छुवाछुत तथा जातीय विभेदका सन्दर्भमा खोजपत्रकारिता तालिम सम्पन्न

काठमाडौं, ८ असोज २०७० । जातीय छुवाछुत तथा विभेदका घटनाहरुको अनुसन्धानमूलक खोज पत्रकारिता गर्नका लागि दलित गैर सरकारी संस्था महासंघको आयोजनामा दलित मानवअधिकार र जनउत्थान प्रतिष्ठानको सहयोगमा नगरकोटस्थित होटल चौतारीमा तीन दिने अनुसन्धानमूलक पत्रकारिता तालिम सम्पन्न भएको छ ।
तालिममा कान्तिपुर दैनिक, काठमाडौं पोष्ठ, एभिन्युज, गोरखापत्र, हिमालयन टिभीलगायत राष्ट्रिय सञ्चारमाध्यम  र मोफसल गरी २२ जना पत्रकारहरुको सहभागिता रहेको थियो । असोज ५ गतेबाट शुरु भएको तालिम ७ गते औपचारिक कार्यक्रम गरी समापन भएको थियो ।
पत्रकार महासंघका अध्यक्ष शिव गाउँले मुख्य प्रशिक्षक रही खोज पत्रकारिताका विषयमा प्रशिक्षण दिनुभएको थियो भने अतिथि प्रशिक्षक रुपमा यामबहादुर किसान, जेवी विश्वकर्मा, गजाधर सुनार र हिरा विश्वकर्मा रहनुभएको थियो ।
सो तालिममा पत्रकारहरुलाई जातीय छुवाछुत र विभेदका सम्बन्धमा जानकारी गराउन हिरा विश्वकर्माले नेपालको दलित आन्दोलन र राजनीतिक सहभागिता (इतिहास र वर्तमान अवस्था), यामबहादुर किसानले दलित समुदायका समसामयिक सवालहरु र संवैधानिक तथा कानुनी पक्षहरु, जेवी विश्वकर्माले नेपाली सञ्चारमाध्यममा दलित समुदायको सहभागिता र महासंघका अध्यक्ष गजाधर सुनारले महासंघका गतिविधि र आगामी कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
औपचारिक कार्यक्रमको आयोजना गरी समापन गरिएको सो खोजपूर्ण पत्रकारिता तालिमका सहभागी पत्रकारहरुले तालिम उपलब्धिपूर्ण भएको र जातीय छुवाछुत एवम् विभेदका घटनाहरुको विषयमा जानकारी भएकोले आगामी दिनहरुमा यी विषयलाई प्राथमिकता साथ रिपोर्टिंग गर्ने प्रतिबद्धता जनाएका थिए । सो अवसरमा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।
साभार :- dnfnepal

No comments:

Post a Comment