निर्वाचनले छोएन बाजुरेली दलितलाई

बाजुरा: बाह्रबिस गाविस-५ का ४५ वर्षीय कम्पनी नेपालीलाई दोस्रो संविधानसभा निर्वाचनप्रति कुनै चासो छैन। बिहानबेलुकीको छाक टार्नकै लागि उनको पूरा दिन ज्यालामजदुरीमा बित्छ।कम्पनीलाई जनताको नयाँ संविधान बनाउन संविधानसभा निर्वाचनमा सहभागी भई आफ्ना प्रतिनिधि चुन्नुपर्छ भन्ने ज्ञानसमेत छैन। ‘निर्वाचनको विषयमा मतलब राखेर हाम्रो भाँडो नभरिनेरहेछ’, उनी भन्छन्, ‘यस्ता चुनाउ धेरै देखियो र सुनियो, देशमा केही भएन, मजदुरी गर्न छाडेर नेताको पछि लागे हाम्रा बालबच्चा भोकै मर्छन्।’
कम्पनी प्रतिनिधिपात्र हुन्। जिल्लाको कुल जनसंख्याको ३५ प्रतिशत हिस्सा ओगट्ने बाजुराका धेरै दलित समुदायलाई संविधानसभा निर्वाचनले छोएको छैन। ती समुदायसम्म भोट माग्न अहिलेसम्म उम्मेदवार पनि
पुगेका छैनन्।निरक्षर समुदायको बस्तीमा मतदाता शिक्षाको अभियानसमेत पुर्‍याइएको छैन। यसैका कारण निर्वाचनको विषयमा ज्ञानको अभावमा देशका अन्य क्षेत्रमा चुनाउको सरगर्मी बढे पनि यहाँका दलितबस्ती सुनसान छन्।बाह्रबिसका सामाजिक कार्यकर्ता भुवाने चँदाराले सबैको बेवास्ताको सिकारका कारण चुनाउप्रति दलित समुदायमा वितृष्णा जन्मेको बताए। ‘२०४६ सालदेखि मतदान गर्दै आयौं, जितेर जानेले हाम्रा लागि खोइ के गरे?’ प्रश्न गर्दै उनले भने, ‘२०६४ सालमा पनि संविधान बनाउन भनेर भोट दिएकै हो, न संविधान बन्यो न हामीजस्ता दलितको अधिकार सुनिश्चित भयो।’
भुवानेले आफूहरूको भोट पाएर जित्नेको मात्र जिन्दगी सुध्रिएको तर आफूजस्ता दलितको अवस्थाका विषयमा कुनै नेताले चासो नदिएको गुनासो गरे। बाजुरा देशकै सबैभन्दा बढी गरिब भएको जिल्ला हो। ६४ प्रतिशत जिल्लावासी गरिबीको रेखामुनि छन्। अधिकांश गरिबलाई चुनाउभन्दा कामको चिन्ता छ। ‘चुनाउ कहिले हुँदैछ, हामीलाई थाहा छैन’, काँडाकी ७० वर्षीया खन्टी नेपालीले भनिन्, ‘अरूलाई धनी बनाउन हामीले किन भोट दिनु?’
दलित अधिकारकर्मी वसन्त विक विगतमा अनेक आश्वासन दिएर भोट मागी जितेका नेताहरूले धोका दिएका कारण संविधानसभाजस्तो महत्त्वपूर्ण निर्वाचनमा सहभागी भएर मतदान गर्नेमा यस क्षेत्रका दलित उदासीन बनेको बताउँछन्।साभार :-annapost.

No comments:

Post a Comment