|
लेखक :-सरोजदिलु विश्वकर्मा |
वर्षायाम भरी नदेखिने काला काकाकुल र वकुल्लाहरु माघ लागेपछि मधेशका
हरियालीमा चर्न झरेझैं दलित मुक्तिकर्मीहरु भनाउँदाहरु त्यसैगरी पिशावको
न्यानो छउन्जेल आफ्नै कुना-कोठरीमा मस्त हुन्छन् । अनि जव आन्दोलनको
परिवृतमा हरिया डलरको गन्ध चल्न थाल्छ, त्यसपछि ती दलितको ‘द’ सुन्न
नचाहनेहरु, गाउंघरका फाटेका दौरा र च्यातिएका पटुकी लाउनेहरुलाई देख्दा
पंखा हम्किनेहरुसमेत दाह्रा-बंगरा तिखारेर, थुतुनो र गुथुनो धोईपखालेर दलित
आन्दोलनमा नम्वरी हुन आईपुग्छन् । तर जव यिनको तुनो-फेरो बदलिन थाल्छ,
गालामा राता-चिल्ला मसाला लाग्न थाल्छन्, यिनीहरु आन्दोलनलाई भकुण्डो हानेर
पश्चिमी क्षितीजतिर ओथारो बस्न भरर्र उड्दै हराउँछन् । र आन्दोलनमा
खाइपाएको चारो पचाउँदै तिनले त्यतैतिर पेट्मा मुगा जमाउन थाल्छन् । अनि
एकएक वटा ल्यापटपलाई काखमा राखेर आफूले खाएपचाएको स्मृति र विस्मृति लेख्न
थाल्छन् । न यिनले यो भूमिलाई केही दिन्छन्, न त आन्दोलनको परिवृतमा केही
नै
छोडेर जानेवाला नै छन् । हद् भए जोईपोई च्यापेर एक कुनामा निदाउने र
खाईपचाउने मात्र हो, तिनका धन्दा ।
दलित आन्दोलनलाई आफ्नै पुरानो विरासत भन्ने अर्कोथरी पनि छ, जो
ठूला-ठूला महलमा बसेर आफ्ना वंशहरुलाई भने आन्दोलनभित्र आउनै दिँदैन ।
अर्थात, उनीहरु आफ्ना सन्तानहरुले शोषक सामन्तका छोराछोरीसरह पींधमुनि
कट्टु लगाएर गल्ली चाहरेकै मन पराउँछन् । र, गैरदलितलाई गाली गर्दै आफ्ना
सन्ततीलाई विदेश भसाउने बाटो खन्दै छन् । अनि फुइँ लगाउँछन्, मेरो यो,
त्यो, फलानो, चिलानो यहाँ-त्यहाँ छ भनेर । हामीलाई राम्ररी थाहा छ, शहरमा
एउटा डेरा जमाउनसाथ आफू मात्र नम्वरी ठान्दै दलित आन्दोलनमा अनवरत लाग्ने,
बाँकी जतिलाई हरीकङ्गाल भन्नेहरु जहाँ भएपनि ती कुन हालतमा छन् भन्ने कुरा ।
तिनका इतिहास र वर्तमान ऐनाजस्तै छर्लङ्ग छ । विचराहरु एउटा अब्बल नागरिक
हुनसम्म पाईरहेका छैनन् । र एक छाक खानैमा मात्र महागर्व गर्दैछन्, जुन
तिनकै घरका पाल्तु जनावरले पनि त खाईरहेकै छन् । यिनका वारेमा यति नै कुरा
गरौं ।
तेश्रो तप्काः- जो आज पनि साउनेती र चैतेती उठाएर दलित मुक्ति खोज्दैछ र
दुई-चारवटा गोरा छालाहरुले आफूलाई पत्याउनासाथ आफूलाई अजम्वरी ठान्दैछ ।
तर फरक यति हो, हिजो हाम्रा बाबुवाजेहरु मौखिकरुपमा जदौ ख्वामित् गर्दै
अन्न जोहो गरेर जीवन धान्न बाध्य थिए भने यी नयाँ वालीघरेहरु तिनै
वावुवाजेको कहानी गाउँदै तिनै स्वदेशी-विदेशी विष्टसंग लिखितरुपमै
अंग्रेजीमा जदौ-ख्वामित गर्दैछन् । जो ‘ड्यालिट्’ भनिनसाथै गरुडको छाँयामा
सर्प लुट्पुटि्टए झैं लत्याकलुतुक्क परिहाल्छन् । तिनीहरु राज्यलाई, दललाई,
नेतालाई गर्नसम्म गाली गर्ने अनि कमाउने र जमाउने, मौका पाउनसाथ विदेशतिरै
चौका हान्ने प्रतिष्पर्धामा छन् । जदौ छ- यी महामहिमहरुलाई । अनि, यो
परिवृतभित्र एउटा भिन्न समुह पनि छ- डिजीटल महिला । जो, दुःखी-दरिद्र महिला
चरित्रको अभिनय गर्दै बढी डिजिट्का लागि सौतैमा चढेर भएपनि विदेशमा हराउने
नेपाली हिरोईन् जस्तै डिजिटल पोई (श्रीमान) प्राप्तीकै लागि दलित
