'उठौँ सबै सहर र गाउँ, मंसिर ४ मा भोट हाल्न जाउँ,'

जाजरकोट - 'उठौँ सबै सहर र गाउँ, मंसिर ४ मा भोट हाल्न जाउँ,' तिहारको लागि कमाइ गर्न गाउँ वस्तीमा घुमिरहेका ढिमे १ दम्दालाका तिलक गन्दर्वले आज भोलि जाजरकोटका गाउँ वस्तीहरुमा गाउँने गरेका गीत। हातमा  डेढ सय वर्ष पुरानो सारंगी र साथमा ११ वर्षको छोरो लिएर तिहारको कमाइ गर्न निस्किएका गन्दर्वले माया पिरती र सामाजिक परम्परा संगै  जनतालाई मंसिर ४ को चुनावमा भोट हाल्न निम्तो  गरिरहेका छन्।'उताबाट चुनाव आ'को छ, मलाइ भोट हाल्न मन ला'को छ,' शव्दको गीतसँगै उनले अन्य  सामाजिक परम्परा तथा सँस्कृतिका कुरा पनि  गीतबाटै गर्ने गरेका छन्।
परिवारमा ९ सन्तानका मुली तिलक तिहारको रौनक सँगै गाउँ वस्तीमा चुनावी गीत गाउने  गरेका  छन्। आफनो गाउँ  ढिमेका सवै वस्ती घुमिसकेर  सदरमुकामका विभिन्न वस्तीहरुमा सारंगी रेट्दै पुगेका तिलकले गाउँको विकास र नयाँ संविधानका लागि  भोट हाल्न जाउँ भन्दै  सर्वसाधारणलाइ सन्देश बाढिरहेका छन्। सामान्य साक्षर मात्र भएका तिलकले  चुनावमा  भोट हाल्नु पर्छ भन्ने कुरा रेडियो  र अन्य मानिसहरुबाट सिकेको र त्यहि कुरालाइ गीतका माध्यमवाट सबैलाई बाँढ्दै हिडेको बताए।

एकातिर पार्टीक कार्यकर्ताहरुले  चुनावी नारा लगाइरहदा उनी छेउमै वसेर सवै जनतालाइ  भोट हाल्न जाउ भन्ने सन्देश वाँढिरहेको देखेर सर्वसाधारणहरु ध्यान दिएर उनको गीत सुन्ने गर्छन्। 'चुनाव पनि दशैंतिहार जतिकै ठूलो पर्व हो त्यसैले यसमा सवै  सहभागी हुनु पर्छ,' तिलकले चुनावी गीत किन गाउनु हुन्छ भन्ने सर्वसाधारणको  प्रश्नको उत्तर दिँदै भने। 
दलका नेता र  कार्यकर्ताहरुले  आफनो पार्टीको  चुनाव चिन्हमा  भोट हाल्न जनता फकाइ रहेका वेला उनले भने  सवै जनतालाइ आफनो मताधिकारको प्रयोग गर्न  आग्रह गरिरहेका  छन्। तिलकले  यो पार्टी राम्रो उ पार्टी राम्रो  भनेर  भने गीत गाएका छैनन्।  १० वर्षको उमेरदेखि  'कलिलो तामालाइ सोध रामलाइ...'  भन्ने गीतबाट सारंगी रेट्न थालेका  उनले  गाउँ वस्तीमा  सारंगीको भाका सुनाउन थालेको  ३३ वर्ष  भएको बताए। आफुले आफना वाजेका वावुले  प्रयोग गरेको  सारंगी नै  प्रयोग गरिरहेको   र अव यसलाइ प्रयोग गर्ने  उत्तराधिकारीको समस्या पर्ने वताए।
४ छोरा ३ छोरीका बाबु तिलकले यस वर्षको तिहार खर्च जम्मा ५ हजार कमाएको बताए। आफुले  नपढेको भएपनि   छोरा छोरीलाइ भने पढाउने उनको धोको छ। गाउँ वस्तीहरुमा  सारंगी लोप हुँदै गएको भएपनि आफना सन्तानलाइ उनी सारंगीको उत्तराधिकारी बनाउने पक्षमा देखिदैनन्।
- साभार नागरिक

No comments:

Post a Comment