केही समयअघि साथी सन्दीप पौडेल भेटिए । प्लस टु सँगै पढेका पौडेलसँग लामो अन्तरालपछि भेट भयो । सिंहदरबारको पूर्वी गेटअगाडि मण्डला थियटरको छेउको चिया पसलमा ।
उनीसँग सात वर्षपछिको भेटमा मलाई उनको विषयमा जान्ने उत्सुकता बढ्यो ।
उनी प्लस टु सिध्याएर दुबई गएका रहेछन् ।
मैले उनको थर र अन्य विषयमा ख्याल गरेको थिएँ । तर उनले मेरो थरचाहिँ याद राखेका रहेनछन् ।
मलाई सोधे । मैले ‘दर्नाल हो’ भनें ।
उनले अलिक अनौठो पारामा तुरुन्तै सोधे, ‘यो दर्नाल भनेको के हो ? यो कुन जातभित्र पर्छ ? बाहुन, क्षेत्री र नेवार ?’
फिस्स हाँस्दै भनें, ‘मेरो अनुहार हेर र भन न, म को जस्तो देखिन्छु ?’
अलिक केही जान्न खोजेको भावमा उनले भने, ‘तिमी कि बाहुन हो या त क्षेत्री ।’ उनी रोकिए ।
उनलाई म को हुँ भन्ने जान्न धेरै नै उत्सुक भएजस्तो अनुहारको हाउभाउले बताइरहेको थियो ।
मैले अलिक ठट्टा गर्दै भनें, ‘म बाहुनजस्तो छु कि मजस्ता छन् बाहुनहरु ?’
उनले थपे, ‘तिमी बाहुनजस्ता छौ । मलाई लाग्छ, तिमी बाहुन हुनुपर्छ ।’
म उनलाई अल्मल्याउन चाहन्नथें अनि भनें, ‘म दलित हो ।’
‘ओ नो । इम्पोसिवल’, उनी झस्किए ।
‘या आई एम सिरियस’, म फिस्स हाँसें ।
‘ओ गड । आई डन्ट विलिभ इट’, उनी उत्तेजित भए ।
फेरि उनले भने, ‘आर यु सिरियस ?’
फिस्स हाँस्दै मुन्टो तल–माथि गर्दै मैले सहमति जनाएँ ।
अनि उनले सोधे, ‘दलितभित्रको के हो तिमी ?’
अब उनलाई पत्यार लागेको हुनुपर्छ ।
मैले दमाईं भने । उनले मेरो हासोसँग हाँसो मिसाउँदै भने, ‘तिमी दमाईं ? त्यसो भए तिम्रो नागरिकतामा दमाईं नै होला होइन ?’
मैले हाँस्दै जवाफ दिएँ, ‘दर्नाल नै छ । बुबा र आमाको चाहिँ दमाईं नै छ ।’
मेरो जवाफ पूरा नहुँदै सोधे, ‘तिमीले किन दमाईं नलेखेको त ? थर परिवर्तन गर्न खोजेको हो ? त्यसो भए किन दर्नाल त ? बाहुन–क्षेत्रीको कुनै थर राखेको भए हुन्थ्यो नि ।’
उनको प्रश्न र उत्तरमा मलाई अलिक चित्त बुझेन । कतै मनको भित्र–भित्र चिसो लाग्यो ।
मैले जवाफ दिएँ, ‘दमाईं नै लेख्न सकिन्छ । किन लेख्न नसक्नु नि ? म धेरै ठाउँमा लेखाउने पनि गर्छु । मलाई लाज छैन । र थर परिवर्तन गर्नु पनि छैन ।’
उनले भने, ‘त्यसो भए अब मलाई कुनै ठाउँमा दमाई लेखेको देखाउनु है ।’
हामी त्यो दिन १ घण्टाजति कुराकानी गरेर छुट्यौं ।
त्यस रात मेरा मनमा धेरै कुरा खेले । मैले निर्णय गरें- आजदेखि मेरो फेसबुकको नाम परिवर्तन गर्छु ।
तर दमाईं लेख्ने कि दमिनी लेख्ने भन्नेमा फेरि कलम अड्कियो ।
मैले पुनः निर्णय गरें- ‘मेरा बाबु हुन् वा होइनन्, मलाई थाहा छैन । त्यो मेरी आमालाई नै थाहा होला । तर पक्कै पनि आमाचाहिँ मेरी नै हुन् । यसकारण ‘दमिनीको छोरो’ लेख्ने विचार गरें ।’
केही दिनमै मैले फेसबुकको नाम ‘दमिनीको छोरो’ लेखें । फेसबुकमा म्यासेज आउनेको चाप बढ्न थाल्यो । उहाँहरुले लेख्नुभएका केही मत यहाँ प्रस्तुत गर्न चाहन्छु ।
गोरखाका दलित थर भएका साथीले लेखे- ‘सर, तपाईंले आफ्नो बाबुलाई जिउँदै मार्नु भो कि क्या हो ? या बाबुको पत्तो छैन ? यो त राम्रो भएन । बाबुको नामबाट पहिचान दिनुस् ।’
धादिङका दलित थरकै अर्को साथीले भने, ‘सर तपाईंको साहसलाई मैले मानें । तपाईंजस्ता मान्छेले यसरी नै खुलेर लेख्नुपर्दछ, आफ्नो पहिचान के हो भनेर ?’
