छोराको रहरमा दसौं बच्‍चा जन्माउन खोज्दा दलित महिलाको मृत्यु

सुर्खेत : छोराको रहरमा दसौं बच्‍चा जन्माउन खोज्दा वीरेन्द्रनगर नगरपालिका-६ की ३५ वर्षीया इन्द्रा सुनारको सोमबार राति क्षेत्रीय अस्पताल सुर्खेतमा मृत्यु भएको छ।

 मृतकका दाजु खलबहादुर सुनारले सोमबार हिँडेरै अस्पताल पुगेकी बहिनीको चिकित्सककोलापरबाहीका कारण मृत्यु भएको आरोप लगाए।मृतकका आफन्तले उपचारमा खटिएका चिकित्सकलाई कारबाही र पीडितलाई उचित क्षतिपूर्ति माग गर्दै मंगलबार दिनभर अस्पताल परिसरमा प्रदर्शन गरे।


सुनारले यसअघि ६ वटी छोरी जन्‍माएकी थिइन् भने तीनपटक गर्भपतन गराएकी थिइन्। अस्पतालमा भर्ना भएका आफन्त भेट्न गएकी सुनारलाई अस्पताल पुगेपछि सुत्केरी बेथा लागेको थियो। छटपटाउन थालेपछि चिकित्सक पूर्ण घर्तीको समूहले सुनारको उपचार गरेको थियो।नियमित प्रक्रियाबाटै सुत्केरी गराउने क्रममा अत्यधिक रक्तस्राव हुँदा सुनारको मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट भोलाराम श्रेष्ठले सुत्केरी गराउने क्रममा पाठेघर नखुल्दा शिशु र आमाको मृत्यु भएको बताए।

‘पहिले ६ सन्तान जन्मिएको र तीनपटक गर्भपतन गराइएको रहेछ, सुत्केरी गराउँदा अत्यधिक रक्तस्रावका कारण मृत्यु भयो’, श्रेष्ठले भने। उनले पाठेघर नखुलेपछि औषधि प्रयोग गरिएको र त्यसले समेत नभएपछि भ्याकुम लगाएर बच्‍चा बाहिर निकाल्ने क्रममा बढी रक्तस्राव भएको बताए।मृतकका आफन्तले चिकित्सकको लापरबाही भएको भन्दै प्रदर्शन गरेपछि स्थानीय शान्ति समितिको पहलमा अस्पताल र पीडित पक्षबीच वार्ता भएको थियो। वार्तामा पीडितलाई उचित क्षतिपूर्ति र राहतका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय भएको शान्ति समितिकी सदस्य रामकुमारी थापाले बताइन्।
साभार अन्न्पोस्ट

No comments:

Post a Comment