आखिर कहाँ छ, हाम्रो सांस्कृतिक रूपान्तरणको कार्यसूची ?
कहाँ छ, हाम्रो सांस्कृतिक रूपान्तरणको कार्यसूची ?
'नयाँ नेपाल' बनाउँछु भन्दै हिंसामा उत्रिएको माओवादीले कुनै बेला राप्ती र भेरीका पहाडी जिल्ला र सिङ्गो कणर्ालीलाई 'आधार-क्षेत्र' घोषणा गरेको थियो । आफ्नो 'नयाँ सत्ता'को अभ्यास हेर्न उसले धेरै स्वदेशी र विदेशी पत्रकारलाई निम्त्याउँथ्यो । तर हतियार बिसाएर जब ऊ सहर पस्यो, आधार क्षेत्रहरूमा निर्माण गरिएको 'सामाजिक-सांस्कृतिक मूल्य' उदाङ्गो भए । कालिकोटमा चुल्हो छोएको निहुँमा मनवीर मारिए, जाजरकोटमा सफाइको अभावले फैलिएको हैजाले सयौंको ज्यान लियो र दैलेखमा अन्तरजातीय विवाह गरेबापत दलितको परिवारमाथि नृशंस हत्या भयो । यो त गाउँको कुरा भयो । 'युद्धकाल'मा गरिएका अन्तरजातीय विवाहहरू धमाधम भत्किँंदै गएका, महिला कार्यकर्ताहरू अलपत्र पारिएका र पार्टीमा यौन विकृतिहरू अत्यासलाग्दो गरी बढ्दै गरेको चिन्ता पार्टीले संस्थागत रूपमै स्वीकारेको छ । सांस्कृतिक रूपान्तरणका नाममा हिंसात्मक द्वन्द्वताका किरिया बसेका किरियापुत्रीको हत्या गर्ने र मन्दिरका पुजारीहरूको जनै र टुप्पी काटिदिने साथीहरू अचेल 'भैंसीपूजा'सम्म गर्न भ्याउँछन् । अचेल एमाओवादीका कतिपय नेता/कार्यकर्ताको बिहेभोज हेर्दा यस्तो लाग्छ- हामी कुनै अर्बपतिको निम्तो खान गइरहेका छौं । सहर नयाँ सम्भ्रान्तहरूका पदचापबाट आक्रान्त छ ।
के साथीहरूको विद्रोहको सांस्कृतिक मूल्य यस्तै हो ?
नेपाली काङ्ग्रेसको कार्यसूचीमा त्यसै पनि सांस्कृतिक रूपान्तरणले प्राथमिकता पाउँदैन । यस मामलामा वीपी कोइरालाका कतिपय काम अनुकरणीय छन्, तर पाइला-पाइलामा वीपीको नाम नछुटाउने साथीहरू बाबाहरू र ज्योतिषकहाँ जान्छन्, टाउकोमा अन्डा फुटाउन लगाउँछन् र विगुत लगाएर ढुक्क हुन्छन् । विगुत लगाएर, हातका प्रत्येक औंलामा पत्थरका औैंठी लगाएर आफ्नो मनोकामना पूरा हुने भ्रम पाल्ने नेताहरूले कार्यकर्तालाई किन लोकतन्त्रका निम्ति आन्दोलनमा लाठी-गोली खान होमेका हुनन् ? सबैका निधारमा विगुत दलिदिएको भए त पञ्चायतविरुद्ध ३० वर्ष र ज्ञानेन्द्रविरुद्ध ४ वर्ष लड्नैपर्ने थिएन नि ?
