बझाङको पारा काट्ने गाविसकी सिर्जना देवी नेपालीका श्रीमान्ले गएको जेठमा ७ दिनको कोटपाइन्ट सिलाउने तालिम सिकेका थिए। अहिले गाउँमै उनले सिलाइ पसल खोलेका छन्। छिमेकका मानिस भारतमा गएर मजदुरी गरिरहेका बेला सिर्जनाका श्रीमान् कृष्णले भने कोटपाइन्टको सिलाइ सिकेर घर नजिकै रोजगार गरेका हुन्। कृष्ण यसको श्रेय आफ्नी श्रीमतीलाई दिन्छन्।
‘श्रीमतीको बचत तथा ऋण समूहबाट निकालेको दुई सय रुपैयाँले म कोट सिउने तालिममा सहभागी हुन पाएको हुँ’ कृष्णले भने। उनको घरबाट सदरमुकाम चैनपुर पुग्न एक सय रुपैयाँ गाडी भाडा लाग्छ। ‘म सय दुई सयका कारण यस्ता धेरै कुराबाट बञ्चित भएको छु, तर श्रीमतीको मासिक एक सय ५० रुपैयाँ बचतले गर्दा सजिलो भएको हो’ कृष्णले थपे।
पारा काट्ने गाविसको कुच गाउँमा केही ठकुरीहरूको बसोबास भएपनि त्यहाँ अधिकांश दलितको बस्ती छ। दलित महिलाले समयसमयमा भोग्ने सय, पाँच सयको समस्याका कारण जनचेतना ऋण तथा बचत समूह खोलेका हुन्। समूहमा दलित महिलामात्रै होइन, गैरदलित महिला पनि सहभागी छन्। २८ जना सदस्य रहेको सो समूहमा पाँचजना गैरदलित महिलाको सहभागिता छ।
‘गएको साउनमा थला पर्ने गरी बिरामी भएँ, के भयो थाहा भएन, दुई छोरा कामका लागि भारत गए पनि सदरमुकाम जान र उपचार गर्न पैसा थिएन। बचत समूहबाट दुई हजार निकालेँ। चैनपुरमा रहेको जिल्ला अस्पतालमा भर्ना भएँ। अल्ट्रासाउन्ड गराएँ र अहिले स्वस्थ भएकी छुँ’ चम्किलो मुहार बनाएर समूहकी सदस्य मनुदेवी नेपालीले भनिन्। उनले दुई छोरा भारतमा मजदुरी गर्न गए पनि बिरामी परेका दिन घरमा पैसा नभएको बताइन्। ‘छोराहरू आएपछि त यो पैसा तिर्लान् तर बिरामी परे त तुरुत पैसा चाहियो नि’ उनले थपिन् ‘बचत गर्न थालेपछि आर्थिक अवस्था कमजोर भएका महिलालाई धेरै राहत भएको छ।’
गाउँमा यसअघि गठन भएका बचत तथा ऋण समूहहरूमा भएको आर्थिक अनियमितता झेलिसकेको पारा काट्नेका महिलाले अहिले आफ्नै सक्रियतामा नयाँ नीति नियम बनाएर बचत गर्न थालेका हुन् । उनीहरूको समूहमा कडा नियम छ। हरेक महिनामा कम्तीमा पाँच रुपैयाँ जम्मा गर्नै पर्ने हुन्छ । त्यसमा पनि एक सेयरको मूल्य पाँच रुपैयाँ कायम गरी एक महिलाले पाँच कित्ता सेयरभन्दा बढी जम्मा गर्न पाउँदैन। ‘बचत तथा ऋण समूहमा आर्थिक अवस्था ठीक भएकाहरूको मात्रै हालिमुहाली नहोस् भनेर यस्तो नियम लगाएको हो’ समूहकी सचिव विमला नेपालीले भनिन्।
अर्को उल्लेखनीय कुरा के छ भने, उनीहरू हरेक हप्ताको शनिबार दिउँसो २ बजे हुने बैठकमा सबैजना अनिवार्य उपस्थित हुन्छन्। कसैले कसैको पैसा जम्मा गर्न पाउँदैन, आफैं आएर जम्मा गर्नुपर्छ । ‘महिला सचेत बनून्, एकले सिकेको कुरा अरूले पनि सिकून् र बैठकमा भएका कुराहरू सबैलाई तुरुन्तै थाहा होस् भनेर यस्तो गरिएको हो’ सचिव विमलाले भनिन्।
समूहले बैठकमा समयको ख्याल नगरी ढिलो आउनेलाई, अर्काको हातमा बचतको रकम पठाउनेलाई र चाबी बोकेको महिलाले अरूको हातमा चाबी पठाएमा प्रतिपटक पाँच रूपियाँ जरिवाना गरिन्छ। ‘बालबच्चा छन्, मेलापात गर्नैपर्छ, हिँडेर आउनुपर्ने हुन्छ, कहिलेकाहीँ बैठकमा ढिलाइ पनि भइहाल्छ, त्यसैले तीनपटक मैले पनि जरिवाना तिरेकी छु’ सचिव विमलाले भनिन्।
साभार :- annapost
No comments:
Post a Comment