|
लेखक :- प्रदीप नेपाल
संस्कार फेरिन गाह्रो हुन्छ बाट साभार |
२०७० दसैं पनि सकियो । उहिले एकपल्ट, दसैं जनजातिको चाड होइन भन्ने अभियान चलाउने कोसिस भएको थियो । बिनाअध्ययन निकालिएको त्यो निष्कर्ष असफल हुनु स्वाभाविक थियो । त्यो त्यत्तिकै हरायो । ज्ञानले के भन्छ भने दसैंमा नौ दिनसम्म पूजा गरिने देवीहरू सबै पार्वतीका अवतार हुन् । पार्वती शिवसँग जोडिएकी हुनाले सारतः दसैं जनजातिको चाड हो भन्ने अनुमान गर्न सकिन्छ । जसको भए पनि दसैं लामो समयदेखि नेपालीले मान्दै आएको चाड हो । त्यसैले नेपाली मानसमा दसैं संस्कार बनिसकेको छ ।
अहिले सिंगो नेपाल, बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सत्यलाई स्थापित गर्ने अभियानमा लागेको छ । उनी शाक्य वंशका थिए भन्ने सत्य स्थापित भइसकेको छ । उनी जन्मिएको भूमि चिह्नित गरिसकिएको छ । उनलाई विश्वले शान्तिदूतको मान्यता पनि दिएको छ । त्यसैले उनी विश्वशान्तिको प्रतीक भएका छन् ।
माथिको निष्कर्षले के पुष्टि गर्छ भने बुद्ध मान्छे हुन् । विद्वान् र ज्ञानी भएकै हुनाले उनी महान् भएका हुन् । मान्छे भएको हुनाले उनी कुनै पारलौकिक भगवान् होइनन् ।पुनर्जन्म र पूर्वजन्म हुँदैन भनेर विश्वलाई शिक्षा
दिने विश्वका पहिला भौतिकवादी दार्शनिक हुुन् गौतम बुद्ध । तर दुःखको कुरो तिनै गौतमबुद्ध अहिले अवतारको व्यङ्ग्यमा रूपान्तरित भएका छन् । दलाई लामाको अवतार गौतम बुद्धको सम्मान हो कि अपमान ? प्रस्टै छ, यो विश्वशान्तिका नायक गौतम बुद्धको अपमानहो । हो, तन्त्रशास्त्र पनि हाम्रै भूमिको उपज हो अनि गौतम बुद्ध पनि हाम्रै भूगोलमा जन्मिएका हुन् तर गौतम बुद्धको भौतिकवाद र तन्त्रशास्त्रको रहस्यवादका बीचमा कुनै सम्बन्ध छैन । विश्वनागरिक भइसकेका गौतम बुद्धलाई तन्त्रशास्त्रको डोरीले बाँधेर सुकाउने कामको विरोध गरेर उनको महानतालाई विश्वव्यापी रूपमा स्थापित गर्नु हामी नेपालीको कर्तव्य हो । तर स्वयं हामी, तिनका सन्तान, गौतम बुद्धलाई डोरीको थुनाबाट बाहिर निकाल्न सकिरहेका छैनौँ किनभने गौतम बुद्धलाई भगवान् बनाउने संस्कारले हामी सबैलाई प्लास्टिकको डोरीले बाँधेको छ ।
सभ्यताको वाहक हिन्दु संस्कृतिलाई धर्म मान्नेहरू पनि छन् लाखौँ नागरिक । धर्म साँघुरो हुन्छ, धर्मसँग ईष्र्या र घृणा जोडिएको हुन्छ । हिन्दु संस्कृतिसँग घृणा जोडिएको छैन । मान्छेले गर्छन् जातपातको कुरा । छुवाछुतको कुरा । छुवाछुत हिन्दु संस्कृतिको अभिन्न अंग होइन । त्यो हो सामन्तवादको उत्पादन । सभ्यता विकासका क्रममा दासयुगलाई पछारेर दुनियाँमा सामन्तवादको उदय भयो । त्यसले श्रमिक जनतालाई दबाउन, सताउन र दुःख दिन जातपातका साथै लोक र परलोक, देवीदेवता र राक्षसजस्ता त्रासदीको निर्माण गर्यो । सामन्तवादको उदयअघि कहाँ थियोजातपात ? कतै थिएन । ऋषिहरू कोरली गाईको मासु मीठो मानेर खान्थे भन्ने सत्यलाई त प्रकाण्ड पण्डितले पनि तिरस्कार गर्न सक्दैनन् । इन्द्र कुन जातका थिए ? महादेवको जात के हो ? हाम्रै देशका गौतम रहुगण, धनवन्तरि र पाणिनीजस्ता ज्ञानीहरूको जात के हो ?
