दलितको हक अधिकार नयाँ संविधानमा ग्यारेण्टी गर्ने नेताहरुको प्रतिवद्धता

बागलुङ, २०७० असोज ३१ । दलितहरुको हक अधिकार आगामी संविधानसभाबाट बन्ने नयाँ संविधानमा ग्यारेण्टी गर्ने बागलुङ क्षेत्र नम्बर २ का उम्मेदवारले प्रतिवद्धता व्यक्त गरेका छन् । एकिकृत दलित मञ्च अमलाचौरको प्रथम साधारणसभाको उद्घाटनका अवसरमा बोल्दै बिभिन्न पार्टीका उम्मेदवारले सदियौदेखी पछि पारिएका दलितहरुको हह अधिकार अब बन्ने नयाँ संविधानमा क्षतिपुर्ति सहितको अधिकार सुनिश्चित गर्न पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा एकिकृत माओबादीका उम्मेदवार लिलबहादुर थापामगरले जातिय बिभेद दलित समुदायको मात्र नभई सबैको साझा एजेण्डा बन्नुपर्नेमा जोड दिदै परिवर्तनको एजेण्डा उठाउने पार्टीलाई निर्वाचनमा मतदान
गर्न आग्रह गरेका थिए भने नेकपा एमालेका उम्मेदवार डा.सुर्य पाठकले निति निर्माणको तहमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित नभए सम्म अधिकार सुनिश्चित गर्न कठिन हुने भएपनि आगामी निर्वाचनमा योग्य उम्मेदवार छनोट गरे बिभेद अन्त्य गर्न सहयोग पुग्ने विचार व्यक्त गरेका थिए ।

राष्ट्रिय जनमोर्चाका उम्मेदवार राजेन्द्र ढुङ्गानाले जातिय नाराले मुलुकमा संकट उत्पन्न भएको तर दलित उत्पीडित उपेक्षित बर्गको अवस्थामा अपेक्षाकृत सुधार आउन नसकेकाले अब दलित समुदाय सचेत हुनुपर्ने बताए ।

संघिय समाजबादी पार्टीका उम्मेदवार दलबहादुर खड्काले दलित, जनजाति उपेक्षित उत्पिडित बर्ग र समुदायको उत्थानका लागी आफ्नो पार्टी स्थापना भएको भन्दै आफ्नो पार्टी समतामुलक समाज निर्माणको पक्षमा रहेको बताए ।नेपाली कांग्रेसका प्रशिक्षण बिभाग प्रमुख डिल्लीराम सुवेदीले कांग्रेस दलितका माग र मुद्दा प्रति गम्भिर रहेको बताए । नेकपा माओबादीका केन्द्रिय सदस्य बाबुराम नेपालीले अहिलेको संविधानसभाले कुनै पनि हालतमा दलितको अधिकार सुनिश्चित गर्न नसक्ने दाबी गरे ।

कार्यक्रममा उत्पीडित दलित समुदायको सञ्जालका अध्यक्ष धनबहादुर परियार, बर्तमान अध्यक्ष टिका बिश्वकर्मा, गाविस सचिव भबिदत्त पन्त, एकिकृत दलित मञ्चका सल्लाहकार सुजन परियार, सुर्य बिक लगायतले बोलेका थिए । कार्यक्रममा आज राष्ट्रिय कलाकार राजु परियार, बिष्णु खत्री, कृष्ण परियार, सीता परियार र किरणदिपले बिभिन्न गीत संगीत प्रस्तुत गरेका थिए । भोलि राजु परियार, बिबि अनुरागी लगायतको सांगितिक प्रस्तुती सहित घोषणा पत्र जारी गरि सकिने मञ्चले जनाएको छ ।
source: ebaglung

No comments:

Post a Comment