अन्तरजातीय प्रेमविवाहका कारण “भूमिगत” चेलीको डायरी


अन्तरजातीय प्रेमविवाह गरेका विनीता दुवाडी र भीमबहादुर विश्वकर्मा विगत डेढ महिनादेखि राजधानीमा बस्दै आएका थिए । माइतीबाट असुरक्षाको अनुभूति भएपछि आफूहरू ‘भूमिगत’ रूपमा बसिरहेको बताउने विनीता आइतबार कलेजबाटै अपरहणमा परेकी छिन् । प्रहरीले उनको खोजी कार्य गरिरहेको छ । यसै सन्दर्भमा उनले आफ्नो प्रेम र विवाहबारे साउन १३ गते लेखेको डायरीको सम्पादित अंश :

७ असोज ०५२ मा धादिङको नलाङ–४, दुवाडी गाउँमा मेरो जन्म भएको हो । बुवा केशव दुवाडी र आमा गोमा दुवाडीकी म जेठी छोरी हुँ । घरकी जेठी छोरी भएकीले होला, परिवारबाट मायाको कमी महसुस गरिनँ । पारिवारिक स्नेहका कारण बाल्यकाल सुखमय नै रह्यो ।
मैले पाँच वर्षको उमेरमा विद्यालय जीवन सुर गरेँ । बाबा भन्नुहुन्थ्यो– म सानैदेखि अनुशासित र लगनशील स्वभावकी थिएँ । मेरो पढाइ राम्रो थियो । माध्यमिक शिक्षाका लागि घरबाट २ घन्टाको दूरीमा रहेको सिद्धेश्वर माविमा भर्ना भएँ । त्यहीँबाट प्रवेशिका परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेँ ।
हाम्रो समाजमा प्रथम श्रेणीमा उत्तीर्ण हुनु सौभाग्यसहित चुनौतीको कुरा थियो । योसँगै म र मेरो परिवारमा खुसीको सीमा नै रहेन । प्रवेशिका परीक्षा उत्तीर्णपश्चात् म फेरि उही सिद्धेश्वर उमाविमा पढ्न थालेँ । शिक्षा संकायमा ऐच्छिक अंग्रेजी विषयको अध्ययन गर्न थालेँ ।