आन्दोलनमा लागेका छन् । अर्थात चोर-डाका, माफिया, ड्रगिष्ट, राष्ट्रघाती,
बलात्कारी वा प्रत्येक मुलुकमा श्रीमती बनाउँदै र छाड्दै हिँडेका भएपनि ५-६
डिजिटको तलव खाने पोई प्राप्ती नै उस्को प्रमुख लक्ष्य हुन्छ । अथवा
अरुलाई समानता र सम्मानको पाठ सिकाउँदै ऊ आफू चैं नवसामन्त देखिन चाहन्छे र
यसैलाई दलित मुक्ति ठान्दछे । यिनीहरु पनि गरीव, सर्वहारा, उत्पीडित
दलितकै मुक्तिमा लागेका छन् । त्यसैले यिनलाई मैले डिजिटलस्तरमा राखेको छु,
जसलाई कहिलेकाहीं भन्न मन लाग्छ- ए…! आआफ्ना जोइपोई च्याप, कुनातिर पस,
बक्बक् नगर ।
चौथो थरी समुह पनि छ- दलित आन्दोलनमा । तिनीहरु आफूलाई सक्कली दर्जाका
राजनीतिक क्रान्तिकारी भन्न मन पराउँछन् । जस्को क्रान्तिकारिता भनेको उही
बावुवाजेका ख्वामितज्यूका दरसन्तानकै ज्यू-हजुरी गर्नु हो । तिनको
तथास्तुविना यिनका धोतीका जुम्रा पनि झर्नेवाला छैनन् । तिनका निगाहविना
यिनका परेली झिम्किनेवाला छैनन् । हो, यो भित्र केही राम्रा पनि छन् ।
इमान्दार पनि छन् । वास्तवमै क्रान्तिकारी पनि होलान् । तर आजसम्म राजनीतिक
रजतपटमा पद ग्रहण गर्ने अधिकांशको दैनिकी भनेको जी-हजुरी गर्नु । कुनै
फोरम भेट्याए भने पुच्छर ठाडो पारेर विनाअध्ययन, विनासाधना पदौरो गफ लगाउदै
वाहुनवादी सामन्तहरुको खैरो खन्नु । पद पाउनका लागि फेरि तिनै सामन्ती
दलाल र जनता हलालहरुको तप गर्नु तथा पद पाएपछि झिंगा मारेर बस्नु नै यिनको
कर्तब्य हो । ती सामन्त दलाल तथा वाहुनवादी हैकमवालाहरुलाई राष्ट्रका लागि
नयाँ सोच भएका सहयोगीहरु होईन, यस्तै पात्रहरु सजिला छन्, जस्लाई गोजीबाट
निकालेर सजिलै राख्न र फ्याँक्न सकिन्छ । फरक यति होः हिजो दरवार र
भाई-भारदारको चाकरी गरेर मात्र पद् पाईन्थ्यो भने आज कुनै हैसियत बनाउन
यिनै खाईपाई आएका छोटा राजाहरुको घरवारदेखि धाउनेदेखि गर्दनमा यिनका
तरवारसम्म बोक्ने गर्नुपर्छ । यस्ता क्रान्तिकारीलाई पनि सलाम छ ।
यस्तै छ हाम्रो दलित आन्दोलन । कोही चैं भने आन्दोलनकै सेरोफेरोमा
आफूलाई यसै त्यसै विलाईदिन्छन् । यहींभित्र हराइदिन्छन् । जसले यो
आन्दोलनमा धेरै उकाली ओरालीहरु पारगरेका छन् । धेरै रुझेका छन् । भिजेका
छन् । धेरै जोर चप्पल फटाएका छन् । तर विचरा उनीहरु, टीआर, रुपलाल, जवाहर
रोक्का र लालवहादुर खाती झैं विनामोल मर्दैछन् । यिनलाई उपरोक्त
विदेशीभक्त, झण्डाभक्त र डण्डाभक्त मान्छेहरुले पत्याउँदैनन् । अथवा गैह्र
सरकारी संस्थाको पैसा नपाएको भनेर उस्लाई कतै बोलाईन्न अथवा कुनै भिन्न
पार्टीमा लागेको भनेर दुत्कारिन्छ । कहिलेकाही त तिनै वाहुनहरुका जजमानी
धर्म-भिक्षुहरुले थरीथरीका वादी भनेर उस्लाई वञ्चित गर्दछन् । तर पक्का
नम्बरी भने यिनै हुन्- जो हुँदापनि नहुँदा पनि, आरोहमा पनि अवरोहमा पनि,
असहजता पनि सहजतामा पनि, यही माटोमा थिए । र एकमुठी स्वास रहुन्जेल यही
रहेर संर्घषकै मैदानमा आफूलाई खार्दै-तिखार्दै लैजान्छन् । अथवा जहीँ रहेर
पनि भावि पीँढिको सम्मान र समृद्धिका खातिर नैतिक र भौतिक सहयोग गर्दै
रहन्छन् । यिनलाई चैं सास्टाङ्ग प्रणाम !!!
साभार :- Nepalplus
No comments:
Post a Comment