यी साथीले केही समय पछि आफ्नो नाम पनि आफ्नै समुदायको राखे ।
चितवनका एकजना कोइराला थर भएका साथीले भने, ‘साथीले आफ्नो यस्तो साहसको कुनै अर्थ राख्दैन । मेरो विचारमा तपाईंले आरक्षण पाउन यस्तो नाम लेखेको हो जस्तो लाग्छ । यस्तो नाटक नगर्नुस्, तपाईंहरुलाई सरकारले आरक्षण दिने भनेर तोकिराखेको नै छ ।’
उनलाई धेरै उदाहरण दिएर बुझाउने कोसिस गरें तर उनी अहिलेसम्म पनि कन्भिन्स भएका छैनन् ।
काठमाडौंमै बस्ने श्रेष्ठ थरकी एकजना केटीसाथीले अनौठो टिप्पणी गरिन् । उनी मेरो क्लासमेट हुन् । उनले भनिन्, ‘तिमीले मेरो दिदी, भिनाजु, दाजुभाइ र बहिनीहरुलाई अनफ्रेन्ड गर ।’
उनले जवाफ दिइन्, ‘मेरो परिवारले तिमी दमाईं हो भन्ने थाहा पाए भने तिमीलाई किन साथी बनाएको भनेर गाली गर्छन् ।’
मेरा मित्रता कसैको घरपरिवारमा द्वन्द्व ल्याउनका लागि त पक्कै थिएन ।
त्यसैले मैले उनीसँगै उनका परिवारजनलाई नै ब्लक लिस्टमा राखिदिएँ ।
यस्तै धेरै साथीसँग झगडा परेको छ । धेरै साथी मेरो ब्लक लिस्टमा छन् । यो मेरो रहर होइन, बाध्यता हो ।
अहिले मेरा धेरै साथीहरुले सोध्ने गर्छन, ‘तिमीले किन दमिनीको छोरो लेखेको ? के तिमी पनि चर्चामा आउन खोजेको हो ? लेख्नै थियो भने दमाईको छोरा लेखेको भए हुन्थ्यो । किन दमिनीको छोरो लेख्यौ ?’
यस्तै यस्तै धेरै सवाल आए । कसैलाई के उत्तर दिएँ, कसैलाई के ।
तर धेरैले त आरक्षण खानलाई सजिलो हुन्छ भनेर भने । कत्तिले आफ्नो थर यसरी नै खुलाउनुपर्छ भनेर जस पनि दिए ।
तर राम्रोभन्दा नराम्रो दृष्टिकोणले हेर्ने धेरै भए । कत्तिले मलाई दमिनीको छोरो भनेर चिन्ने पनि भए । अझै पनि धेरै मान्छेलाई पत्याउन गाह्रो छ, म दलित हुँ भनेर । आफूलाई चिनाउन नै मैले दमिनीको छोरो लेखें ।
source: esamata
मञ्जुल शान्तिका लागि साझा अभियान (कोक्याप) सँग अावद्ध अधिकारकर्मी हुन् ।
No comments:
Post a Comment