एउटी दलित महिलाको सेवाको सम्मान गर्न नजान्ने समाज - त्रिभुवनचन्द्र वाग्ले


अमिता कपाली राजनेता कृष्णप्रसाद भट्टराई अर्थात् किशुनजीकी सहयोगी हुनुहुन्छ । किशुनजी अहिले सत्ता-चर्चामा हुनुहुन्न । राजनीतिको पदीय सम्भावना प्रायः समाप्त भएको छ उहाँको । किशुनजी स्वयं चर्चामा नभएपछि अमिता पनि चर्चामा हुने कुरै भएन । यसअघि अमिता भरखरै किशुनजीको सहयागी बन्न्ाुहुँदा उहाँहरूका बारेमा विभिन्न कोणबाट चर्चा परिचर्चा हुनेगरेका थिए-किशुनजीले अमितालाई विवाह गर्नुभयो, अमिताले छोरा पाइन्, किशुनजीको सम्पत्ती खान अमिताले उहाँसँग .... सम्बन्ध बढाइन्, उहाँहरूबीच यौन सामीप्य हुने गर्दछ आदि इत्यादि पत्रकारिताको मर्यादा र सीमाका कारण उल्लेखै गर्न नसकिने किसिमका सम्बन्धका बारेमा हल्ला चलेका थिए ।
अमिता कपाली धेरैले नचिनेको पात्र हुनसक्दछ तर अमिताले जस्तो आदर्श देखाउनु भएको छ त्यसको केही न केही कोणबाट सम्मान हुनसक्दछ । किशुनजी जस्तो धर्मकर्ममा निष्ठावान व्यक्तिले कपाली अमितालाई
आफ्नो भान्छादेखि राजनीतिक सहयोगी छान्नु के समाज परिवर्तनका लागि गर्नुभएको प्रयोग वा प्रेरणा हुन सक्दैन ? अथवा किशुनजी जस्तो वृद्धको सेवा गरेर लाउँलाउँ र खाउँखाउँको त्यो भरिलो जीवन खर्चने अमिताको निर्णय समाजसेवी मदर टेरेसा उन्मुख आदर्श हुन सक्दैन? किशुनजीको सहयोगी बन्दा अमितालाई थाहा थियो, किशुनजी सुराई, छाता र एउटा टिनको ट्याङ्का लिएर प्रधानमन्त्री निवासबाट बाहिरिनु भएको थियो । के सम्पत्तिकै लागि अमिताले किशुनजीको सेवालाई माध्यम बनाउनु भएको हो ? के एउटा सुझबुझपूर्ण महिलाले सम्पत्तिकै लागि आफूलाई खर्चिन सक्छिन् ? यदि होइन भने नेपाली समाजमा अमिताका सम्बन्धमा जुन अनर्गल हल्ल्ाा चलाइयो यो तमाम नेपाली महिलाविरुद्धको अपमान हो । सेवाभावमाथिको सत्तोसराप हो । नेपाली समाज कति अनुदार र क्षणिक हुँदै गएको छ भने जिन्दगीभर राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि लड्नुहुने किशुनजीले प्रतीकात्मक विद्रोहस्वरूप विवाह गर्नुभएन । राजनीतिक शास्त्र वा समाजशास्त्रका विद्यार्थीका लागि यो घटनाले कस्तो महत्त्व राख्दछ ? यो पक्षलाई चटक्क बिर्सेर नेपाली समाज बुढेसकालमा किशुनजीले अमिताको सहयोग लिनुलाई अतिरञ्जन गर्दछ । नेपाली समाज विवाह गरी छोरीलाई राजनीतिक प्रशिक्षण दिँदा गिरिजाबाबु र सुजाताको खनीखोद्रो गर्दछ । नातावाद र परिवारवादको आरोप लगाँउछ । मङ्गलादेवीजस्ता आन्दोलन र सङ्घर्षकी प्रतिमूर्तिलाई फगत गणेशमानकी श्रीमती मात्र भनेर चुनावमा हराउँछ । अनि विवाह पनि गर्दिन, परिवार पनि राख्दिन भन्ने किशुनजीलाई अमितासँग अमिला सम्बन्धको आरोप लगाउँछ । समग्रमा भन्नुपर्दा नेपाली समाज कम प्रगतिशील र बढी प्रतिक्रियावादी छ । अशिष्ट छ र क्षणिक छ ।
