त्रिभुवनचन्द्र वाग्ले, साहित्यकार, अनुसन्धाता तथा दार्शनिक पूर्णप्रकाश
यात्री नेपालको यही पुस ५ गते निधन भएको छ । उहाँसँग धेरै नजिकको सम्पर्क
हुन नपाए पनि दलित समुदायको अधिकारका अभियानमा केहीपटक उहाँसँग भेटघाट र
छलफल गर्ने अवसर प्राप्त भएको थियो । यात्रीका केही पुस्तक र
कर्मक्षेत्रबारे विश्वविद्यालयमा समाजशास्त्र÷मानवशास्त्रको अध्ययन गर्ने
बेलैदेखि थाहा पाएको भए पनि उहाँसँगको बाक्लो भेटघाट दलित आन्दोलनकै क्रममा
भएको हो । राष्ट्रिय दलित आयोगले छुवाछूतविरुद्ध टेलिभिजनमार्फत सन्देश
दिने उद्देश्यले केही नारा (सन्देश) तयार गर्ने र ती सन्देश खेमराज
केशवशरण, पूर्णप्रकाश यात्री, विश्वहिन्दू महासंघका
अध्यक्ष भरतकेशरी शाह,
उपाध्यक्ष स्थिरबाबु घिमिरे, वैदिक कर्मकाण्ड संघका अध्यक्ष तथा स्वामी
प्रपन्नाचार्यमार्फत सचित्र प्रचार गराउने तयारी हुँदै गर्दा यात्रीसँग भेट
भएको थियो । यसै क्रममा यात्रीले दलित आयोगका केही जिज्ञासु पदाधिकारीको
थरगोत्र स्पष्ट गरिदिनुभयो र तपार्इंहरू सबैले उच्च जातले गर्ने धार्मिक
विधि, विधान पालना गर्नुपर्दछ भनेर प्रेरणा दिनुभयो । उहाँको एउटै तर्क
थियो, दलित सामाजिक वर्गीकरणको अभ्यासबाट आएको अवस्था हो । युद्ध हारेका,
हाडनातामा परेका, राजनीतिक प्रतिशोधजस्ता विविध कारणले थुप्रै ठूलाजाति
भनिनेलाई दलित बनाइएका उदाहरण दिँदै उहाँले दलित हुनुको लघुताभास त्यागेर
हिन्दूधर्मका सबै संस्कार गर्न तपाईंहरूलाई कसैले छेक्दैन र तपाईंहरूले
पनि यसो गर्दै कालान्तरमा सांस्कृतिक र जातीय विभेद मेटाउने प्रयास
गर्नुपर्दछ भनेर आयोगका संस्थापक अध्यक्ष पद्मसिंह विश्वकर्मा लगायतका
सदस्यहरूलाई भन्नुभएपछि आयोगले २०५९ को जनैपूर्णिमाका दिन यात्रीको हातबाट
जनै (रक्षा बन्धन) धारण गर्ने निधो गरेको थियो । यद्यपि आयोगका केही
सदस्यले यस्तो गर्नुले परम्परालाई निरन्तरता दिएको ठहर्ने भन्दै जनै लगाउन
हुँदैन भनेर सो कार्यक्रममा उपस्थित हुनुभएन । विरोध गर्नुभयो ।
म
२०५५ मंसिरबाट गोरखापत्रको पत्रकार भएपछि सामाजिक समावेशीकरण खासगरी दलित र
जनजातिका मुद्दालाई बिट बनाएर पत्रकारिता गर्दै आएकाले मलाई पनि जनैधारण
कार्यक्रममा आमन्त्रण गरिएको थियो । आयोगको थापाथलीको भवनमा विशेष
प्रकारले बनाइएको समान्य मञ्चअघिल्तिर यात्री उभिनु भएको थियो । उहाँले
आफू यो वर्ष आफन्त कसैको बराखीमा रहेकाले धागो बाँधिदिन नहुने र तपाईंले नै
बाँधिदिनोस् भनेर मलाई भन्दै बडो श्रद्धाका साथ ताली बजाउनु भयो । पछि
उहाँ र मबीच एकआपसमा धागो बाँध्ने प्रसङ्ग चल्यो, तब उहाँले तपाईं र म
सहगोत्री दाजुभाइ एकआपसमा रक्षाबन्धन बाँध्नु हुँदैन भन्नुभयो र मैले
त्यहाँ उपस्थित एक महिला सम्भवतः पवित्रा सुनार (हाल पत्रकार) को हातबाट
जनै बाँधे र दक्षिणा दिएँ । पवित्राजीले पनि मलाई त्यसै गर्नुभयो ।
यात्रीजी कार्यक्रममा आएर पनि किन आसौचमा परेको छु भनेर जनै बाँधिदिनुभएन
भन्ने प्रश्नले मलाई निकै खुलदुल बनाएको थियो । उहाँले पवित्रता वा
