युवा पुस्ताले पुख्र्यौली पेसालाई नअँगाल्दा आरन पेसा संकटमा


ललितपुर, कार्तिक ५ - 
विश्वकर्माको पुख्र्यौली पेसा पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ । युवा पुस्ताले पुख्र्यौली पेसालाई नअँगाल्दा र बजारमा आधुनिक डिजाइनका फलामका तयारी सामान आउन थालेपछि आरन पेसा लोप हुने अवस्थामा पुगेको हो । 

विश्वकर्मा समाजले आफ्नो पेसा संकटमा परेको भन्दै आरन पेसाको विकल्प खोजिरहेका बेला ललितपुर लामाटार ३ का मनबहादुर विकले आफनो पुख्र्यौली पेसा जोगाउनुपर्ने बताए । 'बाबु-बाजेले यही पेसा गरे, तर अहिलेको युवा पुस्ताले यो पेसालाई जोगाउन चासो दिएको देखिँदैन, पुख्र्यौली पेसा संकटमा परेको देख्दा दुःख लाग्छ,' उनले भने । 
बजारमा आधुनिक डिजाइनका राम्रा र सस्तो मूल्यका फलामका भाँडाकुँडा पाइन थालेपछि आरन गएर भाँडाकुँडा बनाउने चलन घट्दो छ । पहिला हँसिया, कुटो, कोदालो लगायत फलामका हतियार र भाँडाकुँडा बनाएर दैनिक चारदेखि पाँच सय सम्मको आम्दानी हुने गरेको विकले बताए । केही वर्षअघि मात्रै बालीघरे प्रथामै वर्षभरि काम गरेर आउने दुई/चार पाथी अन्नले गुजारा चलाउन गाह्रो भएकाले आफूले बालीघरे प्रथा त्यागेको विकले बताए ।' पहिलेपहिले त अन्नको मूल्य राम्रै थियो, बालीघर प्रथामै काम गर्न गाह्रोे थिएन, तर अहिले वर्षको पाँच/सात पाथी अन्नले केही हुँदैन, त्यसैले बालीघरे प्रथा त्यागिदिएँ,' उनले भने ।  

यस्तै, कुलबहादुर विश्वकर्माले नयाँ पुस्ताले पुख्र्यौली पेसालाई निरन्तरता नदिनु र पेसा धान्दै आएका बुढ्यौलीहरू घन हान्न नसक्ने भएकै कारण आरन पेसा लोप हुने अवस्थामा पुगेको बताए । 'छोराछोरी गर्दैनन्, हामीले सकिँदैन,' उनले भने । 

सरकारले वन संरक्षणका लागि जंगलमा रूख काट्न प्रतिबन्ध लगाएपछि आरन पेसा अँगाल्नेहरू मर्कामा छन् । जंगलमा गएर कोइला पोल्न पाइँदैन । बजारबाट किनेको कोइलाले एउटा हँसिया पनि बनाउन नसकिने आरन पेसा गर्दै आएका पूर्ण विश्वकर्माले बताए । 'आरन पेसा नै गरौं भन्दा कोइला छैन, कहाँबाट ल्याउने कोइला ?' उनले भने । कोइला बालेर फलाम तताउन समेत गाह्रो भएकोले आरन पेसा संकटमा पुगेको विश्वकर्माले बताए । 

अहिले वनमा गएर गोल पोल्न पाइँदैन । एक बोरा कोइलाको बजारमा मूल्य ३ हजारदेखि चार हजारसम्म पर्छ । एक बोरा कोइलाले १०-२० वटा सम्म भाँडा बन्छ । आरनमा फलामसहित एउटा  हँसिया बनाएको एक सय पर्छ । एउटा हँसिया बनाउन बढीमा पाँच किलो कोइला लाग्छ । वनमा गएर गोल पोल्न नपाएपछि चर्कंदो गोलको अभावमा बालीघरे प्रथा धान्दै आएका विश्वकर्माहरूले विस्तारै यो पेसा छाड्दै छन् । 

उनीहरूले विकल्पमा कोइलाको खपत गर्न सक्षम छैनन् । सरकारले गोलको उत्पादनको लागि विश्वकर्माहरूलाई कुनै राहत तथा सहयोगको सोच समेत नबनाएकाले आफहरूको पेसा संकटमा परेको मीनबहादुर विकले बताए । 

बालीघरे अर्थात् वर्षभरि घन ठोकेबापत परिवारका सदस्य संख्या बराबरको पाथीको दरले अन्नबाली उठाउन विषयको घरमा जाँदा समेत दुव्र्यवहार खेप्नु परेको उनले बताए । 'हातमा ठेला उठाएर गरेको कामको अन्नबाली लिन जाँदा समेत गाली खानुपर्छ नगर्ने यो पेसा,' उनले भने । पुस-माघको जाडो होस् या चैत-वैशाखको घाम, जुनसुकै समयमा पनि भाँडाकँुडा लिएर 'विष्ट' आएपछि बिहानदेखि बेलुकासम्म घामपानी नभनी फलामका भाडाकुँडा पिटेपछि गाली खानुको पीडा उनले सुनाए । 
source:ekantipur 

No comments:

Post a Comment