इलाममा खनालसँग भिड्दैछिन ७४ वर्षीया वृद् दलित भक्तकुमारी

इलाम -  नेकपा एमाले अध्यक्ष झलनाथ खनालले तीनपल्ट जितेको र फेरि जित्ने दौडमा रहेको क्षेत्र नम्बर १ मा अरु ११ उम्मेदवार प्रतिस्पर्धी छन्। चुनावी मैदानको त्यो भीडमा खनालसँग लड्ने एकजना ७४ बर्षे दलित बृद्धा पनि सामेल छिन्।ठूला पार्टीका उम्मेदवारको दलबल र चाला पनि ठूलै छ। ती वृद्धाको पनि घरदैलो जारी छ तर पहिल्यैदेखि शान्त रहने स्वभावले त्यति चर्चा छैन। उनका समकालीन धेरै महिलाले पढ्नु र नाम लेख्नु त परै जाओस, अक्षरसम्म चिन्दैनन्। घरधन्दा मैं रमाउँछन्। नाति नातिनाको स्याहार सुसारमैं सीमित छन् सबैजसो साथीसंगी। छरछिमेकका बाहेक अन्तका कुरा उनीहरुका लागि चासोका विषय बन्दैनन्। घर परिवार नै उनीहरुका लागि सुख दुःख बिसाउने संसार बन्छन्। भक्तकुमारी गदाल भने भिडमा भिन्न भएर देखा पर्दैछिन्।
 मेची राजमार्गअन्तर्गत पूर्वी इलामको व्यापारिक केन्द्र फिक्कलकी उनी पुरानो पुस्ताको प्रतिनिधित्व गर्ने महिला भए पनि अचेल अधवैंशेदेखि बुढापाकासँग मात्रै होइन किशोर किशोरीदेखि बालबालिकासँग पनि मुस्काउँदै हिँडिरहेकी हुन्छिन्। उनको अघिपछि दर्जनौंको भिड लाग्छ। फर्केर हेर्नेहरु बढ्दैछन्। एमाले कमाण्डरसँग चुनावी दौडमा सामेल हुँदा चासो गर्नेहरु थपिँदैछन्।
 आठ सन्तानकी आमा मात्र होइन, १५ नातिनातिनाकी हजुरआमा र छ जना पनाति पनातिनीकी एक्ली अभिभावक पनि हुन् भक्तकुमारी। युवावस्थादेखि नैं राजनीतिमा रुचि राख्ने उनी २०३६ सालको जनमत संग्रहताका अरुले हिम्मत नगरेको काम गरेर चर्चामा आएकी थिइन्। त्यस बेलादेखि निरन्तर राप्रपामा सक्रिय उनी पहिलोपल्ट संसदीय निर्वाचनमा उम्मेदवार भएकी हुन्।
 '०३६ सालमा निर्दल चाहिन्छ भनेर फिक्कलमा पहेंलो झण्डा गाडेर फहराउने मैं मात्र थिएँ' पहेंलै टीका लगाएकी गदालले बुधवार विगत सम्भि्कइन्, 'सबैजसो मान्छे बहुदलको पक्षमा रहेका बेला त्यो हिम्मत गर्नु चानचुने कुरा थिएन।' त्यसबेला छोरा मान्छेले पनि आँट गर्न नसकेको काम आफूले गरेको बताउने उनी संविधानसभा निर्वाचनमा 'जित्ने' दावीसहित चुनावी दौडमा छिन्। इलामको नामसालिङमा जन्मीहुर्की विवाह गरेर सुर्के पुगेकी उनको परिवार पछि बसाईं सरेर फिक्कल पुगेको हो। सामान्य लेखपढ गर्न सके पनि धेरै पढेर ज्ञानको दायरा फराकिलो पार्न नसकेकोमा गदाललाई थकथकी लागिरहन्थ्यो। त्यही भएर जन्मेका सबै छोराछोरीलाई भेदभाव नगरी पढाइरहिन्। राजनीतिक अडान कहिल्यै छोडिनन्। एकसुरले लागिरहिन र अहिले टिकट पाइन्।
 आफ्नो पाटी राप्रपा भन्दा धेरैले नाक खुम्च्याउने गरे पनि उनी कमल थापाले नेतृत्व गरेको नभई सूर्यबहादुर थापाको माउ पार्टी भन्दै प्रष्ट्याउँछिन्। 'हामी धर्मनिरपेक्ष र प्रजातन्त्रकै पक्षमा छौं, अरुले कुरा मात्र नबुझेका हुन्' गदाल भन्छिन्, 'गाउँ गाउँमा चुनावी सभा गर्दै मसिनो गरी प्रष्ट्याउँदै जाँदा मेरो पक्षमा पनि जनलहर सुरु हुँदैछ, राम्रै मत आउँछ भन्ने विश्वास छ।' पहिल्यैदेखि माछामासु नखाने गदाल प्रणामी धर्म मान्छिन्। थुप्रैवटा संघ संस्थामा आवद्ध भएर सामाजिक काममा जुट्छिन्। आठ सन्तानमध्ये छ जना विदेश छन्। अमेरिकामा बस्छ तीन जनाको परिवार। घरमा रहेका दुई छोराले व्यवहार धानिहाल्छन्। सुनचाँदी र खेतीपाती व्यवसायले गुजारा राम्रै चल्छ। पहिल्यैदेखि सामाजिक कामको अनुभवले उनलाई राजनीति गर्न सजिलै छ।
 'मेरो क्षेत्रमा प्रणामी, क्रिश्चियन, दलित र मैंले सामाजिक काममा सहयोग पुर्‍याएका मान्छे धेरै छन्' आफ्नो धेरै मत आउने आधार बताउँछिन् उनी, 'त्यसबाहेक क्रान्तिकारी कुरा गर्ने दलहरुले लोकतन्त्र आएको यत्तिका बर्षसम्म कुनै लछारपाटो नलाउँदा आजित भएकाहरुले पनि सघाउँछन्।' ५९ हजार आठ सय १४ मतदाता रहेको त्यसक्षेत्रमा 'आफ्नो पकड बलियो भएको' दावी गर्दै घण्टाघर चिन्हमा भोट माग्दै मतदाताको दैलो ढक्ढक्याँदैछिन् उनी।
- साभार :- नागरिक

No comments:

Post a Comment