अपवित्रता भनेर यसो गर्नुभयो जस्तो लाग्दैन किनकि उहाँकै सल्लाहमा यस्तो
कार्यक्रम बनेको आयोगले जनाएको थियो । फेरि उहाँ कार्यक्रमभरि मञ्चमा बडो
प्रसन्न देखिनुहुन्थ्यो । मलाई उहाँले तपाईं र म सहगोत्री बन्नु भएजस्तो
लाग्छ त्यो पनि घर फर्केर आई शिखरनाथ सुवेदी लिखित थरगोत्र प्रवरावली
पल्टाएर हेर्दा नेपालको त घृतकौशिक गोत्र हुने थाहा पाएपछि यस सन्दर्भका
केही जिज्ञासा मैले उहाँसग मेट्न पाइन । अर्कोतिर उहाँलाई जनै लगाउने
कार्यक्रममा प्रमुख अतिथि बनाएर बोलाउने निर्णय गरिसकेपछि आयोगमा जनै
लगाउने÷नलगाउनेबारे विवाद भएको कुरा सुनेर उहाँले त्यस्तो व्यवहार गर्नुभयो
कि भन्ने पनि लाग्दछ ।
पहिचान नै यात्री बनाउनु भएका उहाँले नेपालका
सबै जिल्ला मात्र होइन मुलुकका प्रायः सबै बस्तीमा पुग्नुभएर समाज र
मावनशास्त्रीय अध्ययन अनुसन्धान गर्नुभएको थियो । एकपटकको भेटमा मैले
नेपालको जातीय विविधताको अध्ययन गर्ने इच्छा देखाएपछि उहाँले मलाई
सक्नुहुन्छ त सबै जिल्ला र गाउँमा जानुहोस् सक्नुहुन्न भने सिन्धुलीमा अन्य
जिल्लाका तुलनामा हावापनी, बसोबास, जातीय, भाषिक सांस्कृतिक विविधता पाउन
सकिन्छ । यत्तिको अरू जिल्ला छैन भन्नुभएको थियो । समाजशास्त्रको
विद्यार्थी भएकाले यसका पिता मानिने फ्रेन्च मानवशास्त्री अगष्ट कम्ट
(१७९८–१८५७) ले कल्पनाको भरमा समाज र सस्ंकृतिको व्याख्या गर्ने पद्धतिको
विकल्पमा वैज्ञानिक अध्ययन प्रत्यक्ष्यवाद (पोजेटिभिज्म) अर्थात् प्रत्यक्ष
हेरेर र अनुभव गरेर मात्र समाज र सस्ंकृतिको व्याख्या गर्न थालेपछि
सामाजिक ‘विज्ञान’ भन्ने थालिएको हो । यात्री पनि प्रत्यक्ष भ्रमण गरेर
नेपाली समाजको अध्ययन गर्ने विद्धान् हुनुभएकाले उहाँलाई नेपालका अगष्ट
कम्ट भनियो भने अत्युक्ति नहोला । अथवा पोल्याण्डका विश्व चर्चित
मानवशास्त्री ब्रोनिस्लाभ म्यालिनोस्कीले समाज र संस्कृतिको अध्ययन गर्दा
स्थलगत भ्रमणलाई मात्र जोड दिएनन् र सम्बन्धित जातिको भाषा पनि सिक्नु
पर्दछ भनेका थिए । यात्रीले नेपालीबाहेक अन्य केही भाषामा बोलचाल गर्न
सक्नुहुन्थ्यो । यसरी स्थलगत भ्रमण गरी नेपाली समाज र संस्कृतिबारे वृहत्
अध्ययन गर्नेहरूको अभाव देखिएको छ । अहिलेका कतिपय अध्ययन अधिकारमुखी
अभियानका लागि गरिने भएकाले यिनीहरूको तटस्थता र निष्पक्षतामा विश्वास गर्न
गाह्रो छ तर यात्री, जनकलाल शर्मा, डोरबहादुर विष्टजस्ता विद्धान्हरूले
हाम्रा लागि धेरै गुन लगाएर बित्नुभएको छ । विष्ट यात्राकै क्रममा
जुम्लाबाट हराउनु भएको झण्डै दुई दशक भए पनि अत्तोपत्तो छैन । नेपालका दुई
सपुत स्वामी प्रचन्नाचार्य र पण्डित खेमराज केशवशरणबाट नेपालले अथाह
जानकारी लिन सक्दछ तर उहाँहरू ओझेलमा हुनुहुन्छ । सन् १९३४ जुलाइमा
भोजपुरको कटुन्जेमा जन्मनुभएका आमा हरिप्रिया र पिता कृष्णप्रसाद
उपाध्यायका पुत्र यात्रीले अविरल रूपले १२ वर्ष मुलुक तथा विश्वका विभिन्न
देशको भ्रमण गर्नुभएको थियो । उहाँले यात्रा र लेखनको शृङ्खला २०६९ पुस ५
गते बिसाइ दिनुभयो । साभार : - गोरखापत्र
No comments:
Post a Comment