जनयुद्धले स्थापित गरेका दलितका मुद्दा अहिले अलपत्र - दुर्गा सोव

फागुन १४,
शहीद सप्ताहको पहिलो दिन अर्थात जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृति दिवसका सन्दर्भमा जनयुद्ध पक्षधर दुईवटा संगठनले काठमाडौंमा संयुक्त रुपमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् । एमाओवादीसम्बद्ध दलित मुक्ति मोर्चा र विप्लव नेतृत्वको माओवादीसम्बद्ध
दलित मुक्ति मोर्चाले संयुक्त रुपमा स्मृति दिवस मनाएका हुन् । कार्यक्रममा “माओवादी आन्दोलन र दलित मुक्तिको अन्तरसम्बन्ध” विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा, चौथो राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक तथा नेकपा माओवादीका पोलिट्ब्युरो सदस्य तिलक परियारले माओवादी क्रान्तिकारी आन्दोलनको अभिन्न अङ्गका रुपमा दलित मुक्तिको अन्तरसम्बन्ध रहेको चर्चा गर्दै माओवादी आन्दोलनबाहेक कुनै पनि राजनीतिक शक्ति, गैर सरकारी संघ–संस्था वा वैदेशिक दातृ संस्थाका अनुदानले दलित मुक्ति असम्भव रहेको बताउनुभयो । दलितको समस्या पहिचानको समस्या नरहेको बताउँदै उहाँले वर्गीय राजनीतिको केन्द्रमा रहेर मात्रै दलित उत्पीडनबाट मुक्ति हुने कुरा बताउनुभयो ।

त्यसैगरी दलित मुक्ति मोर्चाका अध्यक्ष तथा सभासद् दलजीत श्रीपालीले वर्तमान संविधानसभाबाट दलित मैत्री संविधान लेख्न असम्भव भएकाले दलितहरुले आन्दोलनबाट दबाव दिनुपर्ने धारणा राख्नुभयो । शहीद कुनै पार्टी वा जाति विशेष नहुने भन्दै उहाँले त्याग, बीरता र बलिदानको बाटोमा अग्रसर भएमा मात्र सच्चा रुपमा शहीदको सपना पुरा हुने बताउनुभयो । नेकपा माओवादीका केन्द्रीय सदस्य तेजबहादुर मिजारले आफ्नो पार्टीले क्रान्तिमार्फत नै राज्यसत्ता लिइछाड्ने दृढता व्यक्त गर्नुभयो । उहाँले “कि भष्म हुने कि राज्यसत्ता लिन”े मात्र विकल्प रहेको चर्चा गर्नुभयो । दलित महिला संघका अध्यक्ष दुर्गा सोवले जनयुद्धले स्थापित गरेका दलितका मुद्दा अहिले अलपत्र परेको चर्चा गर्दै नयाँ संविधानमा दलित मुद्दा सम्बोधनका लागि सडक दबावको खाँचो औल्याउनुभयो । जनमोर्चा नेपालका सचिव जे.बी द्यौलाकोटी, देशभक्त नेपाली जनता दलका अध्यक्ष वीरबहादुर के.सी., वादी विकास समितिका उपाध्यक्ष पुष्प वादी, दलित विकास समितिका उपाध्यक्ष खिमबहादुर वि.क.लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा जनयुद्धका शहीद परिवार दलित मुक्ति मोर्चाका तत्कालीन महासचिव तथा शहीद प्रेम बराइलीकी जीवनसंगिनी रुक्मीणी रानामगर (अस्मिता) तथा शहीद रामगोपाल विशुन्के कि सहोदर बहिनी स्वस्तिका विशुन्केलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । राजकुमार हिङ्माङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन पदम विश्वकर्माले गर्नुभएको थियो भनें स्वागत मन्तव्य रोहित हिङ्माङले गर्नुभएको थियो ।

No comments:

Post a Comment