सदाका छोरा मञ्जय सदा जनता उच्च माविमा कक्षा १० मा पढ्छन् । मञ्जयबाहेक सिङ्गो बस्तीका विद्यालय जाने उमेरका सयौँ बालबालिका चेतनाको अभावमा विद्यालयभन्दा बाहिर रहेका छन् ।
बनिबुतो गरी परिवार पाल्दै आएका स्थानीय सवत सदाले आफ्ना छजना छोराछोरीलाई विद्यालय नपठाएको स्वीकार गरे । बालबालिकाले आफूलाई ज्याला मजदुरी र बनिबुतो गर्न सहयोग पु¥याएको सदाको भनाइ छ । विद्यार्थी भर्ना अभियानका क्रममा शिक्षकहरु घर–घरमा गई करकाप गरे पनि यस समुदायमा चेतनाको अभावका कारण रहेको अभियानको प्रभाव पर्न नसकेको जनता उच्च माविका प्रधानाध्यापक दिलीप तिवारीले बताउनुभयो । तर कतिपय अभिभावकले सरकारले दिने छात्रवृत्तिको रकम लिनका लागि आफ्ना बालबालिकालाई विद्यालयमा भर्ना गर्ने गरेका शिक्षक तिवारीले बताउनुभयो । ‘‘धेरैलाई त विद्यालयमा पढ्ने दलित बालबालिकालाई सरकारले छात्रवृत्तिको रकम दिन्छ भन्नेसम्म पनि थाहा छैन ।’’ उहाँले भन्नुभयो ।
सो मुसहर बस्तीमा धेरै गैरसरकारी संस्था क्रियाशील छन् । न्यून आय भएका मुसहर समुदायको आयआर्जन बढाउन र शैक्षिक चेतना जगाउने नाममा यो बस्तीमा गैरसरकारी संस्थाले बर्सेनि लाखौँ रुपियाँ खर्च गर्ने गरेका छन् । तर, त्यसको उपलब्धि भने शून्य जस्तै छ ।
यता आर्थिक वर्ष ०६८/०६९ मा २० हजार र ०६९/०७० मा २६ हजारलाई साक्षर बनाउन कार्यक्रम सञ्चालन गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । सो कार्यक्रम प्रभावकारी नभएपछि नयाँ रणनीति अवलम्बन गर्न लागेको जिल्ला शिक्षा अधिकारी अरविन्दलाल कर्णले जानकारी दिनुभयो । ‘कोही नछुटुन्, कोही नदोहोरिउन्’ भन्ने मूल नाराका साथ महोत्तरीमा गत माघ १४ गतेदेखि साक्षरता अभियान सुरु भएको हो । साक्षरतामा महोत्तरी देशमै ७४औँ स्थानमा रहेको छ ।

No comments:

Post a Comment