दलित योद्धाको सम्मानधेरैले इतिहास बिर्सन्छन् । इतिहासबाट पाठ नसिक्दा
अगाडि बढ्न नसकेका उदाहरण धेरै भेटिन्छन् । अझ सामाजिक इतिहास हेर्दा
मुलकमा राजनीतिक घटनाको सेरोफेरो घुमिरहेकाले अन्य पक्ष ओझेलमा छन्
।सामाजिक आन्दोलनको साङ्गोपाङ्ग केलाउने जमर्को अझै धिमा गतिमा छ । अझ
त्यसमा पनि थोरैको मात्र ध्यान जान्छ, कथित दलित समुदाय, तिनका संघर्ष र
बलिदानीका इति वृतान्तमा । तर नेपाली दलित आन्दोलन सोचेजस्तो कमजोर रहेनछ ।
राणाकालमै सुरु भएको छुवाछूतविरोधी, जातीय विभेदविरुद्धका आन्दोलन
विस्तारै सामाजिक स्वरूप ग्रहण गर्दै यहाँ आइपुगेको हो ।त्यस क्रममा धेरैले
आन्दोलनको नेतृत्वमा जीवनका अमूल्य समयको बलिदान गरे । नयाँ पुस्ताले
तिनको सम्मान गर्नुपर्छ । तिनीहरूबाट सिक्नु पर्छ र इतिहासलाई साक्षी राखेर
अघि बढ्नुपर्छ । हालै ओमप्रकाश भिकेलले लेख्नुभएको नेपाली दलित आन्दोलनका
धरोहर मोहनलाल कपालीको जीवनी बजारमा आएको छ । दलित गैरसरकारी संस्था
महासंघ/दलित सशक्तीकरण परियोजनाले १९८० मा जन्मनुभएका योद्धालाई परिचयमा
ल्याएको छ । कपाली दलितका मात्र होइनन्, जातीय विभेदविरुद्ध संघर्षमा सहमत
हुने सबै
तह र तप्काका नेता हुन्, उनको संघर्षशील जीवनीले यसै भन्छ ।
कीर्तिपुरमा जन्मी हुर्के पनि अन्य दलितकै जस्तो उनको पनि आर्थिक अभाव
उस्तै थियो । त्यही आर्थिक अभाव, छुवाछूतको विभेदकै कारण उनी लोहाजस्तो
दरिलो बने, अथक संघर्षशील व्यक्तित्व बने ।कपालीको जीवनीले सग्लो एक
व्यक्तिको जीवन होइन, तत्कालीन अवस्थाको सामाजिक परिवेश र जातीय उत्पीडन
तथा संघर्षको कथा उजागर गरेको छ । उनको जीवनीमा रोचक प्रसँग आएका छन् ।
शासकको कमलो र कठोर हृदय पाठकसम्म नजिकिएका छन् । कसरी उनले फुटबल खेल,
नाटक, सिनेमा हल, राजनीतिक संगठनलाई समेत जातीय विभेदविरोधी मञ्चका रूपमा
प्रयोग गरे भन्ने नयाँ पुस्ताका लागि जान्नु अनिवार्य छ । सायद यसैलाई भन्न
सक्छौं, 'उद्देश्य प्राप्तिका लागि सबै मोर्चा र मञ्चहरूको प्रयोग ।' २००९
सालतिर चारखालस्थित अड्डामा गरिएको बिद्रोह, पशुपतिनाथमा भएको बिद्रोह वीर
अस्पतालमा भएको बिद्रोह के यी चानचुने थिए ? नुवाकोटमा कपालीले जस्तै
आफ्नै पार्टीको शीर्षस्थ नेताको भोज त्याग्न सक्ने आँट अहिलेका राजनीतिक
दलमा सहभागी दलित नेतासँग होला ?कपालीको जीवन सामान्य व्यक्तिका लागि पनि
प्रेरणादायक र रोमाञ्चक छ । अझ सामाजिक कार्यकर्ता हौं भन्नेहरूका लागि त
एक प्रकारले पाठशाला नै हो । तर पनि लेखनका ढंगले केही समस्या पुस्तकमा
खडि्कएका छन् । भिके जीवनी लेखक होइनन्, भन्ने ठहर गर्न सकिन्छ । ज्यादै
संक्षिप्तमा पुस्तक आएको छ । यस प्रकारको लेखन, प्रस्तुति र संक्षिप्तताले
पाठकको रुची घटाउने सम्भावना रहन्छ ।
-साभार :- कान्तिपुर / खिम घले
No comments:
Post a Comment