दलित भएको आरोपमा परिवारहरूले बुहारीलाई घर निकाला

जाजरकोट,०७० असोज ३० गते । दलित भएको आरोपमा परिवारहरूले घर निकाला गरेपछि पुन्मा गाविस-२ मिथीग्राकी १५ वर्षीया पार्वती विक छ महिनादेखि बिचल्लीमा पर्दै आएकी छन् । नौ महिना अघि ०६९ माघ १ गते कोर्ताङ्ग गाविस-५ मुलपानीकी १५ वर्षीया पार्वतीलाई पुन्मा गाविस-२ मिथीग्राका २१ वर्षीय प्रेमबहादुर थापाले विवाह गरेका थिए । विवाह गरी घरमा ल्याइएकी बालिका पार्वतीलाई प्रेमबहादुर परिवारले सोधपुछ गर्दा उनले आफ्नो जात कामी भएको बताएपछि उनका पति प्रेमबहादुर थापा र उनका घरपरिवारले गाउँमा आफूहरूको अपमान हुने भन्दै घर छोड्न धम्की दिँदै आएका थिए ।
पति प्रेमबहादुर थापा र उनका आफ्न्त परिवारले घर छोड्न लगातार कुटपिट गर्ने, धम्की दिने र गाउँलेहरूले पनि सहारा नदिएपछि पीडित बालिका ०६९ चैत ४ गते घर छोड्न बाध्य भएको पीडितले बताइन् । घर निकालापछि पीडित आफ्नो माईती घर कोर्ताङ्ग गाविस-५ मुलपानीमा आश्रय लिएर बस्दै आएकी छन् । माईती घरमा पनि आमा बाबु कोही नभएकाले उनलाई दैनिक जीवन निर्वाहमा कठिनाई पर्दै आएको कोर्ताङ्ग गाविस-२ निवासी जिल्ला विकास समितिका पूर्व सदस्य किर्तीबहादुर शाही बताउँछन् ।

आफूलाई दलित भन्दै घर निकाला गर्ने पति प्रेमबहादुर थापा र उनका परिवारलाई कारबाहीको माग गर्दै पीडितले ०६९ चैत ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पनि उनीहरूलाई कारबाही गरिने मौखिक आश्वासन पाए पनि हालसम्म उनीहरूलाई कुनै कारबाही भएको छैन ।विवाहित दलित बालिकालाई दलित भएको भन्दै अपमान गर्दै घर निकाला गर्ने पति प्रेमबहादुर थापा र उनको अन्य घरपरिवारहरू गाउँमा नभई भारत तर्फगएकाले कारबाहीमा केही ढिलाई भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

No comments:

Post a Comment