अमिताले सुन्दर शरीर र जब्बर उमेरलाई सम्पत्ति कमाउने माध्यम बनाएको भए किशुनजीभन्दा बलिष्ठ र सम्पन्न पुरुष नपाउने कुरै थिएन । किशुनजीको सेवा गरेर घरधन्दामा सीमित हुँदा अमिताले केही चर्चा र केही सम्मान पाउनुभयो होला तर केही न केही कुरा त गुमाउनुभएको होला । भारतका चर्चित अभिनेता अभिताभ बच्च्ानले एक प्रश्नमा भन्न्ाुभएको थियो-"मैले अभिनयबाट थुप्रै पाएँ तर सार्वजनिक जीवनको स्वतन्त्रता गुमाएँ..... ।" अमिताले किशुनजीको सेवा गर्दा केही गुमाएकोमा पश्चात्ताप पो छ कि ? किशुनजीपछिका अमिताका दिन, आमा हुने नारीको स्वाभाविक अभिलाषालाई मासेर अमिताले यो लोकमा आफूलाई शून्यशून्य गर्नुको महानतालाई सकारात्मक श्लेषणमा बुझ्न सकिदैन ? नेपाली समाज र समाजलाई पढाउने भनिएको -शिक्षक बिनाको शिक्षा) पत्रकारिताले ध्यान दिएको छ ? त्यसकारण व्यक्तिगत स्वभावका सानातिना आलोचनाबाहेक किशुनजीका लागि अमिताले आफूलाई समर्पित गर्नु उत्सर्गको दोस्रो अर्थ हुनसक्छ भन्ने यथार्थ स्वीकार गर्न हामी कति अनुदार छौँ ? समाजसेवा गर्नेहरूका लागि अमिताको अभियान प्रेरणा बन्न सक्दैन ? कतिपय उदाहरणबाट भन्ने हो भने नेपाली समाज अहिले पनि असभ्य चरण -बार्बारिज्म) मै रहेको छ । भन्नलाई सिभिलाइज्ड समाज भनिए पनि नेपालमा अहिले पनि दुःख पाएकी आइमाईलाई बोक्सी र लोग्ने मानिसलाई चोर भन्नका लागि कुनै प्रमाण जुटाउनुपर्दैन । महिला चाहे त्यो सामान्य होस्, कामकाजी वा राजनीति नेत्री उनीहरूलाई चरित्रसँग जोडेर आरोप लगाउन लाजै मान्दैन नेपाली समाज । राजनीति फाँटका शैलजा आचार्य, साहना प्रधान, विद्या भण्डारी, ओपुटेम्पु लामा, सुशीला स्वाँर कसलाई आरोप लगाएन नेपाली समाजले त्यसैले नेपाली समाज र मनोविज्ञान सम्य हुनसकेको छैन भन्नसकिन्छ ।
झण्डै १०-८ वर्षअघि गोरखापत्र दैनिकमा एउटा समाचार छापिएको थियो - "एक ८० वषर्ीय वृद्धले आफूभन्दा झण्डै ५० वर्ष कान्छीसँग बिहे गरे ।" त्यो घटना धेरैका लागि "मानव अभिरुचि" -हृयुमेन इन्टरेस्ट) को समाचार बनेको थियो । समाचारमा वृद्धले भनेका थिए-तातोपानी तताएर खानदिने मानिसका लागि विबाह गरेको हुँ । वृद्धको भनाइको गाम्भीर्य बुझ््नपट्ट िभन्दा उनलाई ८० वर्षको पात्तिएको बुढो भनेका थिए बुज्रुक भनिने पत्रकारहरूले पनि । बुढाबुढी र केटाकेटीको स्याहारसुसार गर्नु