१५ हजार ९ सय ५२ दलित विद्यार्थी लाई राज्यले उपलब्ध गराएको सेवासुविधा कसले खायो ?

बाजुरा, ०७० भदौं १६ - विकट क्षेत्रमा रहेका धेरैजसो विद्यालयहरुले जिल्ला शिक्षा कार्यालयबाट छात्रवृति रकम निकासा लिएर पनि सम्बन्धित विद्यार्थी तथा समूदायमा वितरण गरेका छैनन् ।विद्यालयहरुले छात्रवृति रकम वितरण गर्नुपर्ने विद्यार्थीहरुको नामावली विवरण पेश गरेका आधारमा कार्यालयले गत माघ र जेठ महिनामै छात्रवृत्ति रकम निकासा गरेको थियो । कार्यालयले दुई चरणमा छात्रवृति रकम निकासा पठाइएको भएपनि धेरैजसो विद्यालयले उक्त रकम बाँडेनन् ।

स्वामीकात्तिक उच्च मावि वाई, कर्णाली प्रावि छापु, देवलकोट मावि गोत्री, कैलाश मावि महती, सम्भुसुनन्दा मावि जुकोट,सम्भुसुनन्दा
प्रावि जुकु, सुर्योदय प्रावि जुकोट, त्रिभुवनेश्वरी उच्च मावि छतारा लगायतका विद्यालयहरुले छात्रवृत्ति रकम वितरण नगरेको पुष्टि भइसकेको कार्यालयका विद्यालय निरीक्षक नरेन्द्रबहादुर खातीले बताए ।दलित, छात्रा, अपाङ्ग, द्वन्द्व पीडित लगायतका शीर्षकमा विद्यालयमा छात्रवृत्ति रकम निकासा गर्दै आएको छ । यी शीर्षक अर्न्तगत पर्ने कक्षा १ देखि १० सम्मका सबै विद्यार्थीहरुले छात्रवृत्ति रकम पाउने प्रावधान छ । गत शैक्षिक सत्रमा ९ हजार ३ सय ७० छात्रा, १५ हजार ९ सय ५२ दलित र २ हजार ६ सय ३ विद्यार्थीका लागि कार्यालयले छात्रवृति रकम निकासा गरेको बताएको छ ।

निकासा आएर पनि रकम वितरण नगरेपछि विद्यार्थीहरु भने मर्कामा परेका छन् । 'राज्यले उपलब्ध गराएको सेवासुविधाबाट बालबालिकालाई वञ्चित गराएर विद्यालयका जिम्मेवार पदाधिकारीहरुले गम्भीर गल्ती गरेको छन्', विद्यालय निरीक्षक खातीले भने । कार्यालयले सम्बन्धित विद्यार्थीको नाममा तोकेरै छात्रवृत्ति रकम निकासा गर्दै आएको कार्यालयले जनाएको छ । 

गत शैक्षिक सत्रमा जिशिकाले जिल्लाभरका विद्यालयमा गरी १ करोड ५४ लाख रुपैयाँ छात्रवृत्ति रकम निकासा गरेको कार्यालयका उपसचिव कृष्ण कुँवरले बताए । 'धेरैजसो विद्यालयले छात्रवृत्ति रकम वितरण नै नगरेको विषयलाई गम्भीर रुपमा लिएका छौ',उपसचिव कुँवरले भने ।

छात्रवृत्ति वितरण नगर्ने विद्यालयलाई शिक्षा नियमावली अनुसार कडा कारवाही गर्ने कुँवरले बताए । शिक्षा विभागको निर्देशन अनुसार छात्रवृत्ति सप्ताह गरेर जिल्लाभर एकै दिन छात्रवृति रकम वितरण गर्नुपर्ने परिपत्र रहेको जिशिकाका कर्मचारी बताउँछन् ।

No comments:

Post a Comment