कञ्चनपुरका दलित समुदाय विकल्पको खोजी गर्न थाले

कञ्चनपुर, ३० असोज ।– पुख्र्यौली पेसाबाट जीविका चलाउन गाह्रो हुन थालेपछि कञ्चनपुरका दलित समुदाय विकल्पको खोजी गर्न थालेका छन् । दलितले गर्दै आएको पुख्र्यौली पेसामा गैरदलित समुदायको प्रवेश भएपछि प्रतिस्पर्धा गर्न नसक्दा दलितहरु पेसाबाट विमुख हुन थालेका हुन् । पुख्र्यौली पेसामा पर्याप्त लगानी गरी समयसापेक्ष रुपमा आधुनिकीकरण गर्न नसक्दा नै उनीहरुको पेसा सङ्कटमा परेको हो ।
गैरदलित समुदाय आर्थिक रुपमा सक्षम भएका कारण दलितले प्रतिस्पर्धा गर्न नसकेको नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घका अध्यक्ष दिलराम टमटाले बताउनुभयो । गैरदलित समुदायको सबैभन्दा बढी आकर्षण सिलाइ कार्यमा रहेको उहाँले बताउनुभयो ।
महेन्द्रनगरमा रहेको डिसेन्ट सिलाइ सेन्टरका सञ्चालक डबलबहादुर सिलवाल ‘दलितको परम्परागत पेसामा अतिक्रमण भएकाले दलितले कसरी जीविका चलाउने भन्ने सवाल उत्पन्न भएको बताउनुहुन्छ ।आत्मनिर्भर बनाउने भन्दै घरेलु तथा साना उद्योग कार्यालय, सीप विकास तालिम केन्द्र र गैससले पुख्र्यौली पेसा भएका दलितको पेसालाई आधुनिकीकरण गर्नुको बदला अन्य समुदायलाई सीप सिकाएर दलितको रोजीरोटी खोसेको आरोप दलित समुदायको छ । 
राष्ट्रिय हलिया मुक्ति समाजका जिल्ला सहजकर्ता तारा श्रीपाइली तालिम दिने संस्थाले दलितलाई प्राथमिकतामा राखेर मात्रै कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै भन्नुहुन्छ–“पुख्र्यौली सीप भएका व्यक्तिलाई पेसाबाट विस्थापित गरी सीप सिकाउनुको अर्थ छैन ।” 
दमाई समुदायको सिलाइको कार्यबाहेक विश्वकर्माको आरन, सार्कीको जुत्ता सिलाउने, वादीको माटोका भाँडाकँुडा बनाउने कामसमेत सङ्कटमा परेको छ । दमाई समुदायले शुभकार्यमा बजाउँदै आएको बाजा बजाउने कार्यसमेत अतिक्रमणको चपेटामा परेको छ । पेसाको अतिक्रमणसँगै संस्कृतिसँग जोडिएका छलिया, हुड्के नृत्यसमेत लोप हुने सङ्घारमा पुगेका छन् ।
विभिन्न स्वदेशी तथा विदेशी उत्पादनका बिँडी, चुरोटका कारण वादी समुदायले बनाउँदै आएको माटोका सुल्पा, हुक्का विस्थापनमा परेपछि उनीहरुको पेसा खोसिएको छ । पेसा विमुख भएपछि वादी समुदायसँग मागेर खानु सिवाय कुनै विकल्प बाँकी नरहेको गुन्यालफाँटाका रामबहादुर कुमाल बताउनुहुन्छ ।
राष्ट्रिय दलित नेटवर्कका महासचिव मोहन ओड दलितले अँगाल्दै आएको पेसा अन्य समुदायले अँगाल्नु सकारात्मक भएको तर दलितलाई विस्थापनमा पारेर अन्यलाई पेसामा संलग्न गराउने सरकारी नीति भने नकारात्मक भएको बताउनुहुन्छ । सरकारले सीप भएका दलितलाई पलायन हुनबाट रोक्न सरकारी योजाना ल्याइनुपर्ने उहाँको भनाइ छ । रासस

No comments:

Post a Comment