पार्टीभित्र हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड - राजेन्द्र ताम्राकार


काठमाडौं १२, फागुन । दलित महिला संघकी अध्यक्ष दुर्गा सोबले पार्टी राजनीतिमा जबसम्म दलित महिलाले हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्दैनन् तबसम्म उनीहरुको हक, हित र अधिकार सुनिश्चित हुन नसक्ने बताउनुभएको छ । 
दलित महिलाले आ–आफ्नो पार्टीमा सशक्त र अर्थपूर्ण सहभागिताका लागि सामूहिकरुपमा लड्नुपर्नेमा जोड दिनुभएको छ । दलित महिलालाई आफू क्रियाशिल पार्टीको नीति, नियम, विधि, विधान बुझेर अगाडि बढ्न दिर्नेशन दिनुभएको छ । त्यसपछि मात्रै दलित महिलाको पार्टीमा दबाब दिनसक्ने हैसियतमा बढेर जाने उहाँको ठहर छ । 
दलित महिला संघद्वारा काठमाडौंमा आयोजित ‘राजनीतिक संरचना’ विषयक दुइदिने तालिमको उद्घाटन गर्दै अध्यक्ष सोबले दलित महिलाले राजनीतिक संरचनाको कुरा गर्दा पार्टी राजनीतिको मात्रै कुरा गर्ने नभइ समग्र पार्टीभित्र र सरकार, राज्यका विभिन्न अङ्ग, क्षेत्र लगायतका संरचनाका विषयमा जानकारी लिनु आवश्यक रहेको बताउनुभयो । Inline image 2



राजनीतिमा दलित महिलाको सशक्त उपस्थिति र अर्थपूर्ण सहभागिता नभएकै कारण आजपनि दलित महिलाहरु पार्टी राजनीतिमा भोटबैंङ्कको रुपमा मात्र उपयोग भएको उहाँले बताउनुभयो । 
दलित महिलाको राजनीतिक सहभागिताका साथै उनीहरुको समग्र विकासका लागि सबैभन्दा पहिले उनीहरुलाई शिक्षित बनाउनुपर्नेमा जोड दिँदै यसका लागि राज्यले विशेष व्यवस्था गर्नुपर्ने खाँचो औंल्याउनुभयो ।
तालिमका सहभागीलाई स्वागत गर्दै दलित महिला संघकी महासचिव कला स्वर्णकारले विभिन्न राजनीतिक दलमा आवद्ध दलित महिलालाई सङ्गठित र सशक्तिकरण गराउँदै मुलधारको राजनीतिक दलमा उनीहरुलाई क्रियाशिल बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो । 
दुइदिनसम्म सञ्चालन भएको तालिममा राजनीतिक विश्लेषक श्रीकृष्णअनिरुद्ध गौतमले राज्यको राजनीतिक संरचना, राज्य सङ्गठनका प्रकार,  सङ्घात्मक – बहुकेन्द्री – स्वशासित एकाइ, एकात्मक – एककेन्द्री – विकेन्द्रित एकाइ, सङ्घीयताका विशेषता ः स्वशासन र साझा शासन, राज्य सञ्चालनका पद्दति, शासकीय स्वरुपका प्रकार, प्रतिनिधित्व प्रणाली, नेपालका आन्तरिक अवसर, आन्तरिक चुुनौती र मुलमन्त्र, संविधान, लोकतन्त्र लगायतका समसामयिक विषयमा सहभागीलाई प्रशिक्षण दिनुभएको थियो । 



तालिममा बाँके, कैलाली, कञ्चनपुर, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक जिल्लाका नेपाली काङ्ग्रेस, नेकपा एमाले, एमाओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, लगायतका पार्टीबाट आएका २१ जना दलित महिला नेतृहरुको सहभागिता रहेको थियो । 
फागुन ११ देखि दुइदिनसम्म सञ्चालन भएको तालिमको सहजीकरण दलित महिला संघकी वरिष्ठ सदस्य रेणु सिजापति र कार्यक्रम व्यवस्थापक लक्ष्मी न्यौपानेले गर्नुभएको थियो । 

No comments:

Post a Comment