म सानैदेखि चञ्चल स्वभावकी थिएँ । जोसँग पनि बोल्थँे, हास्थेँ । त्यही स्वभावले मसँग धेरैले मित्रताको हात बढाउँथे । म स्वीकार गर्थें । कतिपय केटासाथी प्रेमप्रस्ताव राख्थे, तर म स्वीकार गर्दिनथेँ । सोच्थेँ, अहिले प्रेम गर्ने वेला होइन, पढ्ने वेला हो । तर, मान्छेको मन हो, सधँै एकै हुँदो रहेनछ । प्रकृतिमा घामले दिनलाई, जुनले रातलाई, आकाशले धर्तीलाई अनि ढुंगाले माटोलाई गरेको माया देखेर हो या मेरो उमेरको परिणाम, मलाई माया भन्ने शब्द प्यारो लाग्न थाल्यो । मलाई लाग्न थाल्यो माया भन्ने नहँदो हो त संसारले यति लामो यात्रा तय गर्ने थिएन, पहिले नै ध्वस्त भइसक्थ्यो, यसको अस्तित्व नै ‘माया’ भन्ने शब्दको छायामा पर्छ भन्ने भावना पलाउन थाल्यो ।
त्यसैवेला काठमाडौं बसेर पढ्दै गरेका भीम विश्वकर्मासँग मेरो भेट भयो । उनीसँगको भेट अरूसँगको भन्दा फरक लाग्यो । उनीलाई भेट्दा आफ्नोपन महसुस गरेँ । केही समयको अन्तरालमै हामी एक–अर्काका लागि अभिन्न बन्यौँ । ममा उसको प्रेमिका मात्र नभई जीवनसँगिनी भएर जिउने भावना पैदा भइसकेको थियो ।
यसरी हाम्रो निकटता बढेको पत्तै नपाई झन्डै डेढ वर्ष भइसकेछ । त्यसवेलासम्म निर्बाध माया चलिरहेको हाम्रो यात्रामा त्यतिखेर बाधा भयो, जब मेरो परिवारले उनको र मेरो प्रेमसम्बन्धबारे थाहा पायो ।
समाजको कुप्रथा भनौँ या कुसंस्कार, एकले अर्कोलाई सानो र ठूलो जातको दर्जा दिन्छ । उनी (जो मेरा असल प्रेमी हुने) समाजले मेरो भन्दा सानो जात भनी वर्गीकृत गरेको जातिमा पर्छन् । यो कुरा मेरो परिवारलाई पच्ने कुरा भएन, पचेन । मेरो परिवार हाम्रो प्रेमसम्बन्धविरुद्ध खरो रूपमा उत्रियो । ‘उसलाई छोड्’ भन्दै परिवारबाट ममाथि धम्की बर्सिन थाल्यो । मेरो परिवारले मलाई ‘ऊ हामीभन्दा सानो जातको हो, ऊसँग नाता गाँस्नु भनेको हामी सानो हुनु हो, सम्बन्ध अगाडि बढाउँदै लाने हो भने हाम्रो इज्जत जान्छ’ आदि भने । हुन त मेरो समाजमा अरू परिवारको तुलनामा मेरो परिवार शिक्षित परिवारमा दर्ज थियो । तर, मेरै परिवारको यो तरिका मन परेन ।
म उनको मायामा एकोहोरिइसकेकी थिएँ । मैले उनलाई सानो जातको दखेकी थिइनँ । किनकि, उनी असल छन् । अनुशासित र मिहिनेती छन्, साथै मलाई साँचो माया गर्छन् । उनको माया, गुण र व्यवहारको प्रभावले होला, उनीविना बाँच्नै नसक्ने भएको थिएँ । उनको मायाकै कारण परिवारको धम्की र अमानवीय व्यवहार पचाउन थालेकी थिएँ । मलाई मेरै परिवारका सदस्यले ‘तँ ऊजस्तो सानो जातसँग जान्छेस् भने हामी तलाई मारिदिन्छौँ’ भनेरसमेत धम्की दिए । मलाई ‘विष खाएर मर’समेत भने । ‘आत्महत्या गर्’ भनेर घाँटीमा पासो लगाउन डोरीसमेत दिन्थे । कहिले ‘उसैलाई मारिदिन्छौँ’ भनेर धम्क्याउँथे ।
मलाई परिवारको धम्कीको वास्ता थिएन । परिवारको धम्कीले त हाम्रो माया झन् गहिरिँदै गयो । तर, यसले परिवार झनै जल्दै गयो । मसँग झनै कठोर हुँदै गयो । मलाई दिनहुँ मानसिक तनाव दिइनु सामान्यजस्तै भएको थियो । गाली सुन्नु मेरो दिनचर्या बनेको थियो । मैले कहिल्यै शान्तिसँग बस्न पाइनँ । परिवारको तीव्र दबाबका बाबजुद मेरो अडान यथावत् थियो, म उसलाई माया गरिरहेँ । अन्तत: परिवार मेरो विवाह अन्तै गरिदिने निचोडमा पुग्यो र कथित ठूलो जातसँग विवाहको तयारी गर्न थाल्यो । तर, त्यो कुरा मेरो इच्छा, भावना र अनुमतिविपरीत थियो । त्यसैले म जसलाई माया गर्थें, उसैसँग विवाह गर्ने निचोडमा पुगेँ ।
