पेशा मेरो भगवान हो, पुजा गरिरहन्छु : नेपाली

जुम्लाको तलिउम गाउँ विकास समिति वडा नं. ४ का कन्न नेपाली जुत्ता सिलाएरै जीवका चलाई रहेका छन् । विगत ६ वर्षदेखि जुत्ता सिलाउँदै आएका नेपालीलाई घर खर्च चलाउन कुनै अप्ठ्यारो छैन । पहिले भारतमा बसेर जुत्ता सिलाउने काम थालेका उनी अहिले आफ्नै जिल्लामा फर्किएर काम गरिरहेका छन् ।
लामो समयदेखि जुत्ता सिलाउने पेशालाई अंगालेका उनले जुम्लामा बसेर जुत्ता सिलाउन लागेको ३ वर्ष भयो । ३ वर्षजति भारतमा जुत्ता सिलाउने काम गरेपछि उनलाई आफ्नै जिल्लामा फर्किन मन लाग्यो ।
सदरमुकाम जुम्लाबजारमा बसेर आफ्नो पेशा गरिरहेका उनलाई दिनमा ४ सय रुपैंयाँसम्म कमाउन त्यत्ति गाह्रो हुँदैन । “अर्कोको जुत्ता सिलाएरै मैले ५ जनाको परिवारको खर्च धानिरहेको छु” उनले भने, “पहिले भारतमा बसेर काम गरीन्थ्यो अहिले आफ्नो जिल्लामा गाउँ घरमा बसेर काम गरिरहेको छु । आम्दानी पनि राम्रै छ । एक वर्षमा कति कमाई हुन्छ लेखाजोखा राख्ने नगरेको बताउने नेपालीलाई एक दिनमा हुने कमाइ भने याद छ । नेपालीले जुत्ता सिलाएर आएको आम्दानीबाटै एक छोरा र एक छोरीलाई कनिका निशा उच्च माध्यमिक विद्यालयमा पढाईरहेका छन् । 
  मेहनत गरेर पौ कमाए पनि बचत गर्न नसकिएको उनको भनाइ छ । उनी भन्छन्, “ग्राहक आएको दिनमा त ५ सय रुपैंयाँसम्म कमाई हुन्छ । ग्राहक कम भएमा ३ सय रुपैंयाँसम्म त टुटेको छैन । तर आम्दानी जति छोरा छोरीको पढाइ, लुगाफाटो र खाना खर्चमा सकिन्छ ।” एउटै पेशामा आवद्ध भएपछि सजिलो हुने उनको भनाइ छ । उनी भन्छन्, “एउटै काम गर्दा त्यसैमा सिपालु भइदो रहेछ । नयाँ कुरा सिक्न जान्न पनि मन लाग्ने, र काम पनि अरुलाइ मन पार्ने गरि गर्न सकिँदो रहेछ । त्यसपछि त काम पनि राम्रो दाम पनि राम्रो । अरुसँग हाथ डास्नु (हात थाप्नु) पनि पर्दैन ।”
आफू एक्लैले काम गर्दा अलि असजिलो मान्ने गरेका नेपालीलाई दुःख सुख जे जस्तो भए पनि गाह्रो नमानि यही पेशामा लागि रहने मन छ । आफैले पढ्न पाएको भए अझ राम्रोसँग काम गर्थैं भन्ने लागेको छ नेपालीलाई ।
उनी भन्छन्, “पढ्न पाएको भए यही कामलाई अझ राम्रोसँग गर्थे होला । नयाँ सीप र तरिका जान्न पनि सजिलो हुनेरहेछ पढेको भए । तर छोरा छोरीलाई भने उनीहरुले पढेसम्म पढाउँछु ।”२ वटा छोरा, एक छोरी, श्रीमति र आफु सहित पाँच जनाको परिवारलाई दैनिक गुजारा गर्न र सानो तिनो समस्या पर्दा समेत सजिलै खर्च टारेको यो पेशा आँखा देखुञ्जेल तथा हात चलुन्जेल गर्ने विचारमा छन् नेपाली ।
source:-नौरते नेपाली / ओएनएस

No comments:

Post a Comment