हिन्दूहरूले सुधार्नुपर्ने एउटा अनिवार्य कूरा

अहिले हाम्रो सम्पूर्ण नेपाली समाज जातीयता, क्षेत्रीयताजस्ता विरोधाभाषी कुराहरूमा जेलिएको छ | यसले नेपाली समाजका वास्तविक उत्पिडित तवकाको सवाललाई ओझेलमा पारेको छ | यो तवका हो : अछूत | नेपाली समाजमा छुवाछुतको सांस्कृतिक प्रचलन विद्यमान छ | हामीले यो तत्थ्यलाई स्वीकार गर्नैपर्छ | छुवाछुत प्रथाको कसले सृजना गर्यो र यसलाई सांस्कृतिक संस्कारको रूपमा कसले अगाडी बढायो ? यस प्रश्नको उत्तर ठूला-ठूला विद्वानहरूसंग पनि छैन | 
हामी हिन्दूहरू जन्मदैखेरि ‘छुवाछुत’मूलक सामाजिक संरचनामा आफुलाई पाउछौं, यही कुरा सत्य हो | सबैले आ-आफ्नो स्वार्थअनुसार यसको ब्याख्या गरेको पाइन्छ | क्रिश्चियन र क्रिश्चियन देशको पैसा बोकेर राजनीति गर्नेहरूले हिन्दू सभ्यतालाई वदनाम गर्न वा कलंकित गर्न यसको प्रयोग गरिरहेका छन् | राजनीतिज्ञहरूले ‘दलित’को पहिचान बोकाएर भोट बटुल्ने प्रयत्न गरिरहेका छन् | हिन्दूवादी संगठनहरूका मानिसहरूले ‘सभा-सम्मेलन’मा छुवाछुतको विरोध गर्छन् तर घर फर्केपछि ‘छिटो’ गर्न समेत पछि पर्दैनन् | यो दोहोरो मानदण्डमा जिउनेहरूको ठूलो हूल छ | यो समूहले जातिवादको विरोध त गर्छ तर आफ्नो चारकिलामा छुवाछुतप्रथालाई जोगाएर राख्छ |
विगत तीनसय वर्ष अगाडीसम्म विश्वमा दासप्रथा प्रथा विद्यमान थियो | नेपालमा वि.स. १९८० ताका चन्द्र शम्सेरले पशुपतिनाथको पैसाले ‘कमारो-कमारी’ प्रथा उन्मुलन गरेका थिए | मन्दिरको, भगवानको सम्पत्तिप्रयोग गरेर दासप्रथा उन्मूलन गर्ने साहस नेपालीहरूले नै देखाएका हुन् | चर्च वा मस्जिदको सम्पत्तिले दासप्रथा उन्मूलनको इतिहास विश्वमा छैन | यही नै हिन्दुत्वको विशिष्टता हो तर यसले आज पनि छुवाछुतका कारण हिन्दू-समाजभित्र अपमानपूर्ण जीवन विताउने ‘हिन्दू’का लागि कुनै राहत दिन्न | क्रिश्चियन र मुस्लिमहरूमा आर्थिकस्तरका आधारमा ऊंचनीच छ तर जातीय आधारमा छैन | उनीहरूले आफ्नो जातिलाई ‘अछूत’ ठान्दैनन् | हामी हिन्दूहरू आफ्नै एउटा जातिलाई अछूत ठान्छौं र मान्छौं पनि | यही हाम्रो कमजोरी हो | यस्तो अपमानपूर्ण जीवन विताउन बाध्य ‘दलित’हरूको ९९% हिस्सा आफुलाई ‘हिन्दू’नै ठान्छ | हाम्रो लागि यो भन्दा महत्वपूर्ण कुरा अरू केही हुन सक्दैन |असलमा यो समुदाय दलितहोइन, उपेक्षीत समुदाय हो | आफ्नै दाजुभाइले हेलाँ गरेको समुदाय हो | वहिस्कार गरेको समुदाय हो | वहिस्कारमा परेर पनि उनीहरूले हिन्दुत्वप्रति माया मारेका छैनन्, यही नै हाम्रो गौरव हो |
‘दलित’ शब्दको प्रयोग गरेर राजनीतिज्ञ र क्रिश्चियनहरूले ‘उपेक्षीत’ समुदायलाई हिन्दुत्वको मूलधारबाट अलग गर्ने प्रयत्न सन् १७३४ बाट भारतमा ब्रिटिशहरूले आरम्भ गरेका थिए भने डा. अम्वेडकरले क्रिश्चियनहरूसंग मतभेद भएपछि आफुलाई ‘बुद्धिस्ट’ भनेर दलितहरूलाई हिन्दुत्वको मूलधारबाट अलग्याउने प्रयत्न गरेका थिए | नेपालमा ‘दलित’ शब्द यिनै पूर्वक्रिश्चियन अम्वेडकरको शब्दकोषबाट छिरेको हो | अहिले नेपालीहरू १७३४ मा ब्रिटिशहरूले भारतका उपेक्षीत समुदायलाई क्रिश्चियन बनाउन लागु गरेको फर्मूलाबाट पिडित भएका छन् भने अम्वेडकरको सूत्रलाई अपनाएर उपेक्षीत जातिका समुदायलाई ‘दलित-परिचयको दाम्लोमा बाँधेर’ जातिवादलाई संस्थागत गर्ने षड्यन्त्र हुँदैछ | क्रिश्चियनहरू र हिन्दूधर्मको विनास भएको देख्न चाहने शक्तिहरू ‘दलितपन’ संस्थागत भएको हेर्न चहान्छन् | यो हिन्दू-समाजलाई वदनाम गर्ने संस्थागत फर्मूला हो | आज राज्यले यस्तो फर्मूलालाई संस्थागत गरेर ‘हिन्दुत्व’लाई वदनाम गर्न क्रिश्चियनहरूलाई सघाइरहेको छ | यही नै हाम्रो दुर्भाग्यको चोइटा हो |