त्यसैले गत असार १६ गते दिउँसो १:०० बजे घरबाट भाग्न बाध्य भएँ । जुन मेरो परिवार र समाजको इच्छाविपरीत थियो । तर, आफूलाई माया गर्ने मायालुको साथ लागेर घरबाट निस्कँदा संसार जितेको महसुस गरेँ । मलाई थाहा थियो, मेरो परिवारले हाम्रो सम्बन्धलाई स्वीकार गर्दैन, त्यसैले म परिवार त्याग्न कस्सिएकी थिएँ । किनकि, मेरै परिवारले मलाई स्वतन्त्रता दिएन, आफ्नो सोचेन, बन्धक बनायो ।
मैले जेलबाट निस्किएको कैदीझैँ स्वतन्त्रता त महसुस गरेँ, तर परिवारले किन छाड्थ्यो र ? परिवारले हाम्रो खोजी गर्‍यो । हामीलाई भेट्न नसकेपछि मेरा दाजुहरूले भीमका आमा र सानो नाबालक भाइलाई बहिनी अपहरण गरेको आरोपमा प्रहरी हिरासतमा पुर्‍याए र जसरी हुन्छ, हाम्रो खोजी गर्न दबाब दिइयो । यसरी उनका भाइ र आमालाई प्रहरीले विनाकसुर हिरासतमा राखेपछि हामी असार १८ गते महानगरीय प्रहरी वृत्त बालाजु गयौँ । प्रहरी चौकीमा दुवैतर्फका मानिस आए । मलाई प्रहरीले सोधपुछ गर्‍यो । म आफ्नै खुसीले आएकी हुँ, कसैको दबाबमा आएकी होइन भनेर आफ्नो वृत्तान्त सुनाएँ । मैले प्रहरीसामु बयान दिए पनि मेरा दाजुहरूले ‘सानो जातसँग गएर हाम्रो इज्जत फालिस्’ भनेर प्रहरी चौकीभित्रै मलाई हातपात गरे । उनीहरूले बयान फेर्न दबाब दिए, तर मैले आफ्नो अडान नछाडेपछि दाजु लक्ष्मण दुवाडीले ‘तँ हाम्रा लागि मरिस्, विष खा’ भन्दै प्रहरी परिसरभित्रै विषको प्याकेट हातमा राखिदिए । मलाई दाजुहरूले पिट्नुका साथै सबैसामु घृणित अश्लील शब्दसमेत प्रयोग गरेर गाली गरे । मेरा आफन्तले पनि प्रयोग गर्न नमिल्ने शब्द मलाई गाली गर्न प्रयोग गरे । त्यस्तो व्यवहारले मभित्र भएको उनीहरूप्रतिको श्रद्धा हरायो ।
प्रहरी चौकीमा यति भएपछि असुरक्षाका बाबजुद म भीमका साथ फर्किएँ । मैले सोचेँ– कानुनी रूपमा सहमति भयो, अब त स्थिति सामान्य होला । तर, मेरो सोचाइविपरीत मेरा माइतीले भाडामा गुन्डा प्रयोग गरेर उनको परिवारलाई ‘जसरी पनि हामी केटा–केटीलाई मारिदिन्छौँ’ भनेर दिनहुँ दु:ख दिन थाले ।
त्यसपछि हामी फेरि भूमिगत जीवन बिताउन बाध्य भयौँ । मैले सुनेकी छु– ‘मलाई उसबाट खोसेर आफ्नै जातको केटासँग पठाइदिने रे । उपल्लो जातको केटाले मलाई लगेबापत चार लाख रुपैयाँ इनाम दिने सम्झौता भएको छ रे ।
म मेरा माइतीलाई भन्न चाहन्छु– बिन्ती यो मिलनलाई नछुटाइदिनुस् । म पैसामा मोलमोलाइ गरेर बजारमा बेचिने खेलौना होइन ।
मेरो मनमा आज निकै प्रश्न खेलिरहेका छन्– के मैले उसलाई माया गर्नु गल्ती हो ? के ऊ ‘सानो’ जात भएकैले मेरा माइती मेरो मोलमोलाई गर्दै बेच्न चाहन्छन् ? २१औँ शताब्दीको वैज्ञानिक युगमा पनि जातीय रूपमा यत्तिका समस्या झेल्नुपर्छ भने यसलाई के भन्ने ? यो देशमा दलितले गैरदलितसँग या गैरदलितले दलितसँग प्रेम गर्न पाउँदैनन् ? हामीलाई छुटाएर हाम्रो समाजले कस्तो सभ्यताको बाटो अँगाल्छ ?
मलाई त लाग्छ, अहँ कदापी अँगाल्दैन । मैले आज जे गरेँ, सही गरेँ । त्यसैले मेरो परिवारलाई आग्रह गर्न चाहन्छु– म जहाँ छु, जे गर्दै छु, यसमै खुसी छु, यही मेरो संसार हो । मेरो घर बिगार्ने प्रयासमा नलाग्नुस् । सक्नुहुन्छ भने मलाई छोरी र उनलाई ज्वाइँ स्वीकार गर्नुस् । सक्नुहुन्न भने यो मिलनलाई बिछोड गराउने प्रयासमा नलाग्नुस् ।


साभार :-  नयाँ पत्रिका दैनिक

No comments:

Post a Comment