मुर्च्छित भइरहन्छिन् आमा

बर्दिया राजापुर १० की मीना सुनारको भारतमा बलात्कार र हत्या गरिएपछि
 विक्षिप्त आमा स्वरुपालाई सम्हाल्दै शोकाकुल गाउँले । तस्बिर : कमल/कान्तिपुर
राजापुर (बर्दिया), फाल्गुन १ - बोल्दाबोल्दै आमा स्वरूपा मुर्च्छित हुन्छिन् । 'मेरी छोरी..' भन्दै छिनछिनमा बेहोस हुन थालेपछि आफन्तलाई सम्हाल्न मुस्किल भइरहेको छ । मानसिक समस्याको उपचारका लागि दिदीभिनाजुसँगै भारतको हरियाणा पुगेकी माइली छोरी मीना सुनारलाई बलात्कार गरी हत्या भएको खबरपछि स्वरूपा राम्रोसँग होसमा आउन नसकेकी हुन् ।
उपचारका लागि भारतको हरियाणा प्रान्तको रोहतक पुगेकी बर्दिया राजापुर १० टेडियाकी मीनाको बलात्कारपछि हत्याले परिवारमात्र होइन, सिंगो गाउँ शोकमग्न छ । मोतीरामकी छोरी २८ वर्षीया मीनालाई ९ युवकले बलात्कार गरेका थिए ।
गुप्ताङ्ग, यौनाङ्ग र टाउकोमा ढुंगा र छडले हानेर हत्या गरी खेतमा फालिएको अवस्थामा फेला पारिएको बहिनीज्वाइँ कमल विकले बताए । मीनाको सदगत गरी बुधबार गाउँ फर्किएका उनले रोहतकबाट करिब ११ किमि टाढा बहु अखवरपुरस्थित राष्ट्रिय राजमार्ग नजिकको खेतमा शव भेटिएको बताए ।
'दिदीको पहिचान गर्न निकै मुस्किल भयो,' भाइ अमृतले भने, 'खुट्टा, कपडा र दाँतले पहिचान गर्न सकियो ।' गत मंसिर १२ गते राजापुरबाट उपचारका लागि दिदी जानकी र भिनाजु जगतसँग मीना भारत गएकी थिइन् । आर्थिक अवस्था निकै कमजोर सुनार परिवारका तीन दिदीबहिनी र दुई दाजुमध्ये मीना माइली हुन् । हरियाणाको रोहतकमा ठेलामा खाना बिक्री गर्दै आएका भिनाजु जगत करिब २० वर्षदेखि न्यु चनोट कोलोनीमा डेरामा बस्दै आएका छन् । दिदीभिनाजु कामका लागि बाहिर गएको समय उनी केही बेरपछि एक्लै घर छाडेर बाहिर गएकी थिइन् । दिदीभिनाजुले घरमा नभेटिएपछि गान्धीनगरस्थित प्रहरी चौकीमा जानकारी गराएका थिए । चार दिनपछि उनको क्षतविक्षत शव भेटिएपछि रोहतकका स्थानीयले विरोध प्रदर्शन गर्दै राजमार्ग ठप्प पारेका थिए ।
प्रहरीले बलात्कार र हत्या अभियोगमा संलग्न एक नेपालीसहित ८ भारतीय युवालाई पक्राउ गरेको छ । एक जना अभियोगीले आत्महत्या गरेको जानकारी आए पनि पुष्टि हुन नसकेको विकले बताए । पक्राउ परेका नेपाली युवक प्यूठान घर भएको उल्लेख गरिए पनि अन्य जानकारी सार्वजनिक गरिएको छैन । अपराधीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने पीडितका आफन्तको माग छ । मीनालाई बलात्कार गरी हत्या गर्ने अपराधीलाई भारतीय कानुनमा उल्लेख भए अनुसार फाँसी दिनुपर्ने पीडित परिवारको भनाइ छ ।
इलाका प्रहरी कार्यालय राजापुरका इन्स्पेक्टर बमबहादुर खड्काले भने बलात्कारपछि हत्याबारे कुनै जानकारी नभएको बताए । अमृतले निजी कानुन व्यवसायीले मुद्दाको बहस गर्न नमानेको बताए । अधिवक्ताहरूले अभियोगीका आफन्तबाट असुरक्षा हुने भन्दै अस्वीकार गरेको उनले बताए ।
source:-कान्तिपुर

No comments:

Post a Comment