जाजरकोटका दलित समुदायका अधिकांशको अवस्था एकैनास

तस्बिर साभार:-ujyaaloonline
उज्यालो
उज्यालो
साहुले खलो दिए तिहार रमाइलो होला, नभए अरूको रमाइलो हेरेर बस्नुपर्छ, खगेनकोट गाविस–६ दलित टोलका रङ्गे कामीले आफ्नो परिवारको तिहार मनाउने अवस्था सुनाउँदै भने, “पुस्तौँदेखि कामीको परिवार चाडपर्व मनाउन साहुबाट खलो पाउने आशमा हुन्छ।”वर्षभरि काम गरेबापत साहुले दिने ज्यालाबापतको खाद्यान्नलाई खलो भन्ने चलन छ। जाजरकोटका अधिकांश दलित समुदायका परिवार खलो प्रथाबाट आउने अन्नपातबाट गुजारा चलाउँछन्। चाडपर्वका बेला उनीहरूलाई खलो पाउने प्रतीक्षा हुन्छ। दिनरात बेफुर्सदी भएर साहुका हँसिया, हथौडालगायत फलामका सामग्री निर्माण तथा मर्मत गर्ने काम गर्दै आए पनि रङ्गेको परिवारलाई सधैँजसो परिवार पाल्नै समस्या हुन्छ।

यति बेला पनि गाउँघरमा दसैँलगत्तै तिहार लागिसक्यो तर उनको परिवारलाई भने कसरी तिहार, मेला र जात्रा मान्ने भन्ने पिर छ। “त्यही खलोको आश बाँकी रहेको छ”– उनले भने।

उनीमात्र नभएर खलो प्रथा मानेर बसेका जिल्लाका दलित समुदायका अधिकांशको अवस्था एकैनासको छ। फलामे भाँडा मर्मत गरेबापत उनलाई कसैले नगद दिँदैनन्। बाली भित्र्याउने बेला र चाडपर्वका बेला गाउँलेले खलो दिने चलन छ। साहुले दिने खलोमा कुनै मापदण्डसमेत हुँदैन। साहुले आफ्नै इच्छाअनुसार ज्यालास्वरुप अन्न दिने गर्दछन्।

“ज्याला भने पनि त्यही खलोका रूपमा पाउने खाद्यान्न हो”– उनले भने। वल्लोपल्लो गाउँ गरी करिब डेढ सय परिवारका फलामे भाँडा मर्मत र निर्माण गर्ने उनको काम हो। साहुले बेलैमा खलो दिए परिवारलाई चाडपर्वका बेला राहत हुन्छ। यति बेला साहुले धानबालीसमेत भित्र्याउने समय भएकाले उनीहरू खलो दिन्छन् कि भनेर आशमा परेको शङ्कर बताउछन्।

खलो प्रथामा काम गर्नेले नगद नपाउने भएकाले आफूहरूलाई दैनिक गुजारा गर्न समस्या हुन थालेको जिल्लाका खलिया दलित बताउँछन्। गुजारा नचल्ने भएपछि कतिपय त साहुको काम छोडेर रोजगारी खोज्दै भारत जान्छन् र दसँै र तिहारमा खर्च ल्याएर फर्किन्छन्। “यता गाउँघरमा काम गरेर गुजारा चलाउनै समस्या हुने भएकाले भारतमा चौकीदारी गर्न र भारी बोक्न जानुपर्ने बाध्यता पनि छ”– सक्लाका शेरबहादुर दमाईंले भने, …वर्षभरि सबै परिवारका लुगाकपडा पैसा नलिई सिलाउनुपर्छ तर वर्षमा दुईपटक पाउने खलोले गुजारा चल्दैन।”

लोहार, दमार्इं, सार्कीलगायत थरका दलित परिवारले खलो प्रथा अपनाइरहेका जिल्ला नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष विनोद नेपालीले बताए। नेपालीका अनुसार दसैँ र तिहार बेला साहुको घरमा बोका काटिन्छ, खलियालाई एक किलो मासु किन्ने उपाय हुन्न। जिल्लाभर करिब ४१ हजारभन्दा बढी दलित छन्। यीमध्ये धेरैजसोले परम्परागत रूपमा खलो प्रथाबाटै गुजारा गरिरहेका छन्। यी दलितले आफ्नो पेसाबाट विकसित भई व्यवसायमूलक भएको भए उनीहरूको गुजारा निर्वाहमा थप बल पुग्ने विभिन्न अधिकारवादी सङ्घसंस्थाका अधिकारी बताउँछन्।
साभार:-रासस / सेतोपाटी

No comments:

Post a Comment