नेपालमा कानुनले छुवाछुत र जातीय भेदभावलाई प्रस्ट बर्जित गरे पनि
व्यावहारिक र मानसिक रूपमा हाम्रो समाज अझै यो रोगबाट पूर्ण रूपमा मुक्त
हुन सकेको छैन । कयौं ग्रामीण समाजमा जातजातिका आधारमा भेदभाव र अवहेलना
गर्ने प्रवृत्ति निरुत्साहित भइसकेको छैन । कतिपय ठाउँमा आफूलाई ‘माथिल्लो
जात’ का भनेर दाबी गर्नेहरूले तल्लो जात र दलित समुदायका मानिसहरूलाई
भेदभाव गरिरहेका भेटिन्छन् भने कयौं ठाउँमा दलित र सीमान्तकृत समुदायभित्रै
पनि असमानता र भेदभाव हुने गरेको पाइन्छ । दैलेखको सेरावाडा टोलमा तीन
जातिका समुदायले बेग्लाबेग्लै पानीको कुवा प्रयोग गरेको र गुल्मीमा एक दलित
युवालाई मन्दिरमा पूजा गरेको भन्दै कुटपिट गरिएको घटनाले समाजको एउटा
तप्का अझै जातीय छुवाछुत र भेदभावका मामिलामा कतिविघ्न जड रहेछ भन्ने
देखाएको छ । राजनीतिक उथलपुथलपछि मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र
संस्थागत गर्ने चरणमा आइपुग्दा र छुवाछुतविरोधी परम्परागत मान्यता र
कानुनमा व्यापक परिवर्तन गरिसक्दा पनि परम्परागत सोच र अमानवीय व्यवहार
गर्ने प्रवृत्तिबाट नेपाली समाज मुक्त हुन नसक्नु दुर्भाग्य हो ।
मुलुकी ऐन २०२० मा भएको संशोधनले सबैभन्दा पहिले छुवाछुत र जातीय
भेदभावलाई निषेध गरेको थियो । मुलुकमा झन्डै चार दशकदेखि छुवाछुतविरोधी
आन्दोलन चल्दै आएको छ । कानुनले छुवाछुतलाई गैरकानुनी भनेयताका सरकार,
राजनीतिक दलहरूले पनि यसलाई एउटा गतिलो नारा बनाउँदै आएका छन् । २०४६
सालपछिको अवस्थामा सबै प्रमुख र साना पार्टीहरूले समेत जातीय भेदभाव र
छुवाछुतका विरोधमा आफूलाई उभ्याउँदै आएका छन् । लोकतान्त्रिक गणतन्त्रको
स्थापनापछि मुलुकमा ँसमावेशी’ को मुद्दाले प्रमुख ठाउँ पाएको छ । अन्तरिम
संविधान र झन्डै एक वर्षअघि बनाइएको छुवाछुतविरोधी कानुनले छुवाछुत र जातीय
भेदभाव गरिनुलाई हिंसा र अपराधको श्रेणीमा राखेको छ । यसरी कानुनी, नीतिगत
र नेताका भाषणको मुख्य प्राथमिकताभित्र परे पनि छुवाछुत र जातीय भेदभाव
गर्ने गलत परम्पराको अन्त्य हुन सकेको छैन । सरकारको नीति र कानुनको
प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
दोलखाको सेरवाडा टोलमा दमाईं समुदायले सबैभन्दा सानो कुवा, कामी
समुदायले मध्यम र सबैभन्दा ठूलो कुवा माझी समुदायले ओगटेको खबरले ग्रामीण
समाजमा विद्यमान छुवाछुत र जातजातिबीचको असमान व्यवहारको एउटा तस्बिर सतहमा
ल्याएको छ भने गुल्मीमा दसैंको समयमा दुर्गा मन्दिरमा पूजा गर्दा कुटिएका र
सजायस्वरूप चार दिन ढुंगा बोक्न लगाइएका एक दलित युवाको खबरले समाजमा
रहेको अमानवीय र आपराधिक प्रवृृत्तिलाई उजागर गरेको छ । यी घटनाले नेपालका
कानुन दलितमैत्री भए पनि तिनको सही र पूर्ण कार्यान्वयन हुन नसकेको देखिएको
छ । दलित अधिकार आन्दोलनका क्रममा विभिन्न ठाउँमा दलितलाई मन्दिर प्रवेश
गराउने अभियान नचलेको होइन । दलितसँग अन्तरजातीय विवाह गर्दा पुरस्कार दिने
घोषणा गरेर सरकारले जातीय भेदभावलाई न्यून गर्ने नीति नलिएको पनि होइन ।
तर यसका बाबजुद समाजमा छुवाछुत र जातीय भेदभाव गर्ने प्रवृत्ति जसरी जड भएर
बसेको छ, यसलाई निर्मूल पार्न सरकारले मुख्यतः छुवाछुत र जातीय
भेदभावविरुद्धको कानुनको प्रभावकारी ढंगले कार्यान्वयन गर्न सक्नुपर्छ ।
दलित र सीमान्तकृत समुदायमा कानुन र अधिकारका बारेमा सचेतना कार्यक्रम
सञ्चालन गर्दै समाजमा भेदभाव र असमान व्यवहार हुँदा कानुनी उपचारको खोजी
गर्न उत्पे्ररित गर्नुपर्छ । छुवाछुत र जातीय भेदभाव गर्ने र त्यस्तो गर्न
प्रेरित गर्ने समुदाय वा व्यक्तिलाई कानुनीकारबाहीको दायरामा ल्याउने, दण्ड
दिएर निरुत्साहित गर्नुपर्छ र परम्परागत तथा रूढी मान्यतामा अल्भिmएको
समुदायमा भने कानुनमा दलित अधिकारको प्रत्याभूति भइसकेको र समाजमा आएको
परिवर्तनका आयामबारे सचेतता कार्यक्रम गरिनु उचित हुन्छ । साभार कान्तिपुर
प्रकाशित मिति ६८ कात्तिक ३
साभार:- dalitnewshome
No comments:
Post a Comment