अन्तरजातीय विवाहित जोडी सुरक्षा माग्दै प्रहरीमा

अन्तरजातीय विवाह गरेका कारण माइती पक्षले पटकपटक आक्रमणको प्रयास गरेको भन्दै नारायण नपा१ का एक जोडीले कात्तिक १६ गते निवेदनसहित सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालय दैलेखमा नै बसेका छन् ।

नारायण नपा-१ भगवति टोलका २० वर्षीय कमल बयलकोटी सार्कीले सोही ठाउँकी २० वर्षीया भावना श्रेष्ठसँग कात्तिक १२ गते विवाह गरेपछि माइती पक्षले जात नमिलेको भन्दै प्रत्येक दिन राति घरमा गई धम्की दिने र आक्रमणको प्रयास गरेका कारण बाध्य भएर सुरक्षाको मागगर्दै प्रहरी कार्यालयमा बसेको कमलका दाजु पिर्थ बयलकोटीले जानकारी दिए । 

कमलका भाइ सन्तोष बयलकोटीले माइती पक्षका ८/१० जनाको समूहमा आएका व्यक्तिले अन्तरजातीय विवाह गरेकै कारण कात्तिक १५ गते आक्रमणको प्रयास गरेपछि भागेर दाइले ज्यान जोगाएको बताए ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी प्रज्वल महर्जनले सुरक्षाको मागसहित आएका अन्तरजातीय विवाहित जोडीको सुरक्षामा कुनै कमी नहुने र धम्कीसहित आक्रमणको प्रयास गर्न खोज्ने माइती पक्षहरूलाई बोलाई छलफल गराउने जानकारी दिए । उनले माइती पक्ष सहमत नभए कानुनअनुसार कारबाही अगाडि बढाउने बताए ।

No comments:

Post a Comment