अहिले हिन्दू-समाजका लागि दूईबटा प्रमुख चुनौति छन् : (१) उपेक्षीत हिन्दू-समुदायलाई ‘दलित’को परिचय दिएर जातिवादलाई संस्थागत गर्ने क्रिश्चियनको प्रयासलाई राज्यले संस्थागत गरेको (२) उपेक्षीत समुदायलाई ‘सम्मानजनक’ र ‘समानता’मा स्थापित गर्ने | पहिलो सवालमा हामी चुकिसकेका छौँ किनभने राज्यले क्रिश्चियनहरूको चाहनाअनुसार उपेक्षीत समुदायलाई ‘दलित’को पहिचान भिराएर हिन्दुत्वको मूलधारबाट अलग्याउने कानून नै तर्जुमा गरिसकेको छ | यही कानूनको हवाला दिएर क्रिश्चियनहरूले सहजतापूर्वक धर्म-परिवर्तन गराइरहेका छन् र राज्यले निर्लज्जतापूर्वक तिनलाई सहयोग गरिरहेको छ | हामीले उपेक्षीत समुदायको पहिचानका लागि होइन, समानताका लागि संघर्ष गर्नुपर्छ | राज्यले बनाएका विभेदकारी कानूनको विरोध गर्नुपर्छ |
दोस्रो, उपेक्षीत-समुदायलाई समाजले सम्मानजनक र समानताप्रदान गर्न अगुवा हिन्दूहरूले आफ्नो द्वी-जीब्रे वा द्वैधचरित्र त्याग्नुपर्छ | भाषण गर्दा छुवाछुत मान्दैनौ भन्ने तर घरमा गएपछि ‘घरभित्र हाम्रो अधिकार हुन्छ’ भन्ने धारणाप्रति संस्थागतरूपमै प्रहर गरिनुपर्छ | आफ्नो जातीय कट्टरताको गाँठो ‘बुद्धिको’ प्रयोग गरेर सधैका लागि खोल्नुपर्छ | यो कुरा लेख्न र बोल्न सजिलो भएतापनि ब्यबहारमा प्रयोग गरेर देखाउन त्यति सजिलो छैन तर पनि यस्तो उदारता अपनाउनै पर्छ | अरूले भन्दा आफैले यो कुराको प्रयोग गर्ने आँट देखाउनु पर्छ | उपेक्षीत-समुदायका लागि हामीले निम्न कदम चालेर सम्मानजनक तथा समानस्तरमा ल्याउन सक्छौं :
१. सहभोजन गरेर : नेपाली सामाजिक जीवनमा उपेक्षीत समुदायले पहिलो नराम्रोपन वा चरमअपमान अनुभव गर्ने प्रमुख कारण हो : उनीहरूलाई सहभोजनको अवसरबाट वन्चित गर्नु | यसले उनीहरूको चित्त दुख्छ | हामीले दलित समुदायका मानिसहरूलाई ‘भान्से’का रूपमा काम लगाएर, उनीहरूसँग संगै भोजन गरेर, उनीहरूलाई आफ्नो घरमा निम्तो दिएर घरभित्र संगै भोजन गरेर ‘हामी सबै हिन्दूहरू समान छौँ’ भन्ने कुराको संदेश दिन सक्छौं |
२. धार्मिक वा सांस्कृतिक कार्यक्रममा समान सहभागिताको अवसर दिएर
३. तिनका कार्यक्रममा सहभागिता जनाएर
४. तिनमा रहेको जातीय-संकुचित सोचको निन्दा गरेर
५. शिक्षामा समान अवसर दिएर
६. ‘दलितपन’को पहिचानलाई वहिस्कार गरेर
७.सांस्कृतिक र धार्मिकरूपमा तिनको सहभागिता स्वीकार गरेर
हामीलाई गौरव छ किनभने हाम्रो हिन्दुत्व विश्वबन्धुत्वको बलियो बैदिकजगमा उभिएको छ | हजारौं वर्षको उपेक्षाका वाबजुद पनि ‘उपेक्षीत’ समुदाय ‘हिन्दुत्व’प्रति प्रतिवद्ध छ | हामीले आफ्ना अभिन्न अंगलाई विधर्मी भएको भोग्न सक्दैनौं | समय रहँदै हामीले आफ्नो छुवाछुतवादी जड विचारलाई तिलान्जलि दिनुपर्छ | हामीले अव बोल्नैपर्छ ‘हामी सबै हिन्दू एक हौँ | हामी सबैको एकै पहिचान छ : हामी सबै हिन्दू हौँ |
सबैको जयहोस् |
साभार :-hindunepal.wordpress.com


Disclaimer: The opinions expressed within this article or blog are the personal opinions of the author. The alldalit News is not responsible for the accuracy, completeness, suitability, or validity of any information on this blog. All information is provided on an as-is basis. The information, facts or opinions appearing on the blog do not reflect the views of The alldalit News and The alldalit News does not assume any responsibility or liability for the same.
 

No comments:

Post a Comment