वन समूहमा २१ वर्षदेखि अध्यक्ष रहेका पदमबहादुर नेपाली सधैं लोकपि्रय

अर्घाखाँची, फाल्गुन ८ - यहाँको एउटा वन समूहमा २१ वर्षदेखि अध्यक्ष रहेका दलित सधैं लोकपि्रय छन्। सदरमुकामको धाइरीचौर बेहोरे सामुदायिक वनमा ०५० देखि कुर गाउँका पदमबहादुर नेपाली अध्यक्ष छन्। यो अवधिमा नौपटक चुनाव भयो तर बहुमतबाट उनैले जिते। डेढ सय घरधुरीका करिब पाँच सय जनसंख्या रहेको वन उपभोक्तामा बाहुन, क्षत्री, दलित बराबरीजस्तै छन्। 'सुरुमा पूरै डाँडा नांगो थियो। रूखबुट्टा थिएनन्,' उनले भने, 'अहिले जताततै हरियाली छ।
काठ बेचेर पनि झन्डै करोड रुपैयाँको सम्पत्ति भएको छ।' वनबाट घाँस बेचेर विकास निर्माणमा लगाएका छन्। थोरै रकमबाट हुने गोरेटो बाटो, खानेपानी, मठमन्दिर निर्माण, विद्यालय भवन, विपन्नलाई औषधोपचार खर्चलगायत विकास निर्माण र समाजसेवाका काम भएका छन्। बर्सेनि ५० हजारसम्मको वनकै आम्दानीबाट विकासका काममा लगाएको उनले बताए।
'वनको अध्यक्ष हुन जनप्रतिनिधिसरह छ,' उनले भने, 'अधिवेशनका बेला सबैलाई चुनाव लाग्छ अब लगतै दसौं अधिवेशन हुँदै छ। फेरि पनि धेरैले अध्यक्ष तैँ हुनुपर्छ भनेका छन्।' समाजको हितमा काम गर्न सके जातजातिको कुरा कसैले पनि नगर्ने उनको अनुभव छ। उनी भन्छन्, 'मलाई दलित भनेर होइन, इमानदारीपूर्वक काम गर्ने भएकाले समाजले जिम्मेवारी दिएको ठान्छु।'
नांगो वनलाई हरियाली बनाएकामा उपभोक्ता खुसी भएको उनको दाबी छ। वनमा अहिले सल्लो, साल, चिलाउनेका ठूला रूख छन्। बिरुवादेखि रूख चोरी हुनबाट जोगाउन दैनिकजसो उनी वन घुमफिर गर्छन्। 'मलाई मेरो सम्पत्तिको भन्दा वनको माया छ,' उनले भने, 'बाँचुन्जेलसम्म वनको रेखदेख गरिरहन्छु।' ब्राह्मण र क्षत्रीको बीचमा दलित भएर नेतृत्व गर्नु चुनौती रहेको उनले बताए। भरसक दलितलाई अध्यक्ष मान्न तयार नभएपछि काम देखेरै स्विकारेको उनको दाबी छ। पञ्चायतकालमा स्वतन्त्र उम्मेदवार भए। उति बेला दलित भनेपछि उपल्लो जातिले साह्रै हेप्थे, दलित नेता हुनु हुँदैन भन्थे, उनले भने, 'सांसदको उम्मेदवार भएपछि हेराइ सुधारिँदै गयो।' ०५४ मा नेपाल दलित संघको केन्द्रीय सदस्य पनि भए।
३८.४६ हेक्टरमा फैलिएको वनमा ५८ वर्षीय नेपाली फेरि अध्यक्ष भएर काम गर्ने उनको इच्छा छ। रूखबिरुवा संरक्षणसँगै वन व्यवस्थापन तालिम, जनचेतना, जडिबुटी पहिचान र व्यवस्थापन, नेतृत्व विकास, स्वास्थ्य, सूचना र समूह नेतृत्व विकास र अनौपचारिक शिक्षाको काम भएको उपभोक्ता समूहले जनाएको छ।

No comments:

Post a Comment