निकै गाह्रो काम हो । ठुलै सङ्ख्याका ज्येष्ठ नागरिकहरू विवाहलाई बुढेसकालको साथी मान्दछन् । अझै पनि नेपाली समाजमा श्रीमती गुमाएर "राँडो" भएर जीवन बिताउनुलाई सबभन्दा कष्टकर क्षण मानिन्छ । परिवारमा आएको विखण्डन, उत्पादनका तरिकामा आएको भिन्नता वा सामाजिक सुरक्षाको कमजोर प्रबन्ध रहेको नेपाली समाजमा ज्येष्ठ नागरिकका दिन कष्टकर हुँदैछन् । आफूलाई प्रतिष्ठित हुँ भन्नेका आमाबाहरू पशुपति वा देवघाटका वृद्धाश्रममा भेटिनु यसैको उदाहरण हो । जन्मदिने आमाबालाई वृद्धाश्रममा पठाएर कुकुरलाई गाडीमा राखेर वा मर्निङवाकमा डोर्‍याएर हिड्ने ढांेगीहरू प्रतिष्ठित कहलिंदासम्म अमिताले किशुनजीलाई गरेको सेवाको अवमूल्यन भइरहन्छ ।
अमिता राजनीतिक चेतना बोकेको परिवारकी सदस्य हुनुहुन्छ । नेपाली राजनीतिक तथा समाज परिवर्तनमा काठमाडौँका कपालीहरूको योगदान विशिष्ट प्रकारको छ । सहश्रनाथ कपाली, मोहनलाल कपाली, सिद्धिबहादुर खड्गी, द्रव्यमान कपाली, मोहनलाल वादीकार, रत्नकुमार कपाली, चन्द्रप्रसाद कपाली, हिरालाल कपाली, बेखानारायण कपाली, शिवप्रसाद कपाली, सिद्धिबहादुर कपाली, बेखानारायण कपाली, न्हुच्छेनारायण कपाली, नारायणप्रसाद कपाली, विच्छेब्रम्ह कपाली, मिठाइदेवी कपाली -विश्वकर्मा) त्यसका उदाहरण हुनुहुन्छ । २००४ सालमा सहस्रनाथ कपालीको नेतृत्वमा स्थापित टेलर युनियन र त्यसपछिको जातितोड मण्डल -२००७), निम्नसमाज सुधार सङ्घ -२००९) परिगणित नारी सङ्घ -२०१२)मार्फत नेपाली समाज रूपान्तरमा कपाली परिवारले योगदान दिएको छ । सामाजिक विद्रोहका लागि २०११ सालमा कपाली परिवारको नेतृत्वमा भएको पशुपतिको मन्दिर प्रवेश आन्दोलन नेपाली सामाजिक आन्दोलनको उज्ज्वल उदाहरण हो । यी सबै आन्दोलनमा मोहनलाल कपालीको प्रभावकारी उपस्थिति थियो । दलित छात्रावास -विजेश्वरी) को स्थापना र सञ्चालनमा उहाँको योगदान विशिष्ट छ । यस्ता मोहनलालकी छोरी अमिताले किशुनजीको सेवामा जीवनका यी उर्वर दिन खर्चनुमा राजनीतिक चेतना र दर्शनले काम गरिरहेको छ । प्रजातन्त्रका होनहार समर्थक, प्रजातन्त्रबाटै सबैको सम्मान र उन्नति हुन्छ भन्ने राजनीतिक दर्शनमा अडिग मोहनलाल कपालीकी छोरी अमितामा राजनीतिक चेतना छैन, केवल केही सुखसुविधाका लागि मात्र अमिताले किशुनजीको सहयोगी बन्नुभयो भनियो भने हामी एकपक्षीय हुनेछौं । अमिताले नेपाली राजनीतिका सन्तनेता किशुनजीलाई गर्नुभएको सेवाको सम्मान नहुनु भनेको सेवा गर्ने प्रवृत्तिको अवमूल्यन र महिलाप्रतिको अपमान हो ।
साभार :- गोर्खापत्र

No comments:

Post a Comment