सभ्यताको थालनीपछिको लामो समयसम्म जातपात छुवाछुत केही थिएन । यो फोहोरी चलनको आगमन सामन्तवादसँगै भयो । सामन्ती युग आरम्भ भएपछि शक्तिशाली ठूला भए । पराजितहरू साना भए । ठूलाका लागि ठूलो जात बनाइयो । सानालाई दलित बनाएर सामाजिक घृणाको सिकार बनाइयो । नेपालकै भूभागमा पनि विजेताहरू ठूला भए, विजितहरू दलित भए । दुःखको कुरो के भयो भने यातनादायी, क्रुर सामन्तवादसँगै जोडिएर आएको वर्गीय शासनले हामीलाई जातपातको संस्कारमा बाँध्यो । ज्ञान हराएपछि मान्छे मूर्ख हुन्छ । सामन्तवादले मानव सभ्यतालाई दिएको अन्धकारको उपहार हो यो मूर्खता । तर अहिले यो नै हामीहरूको संस्कार भएर बसेको छ ।
पाठकलाई भ्रम नपरोस् । म हिन्दु धर्मावलम्बी होइन । म हिन्दु संस्कृतिलाई मानव सभ्यताको इतिहाससँग जोडेर, त्यसबाट शिक्षा लिनुपर्छ भन्ने सोच राख्ने नागरिक हुँ । मलाई धर्मको हिन्दुत्वबाट मुक्ति दिने शास्त्र हो ऋग्वेद । ऋग्वे दलाई ज्ञानको सागर भन्छन् सबै ज्ञानी विद्धान् विदुषीहरू । मैले आफूलाई ऋग्वेदको ज्ञाता बनाउन खोजेको पनि होइन । सर्वाधिक पुरानो त्यो ग्रन्थले देवदेवीको अस्तित्वका बारेमा के भन्छ भन्ने चासोको समाधान गर्न मैले ऋग्वेदको अध्ययन थालेँ । त्यसमा त हामीले पारम्परिक हिसाबले मान्दै आएका देवीदेवताको अस्तित्व कतै भेटिनँ मैले । हिन्दुलाई धर्म मानेर अन्धविश्वासको अँध्यारोमा रुमल्लिइरहेकाहरूको मन दुखाउन मैले पढेको अनौठो उदाहरण म यहाँ पस्किन सक्दिनँ तर कुन कुरो म ठोकुवा गर्न सक्छु भने, ऋग्वेदले लोक र परलोकको, देवी र देवताको, भगवान् र भगवतीको अस्तित्वलाई कतै स्वीकार गरेको छैन । ऋग्वेदले पूजापाठ गर्नु भनेर सिकाएका देवता भौतिक तत्त्व मात्रै रहेछन् । त्यसले आगोलाई पूजा गर्नुपर्छ भनेको छ । सभ्यताको पहिलो आविष्कार आगो हो भनेर सबै वैज्ञानिकले स्वीकार गरेका छन् । सभ्यताको आरम्भमा सिरक डसनाको कल्पना पनि गर्न सकिँदैनथ्यो । त्यसैले उनीहरूले उषालाई न्यानो घाम बोकेर आउने देवी मानेका छन् । अक्सिजन भन्ने शब्द त आविष्कार भइसकेको थिएन उतिबेला । तर हाम्रा पुर्खाहरूले वायुको महत्त्व बुझेका थिए । त्यो नै हाम्रो भौतिक अस्तित्वको आधार हो भन्ने थाहा पाएपछि वायुलाई उनीहरूले देवता मान्न