आर्थिक र शैक्षिकरुपमा पहुँच नपुगेकै कारण दलित महिला पछाडि

तस्बिर र लेख साभार : राजेन्द्र ताम्राकार ज्युको फेसबुक पेज
राजेन्द्र ताम्राकार ,काठमाडौं १६ भदौ । आर्थिक, शैक्षिक, राजनीतिक, सामाजिक तथा साँस्कृतिकरुपमा पछाडि पारिएकै कारण राजनीतिमा दलित महिलाको अर्थपूर्ण सहभागिता हुन नसकेको दलित महिला नेतृहरुले बताएका छन् ।
राजनीतिमा दलित महिलाको अर्थपूर्ण सहभागिता अभिवृद्धि गराउने उद्देश्यका साथ दलित महिला संघद्वारा आयोजित ‘राजनीतिक समावेशीकरण तथा सामाजिक अन्तरघुलन’ विषयक तालिमका सहभागीहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।
तालिममा बाँके, कैलाली, कञ्चनपुर, काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाबाट एनेकपा
माओवादी, नेपाली काँङ्ग्रेस, नेकपा एमाले, मधेशी जनअधिकार फोरम, राष्ट्रिय जनमोर्चा, समाजवादी जनता दल लगायतका पार्टीबाट गरी २२ जना दलित महिलाको सहभागिता थियो ।
तालिमका सहभागीहरुले दलित समुदायको मुख्य समस्या जातीय छुवाछूत भएकाले सबैभन्दा पहिले छुवाछूतप्रथाको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । दलित शब्द पहिचानकैरुपमा स्थापित भइसकेकाले जातीप्रथा हटाउने भन्दा पनि दलितमाथि हुँदै आइरहेको जातीय छुवाछूत कुप्रथाको अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन् ।
तालिममा दलित महिला संघकी महासचिव कला स्वर्णकारले राजनीति सबै नीतिको मूल नीति भएकाले राजनीतिमा दलित महिलाको अर्थपूर्ण सहभागिता अभिवृद्धि गराउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो ।
तीनदिनसम्म सञ्चालन हुने तालिममा समावेशीकरण भनेको के हो ? समाज भनेको के हो ? बञ्चिीतिकरण के हो, बञ्चिीतिकरणले पारेका असरहरु, समावेशीकरण किन र कसरी गर्ने, राजनीति के हो ? समाजमा राजनीतिको प्रभाव कस्तो छ ? समावेशीकरणको अवधारणा, नेपालमा राजनीतिक समावेशीकरणको अवस्था लगायतका विषयमा क्रमश यामबहादुर किसान र विश्वभक्त दुलाल‘आहुति’ ले प्रशिक्षण दिनुभएको छ ।
त्यस्तै सङ्घीयता के हो ? सङ्घीयताको आवश्यकता र महत्व, सङ्घीयताको ढाँचा, सङ्घीयतामा दलित र महिला लगायतका विषयमा पनि प्रशिक्षण दिइएको छ । तालिममा सामाजिक अन्तरघुलन के हो, सामाजिक अन्तरघुलन किन, सामाजिक अन्तरघुलनका बाधा, अवरोधहरु, सामाजिक अन्तरघुलनमा सरोकारवालाहरुको भूमिका विषयमा पनि सहभागीलाई प्रशिक्षण दिइएको थियो ।
भदौ १३ देखि १५ सम्म सञ्चालन भएको तालिमको अन्त्यमा सहभागीले जिल्लागतरुपमा राज्यका हरेक निकायमा दलित महिलाको अर्थपूर्ण सहभागिताका लागि राजनीतिक दल, सरकार, सम्बन्धित सरोकारवाला निकाय, नागरिक समाज, आमसञ्चारमाध्यम, दलित तथा गैरदलित संघसंस्था क–कसले के कस्तो भूमिका निर्वाह गर्नुपर्ला र कसरी गर्नुपर्ला भन्ने विषयमा समूह कार्य गरी छलफल र प्रस्तुतीकरण गरेका थिए ।

No comments:

Post a Comment