दलित समुदाय बीचको आपसी विभेदको अन्त्य हुन पनि निकै जरुरी

मुलुकका थुपै्र समस्या मध्ये जातिय विभेद पनि एक हो । समाजमा अझै पनि जातिय विभेद कायमै छ । जातिय विभेदका घटनाले कुनै कुनै समयमा जटिल मोड समेत लिने गरेको छ । कथित उपल्लो जातिले कथित तल्लो जातका व्यक्तिमाथि विभेद गर्दा यस्ता समस्या हुने गरेका छन् । राज्यले जातिय विभेद गर्नेलाई कानूनी कारवाही गर्ने व्यवस्था गरेपनि जातिय विभेदका घटनामा कमि आउन सकेको छैन ।

 २०६३ साल जेठ २१ गते पुर्नस्थापित संसदले नेपाललाई छुवाछुत मुक्त राष्ट्रको रुपमा घोषणा गरेको थियो । सोही वर्षबाट नेपालमा जेठ २१ गते जातिय विभेद उन्मुलन दिवस मनाउन थालिएको हो । हरेक वर्ष आयोजना हुने यो दिवसमा सबै राजनीतिक दलले विभेद अन्त्यको प्रतिवद्धता समेत व्यक्त गर्ने गरेका छन् । तर त्यो प्रतिवद्धता व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । कतिपय घटनामा त राजनीतिक दलका नेता कार्यकर्ताहरुकै संलग्न रहने समेत पाईन्छ । ती
व्यक्तिलाई न त राजनीतिक दलले नै कारवाही गरेका छन् न त राज्यले नै कारवाही गरेको छ । 
हुन त जातिय विभेद नेपालमा मात्रै हैन । अन्य मुलुकमा पनि यो समस्या छ । विभिन्न मुलुकमा जातिय विभेदका घटना हुने गरेका छन् । जातिय विभेद विरुद्धको आन्दोलन पनि लामो समयदेखि जारी छ । संसारका विभिन्न मुलुकमा विभिन्न ढंगले जातिय विभेद विरुद्धको आन्दोलन चलिरहेको छ । हाम्रो देशमा पनि सरकारी र गैरसरकारी तवरबाट जातिय विभेद विरुद्धको आन्दोलन जारी छ । नेपालमा सरकारी भन्दा पनि गैरसरकारी स्तरबाट जातिय विभेद विरुद्धका अभियान सशक्त रुपमा अघि बढेका छन् । तमाम् संघसंस्थाहरुले जातिय विभेद विरुद्ध जनचेतनामूलक अभियान जारी राखेका छन् । ति अभियानमा केही गैर दलित समुदायका व्यक्तिको पनि सहभागिता रहेको पाईन्छ । तर यत्तिले मात्रै जातिय विभेद अन्त्य हुने देखिदैन । यसका लागि समाजका सबै तह र तप्काका व्यक्तिहरुले जातिय विभेदको अभियानमा साथ र समर्थन दिनुपर्छ । एउटा जातिले अर्को जातिका व्यक्तिलाई विभेद होईन सम्मान गर्नुपर्छ भन्ने भावनाको विकास हुन जरुरी छ । 
जातिय विभेद गैर दलित र दलित बिच मात्रै हैन । दलित भित्रै पनि जातिय विभेद छ । दलित भित्रै पनि एउटा जातिले अर्को जातिका व्यक्तिलाई अछुतको व्यवहार गर्ने गरेको पाईन्छ । यो कुरा बेला बेलामा उठ्ने गरेको छ । तर यसले त्यत्ति महत्व पाउन सक्दैन । किनकी दलित र गैर दलित बीच जातिय विभेद हुुनु हुँदैन भन्ने सोच राख्ने सबैले दलित समुदाय बीच हुने विभेदको अन्त्यका बारेमा समेत बोल्नुपर्छ । कुनै पनि सकारात्मक कुराको सुरुवात अरुबाट होईन आफैबाट गर्नुपर्छ । दलित समुदाय बीचको विभेद अन्त्य भयो भने त्यसले दलित र गैरदलित बीचको विभेद अन्त्य गर्नमा मद्दत पु¥याउन सक्छ । पछिल्लो समयमा विभेद केही हदसम्म कम हुँदै गएको महशुस पनि गर्न सकिन्छ । केही अघिका वर्ष भन्दा हिजो आज विभेद हट्दै गएको छ । तर यो नै सफलता भने होईन । यसलाई पूर्ण रुपमा उन्मुलन गर्न अझै धेरै संघर्ष बाँकी नै छ । यसका लागि दलित समुदाय बीचको आपसी विभेदको अन्त्य हुन पनि निकै जरुरी  छ । अरुलाई मात्रै सुधार्न खोज्ने तर आफै भित्रको समस्यालाई सुधार्न नखोज्ने हो भने जातिय विभेद उन्मुलनको साटो झन बढ्ला कि ?
साभार :-paschimtoday/सम्पादकीय
 

No comments:

Post a Comment