थाले । पानी पनि जीवनका लागि अनिवार्य हो भन्ने बुझेपछि उनीहरूले त्यसलाई पनि वरुण देवता बनाइदिए । पृथ्वी वन्दना पनि छ ऋग्वेदमा किनभने पृथ्वीले उनीहरूलाई बचाउने अन्न दिन्छिन् भन्ने ज्ञान पाएपछि उनीहरूले धर्तीपूजनको थिति बसाले । यस्ता धेरै उदाहरण होलान् देवदेवीका, जो भौतिक हिसाबले हाम्रा वरिपरि आफ्नो अस्तित्व बोध गराएर घुमिरहेका छन् ।
तर हामी, आफ्ना पुरातन सांस्कारिक अन्धविश्वासमा बाँधिएकै हुनाले ऋग्वेदले दिएको यो वैज्ञानिक ज्ञानलाई आत्मसात् गर्न सकिरहेका छैनौँ । शिव, कृष्ण, इन्द्रजस्ता देवताहरू आफ्नो समयका बलशाली, बुद्धिमान् मान्छे नै थिए भन्ने सच्चाइ तिनीहरूसँग जोडिएका सांकेतिक उपमाहरूले गरिरहेका छन् । तर तिनको मानवीय जीवन स्वीकार गर्न सबैलाई गाह्रो पर्छ ।
हिन्दुत्वको बारे जे लेख्न पनि स्वतन्त्र हुन्छ । तर अरू तथा प्रचलित धर्मका बारेमा बोल्न जोकोहीले पनि डराउनुपर्छ । इस्लाम धर्मका बारेमा केही लेखूँ कि भन्ने सम्झनासाथ सलमान रुस्दी र तसलिमा नसरिन मेरो मानसमा नाच्न थालिहाल्छन् । मैले ती दुवैले लेखेका द सटानिक भर्सेस र लज्जा पढेँ । उपन्यासकारले मृत्युदण्डको सजाय पाउने केही लेखिएको छ जस्तो लागेन मलाई । तर इस्लाम एउटा धर्म हो । त्यसैले त्यसका बारेमा केही नलेख्नु नै उचित लाग्छ मलाई । इसाइ धर्ममा पनि यही समस्या छ । दा भिन्ची कोड लेखेबापत उपन्यासकार डन ब्राउनले अदातलमा मुद्दा खेप्नुपर्यो । त्यो उपन्यासले येशुक्रिस्टको देवत्वकरणलाई चुनौती मात्र दिएको थियो र उनी रोमन साम्राज्यको बिगबिगी चलेका बेलाका एकजना शक्तिशाली विद्रोही थिए भन्ने ज्ञान पस्किएको थियो । तर धर्म भएकै हुनाले इसाइयतले दा भिन्ची कोड र म्यारी म्याकडेलनको सच्चाइलाई स्विकार्न सकेन ।माथिका घटनाबाट हामी नेपालीले के सिक्ने ? संस्कारहरूको वैज्ञानिक परीक्षण गर्नुपर्ला कि नपर्ला ? हामीले सभ्यताको वाहक बनेको ऋग्वेद र उपनिषद्हरू पढ्ने कि नपढ्ने ? अथवा हामीले सामान्य धार्मिक ग्रन्थहरू मात्र पढ्ने ? यी प्रश्नहरू ज्ञानप्राप्तिको आग्रहका लागि उठाइएका हुन् ।
- Source: http://www.ekantipur.com/np/2070/7/3/fullstor /377715.html#sthash.1ThFwBcd.bem7Plya.dpuf
No comments:
Post a Comment