देशको होइन, मधेसको मात्रै कुरा गर्ने, सत्ताका लागि सबै हद तोड्न तयार हुने र मूलतः जमिनदारहरूको प्रतिनिधित्व गर्ने मधेसी दलबाट दहेजका निम्ति जिउँदै जलाइएकी महिलाबारे आवाज उठ्ला, दलितमाथि ज्यादती हुँदा सहानुभूतिका शब्द चुहिएलान् र त्यहाँको सामाजिक रूपान्तरणको अभियान चालिएला भन्ने कुरा कल्पना बाहिरकै कुरा भयो ।
लोकतन्त्र, गणतन्त्र, समाजवाद शब्दजाल मात्रै होइनन् । तिनीहरूले निश्चित अर्थ बोकेका हुन्छन् र तिनले निश्चित मूल्यहरूको प्रतिनिधित्व गर्छन् । तर यी सबै शब्द सत्ताप्राप्तिका साधनजस्तो मात्रै हुनपुगे । संविधानसभालाई रबरस्ट्याम्प बनाएर, संविधानलाई कागजको खोस्टोजस्तो बनाएर, आफ्नै पार्टी या कमिटीलाई समेत गुमराहमा राखेर गरिने निर्णय कुनै पनि अर्थमा लोकतान्त्रिक संस्कारभित्र पर्दैनन् । दुर्भाग्यवश, हाम्रा निर्णय प्रक्रिया पारदर्शी, सहभागितामूलक र लोकतान्त्रिक छैनन् । कार्यकर्ताका भावना निर्णय प्रक्रियामा प्रतिविम्बित हुँदैनन् । नेतृत्व र कार्यकर्ता बीचको दूरी निरन्तर बढिरहेको छ, दुबैका सपना फरक हुनथालेका छन् । कार्यकर्ताको पीडाले अचेल नेतालाई छुँदैन । जनताका समस्या बैठकको प्राथमिकतामा पर्दैनन् । चिन्तन, वर्गीय धरातल र सङ्गत सबै हिसाबमा नेता र कार्यकर्ताबीच ठूलो खाडल पर्नथालेको छ । जनता र पार्टीहरू बीचको दूरी बढ्नुको कारण पनि यही हो- तपाई आफूलाई सर्वज्ञाता र सर्वशक्तिमान ठान्नुहुन्छ, अरुका कुरा सुन्नै पर्दैन भन्ने मान्नुहुन्छ र जनतालाई 'टेकन फर ग्रान्टेड' ठान्नुहुन्छ ।
सबैजसो पार्टी गुटबन्दीले ग्रस्त छन् । गुटबन्दीका राजनीतिक आयाम छन्, यसका दार्शनिक-सांस्कृतिक आयाम पनि छन् । आफ्नो विचार र नेतृत्व क्षमतामा विश्वास नभएका नेताहरू गुटबन्दीमा रमाउँछन् । उनीहरूका लागि आलोचना अपि्रय, तर्क कर्कश र स्वाभिमानी नेता-कार्यकर्ताको पङ्क्ति प्रतिद्वन्द्वीजस्तो लाग्छन् । मानौं, उनीहरूले 'गाथगादी' ताकेर राज्यद्रोह गर्दैछन् । सधैभरि प्रशंसकहरूको घेरामा सीमित हुने नेतामा सिङ्गो समाजको भावनालाई 'ग्याल्भनाइज' गरेर नयाँ आकार दिने क्षमता हुँदैन ।
नयाँ नेपालमा पुरानै सांस्कृतिक मूल्यहरूको बर्चस्व र यसका अगाडि हाम्रा नयाँ नेपालका अभियन्ताहरूको आश्चर्यजनक समर्पण ज्यादै दुःखद छ । पुरानो संस्कृतिले राजालाई कानुनभन्दा माथि ठान्थ्यो र रैतीलाई निरीह आदेशपालक । पात्र फेरिए पनि आज हाम्रा अगुवाहरूको सांस्कृतिक चिन्तन त्यसभन्दा माथि उठ्नसकेको छैन । पुरानो संस्कृतिले समाजको स्तरीकरण गथ्र्यो- फैसला गर्ने एउटा स्तर, फैसला बोक्ने अर्को स्तर र फैसला भोग्ने अर्को स्तर । स्तरीकरणको यो विडम्बनापूर्ण शृङ्खला जारी नै छ । पुरानो संस्कृतिले महिलालाई यौन र मनोरञ्जनको वस्तु ठान्थ्यो । आज समाज महिलाका लागि झनै असुरक्षित बन्दै गएको छ । महिलालाई हेर्ने दृष्टिकोणमा तात्त्विक अन्तर आउनसकेको छैन । कागजी समानता र कानुनमा लेखिएको दण्ड पर्याप्त हुँदो रहेनछ । मान्छे आफैमा सबैथोक हो र उसको कर्म नै समाजको अग्रगतिको निणर्ायक विषय हो भन्ने दृष्टिकोण विकास गर्नुको साटो हिजो दैवी चमत्कारको भ्रममा पारिएका जनतालाई हामी आज पनि नेतृत्वको 'चमत्कार'को भ्रम दिइरहेका छौं र परामुखापेक्षी बनाइरहेका छौं । श्रमलाई घृणा गर्ने तर स्रोत वैध-अवैध जस्तोसुकै भए पनि सम्भ्रान्तहरूको पूजा गर्ने क्रम रोकिएको छैन । अध्ययन, तर्क, बहस र सत्यापनको बाटो निरुत्साहित छ । हिजोका नायकहरूको तीव्र विनिर्माण भइरहेको छ, तर नयाँ नायकको जन्म धेरै टाढा छ ।यो सांस्कृतिक अधःपतनमाथि सार्थक र प्रभावकारी हस्तक्षेप गर्न ढिलो भइसकेको छ ।
No comments:
Post a Comment