सानैदेखि देख्थेँ, हाम्रो घरमा आउनेलाई पिँढी/आँगनमा पिर्का/गुन्द्रीमा बसाइन्थ्यो । म हजुरबासँग अरूको घरमा जाँदा पनि त्यसै गरिन्थ्यो । लाग्थ्यो, सबैले यसै गर्छन्, यसै गर्ने हो ।तीन कक्षामा पढ्दा साथीले घरमा लग्यो, बास बस्ने गरी । जीवनमा साथीको घरमा बास बसेको त्यो पहिलो रात थियो ।
स्याङ्जा चापाकोट-८ मा सात-आठ घरको दमै गाउँ । सबैभन्दा पुछारमा हाम्रो घर । हामीभन्दा माथि पनि दलित बस्ती नै थियो । सबैभन्दा माथि ठकुरी गाउँ । पुछारमा घर भएकाले पनि अन्य जातिका मानिससँग हाम्राे त्यति घुलमिल हुँदैनथ्यो । हाम्राे पानी पँधेरो पनि छुट्टै छ ।स्कुलले नै मलाई सबैभन्दा पहिले मान्छेको जात पढायो । माथिल्ला जातिले कक्षा-कोठाको बेन्चमा झोला राखेर भन्थे, 'झोलामा छोइने कुरा छ, तल्लो जातले छुनु हुँदैन ।'
तल्लो जात भनिएका हामी बाध्य भएर पछाडि बेन्चमा बस्थ्यौँ, बेन्च नपुगे भुइँमा । स्कुलमा र स्कुल जाँदा-आउँदा बाटोमा मलाई अरू केटाकेटीले 'दमै केटा, दमै केटा' भन्थे ।तीन कक्षा पढ्दा ठकुरी साथीको घरमा बास बसेको सम्झना किन-किन सधैँ ताजा भइदिन्छ । यसकारण पनि होला, तीन कक्षामा म प्रथम भएँ । रातै अबिरसँग घरमा जाँदा हजुरबा मदेखि असाध्यै खुसी हुनुभएको थियो । जीवनमा मैले हजुरबालाई त्यति खुसी बनाएको त्यो नै पहिलो र अन्तिमजस्तो लाग्छ ।
पाँचसम्म गाउँकै जनजागृति प्राविमा पढेँ । ६ देखि एसएलसीसम्म गंगालाल माविमा । माविमा पढ्न जानु पनि ठूलै कुरा थियो । प्रायः दलितहरू चार/पाँच कक्षादेखि नै पढ्न छाड्छन् ।माविमा धेरै विद्यार्थी थिए । विद्यार्थी धेरै भएर होला कक्षाकोठामा भने जातीय भेदभाव त्यसै हराएको पाएँ । गाउँ-बेंसीको पायक । स्कुलबाट र्फकंदा उकालो मात्रै हिँड्नुपथ्र्यो । बीचमा वन थियो । वनको मुखैमा दामगाडे भन्ने चौतारी । त्यहाँ, तीन घर मगर थिए । स्कुलबाट थाकेर आएका धेरै विद्यार्थी त्यहाँ पानी पिउँथे । दलितले पानीको भाँडा छुनु हुँदैनथ्यो । साथीहरूले भाँडाबाट पानी खन्याइदिन्थे, मैले मुख बाएर वा अञ्जुलीले पानी खान्थेँ । सबै थाकेर आउने भएकाले पनि कहिलेकाहीँ साथीहरू मलाई पानी खन्याइदिन झिजो मान्थे । एउटाले अर्कोलाई देखाएर पन्छन्थे ।
स्कुलबाट र्फकंदा प्रायः रमाइलो हुन्थ्यो । हाँसखेल गर्दै उकालो हिँड्थ्यौँ । प्रायः साथीहरूसँग रमाउँदा रमाउँदै मैले आफ्नो जातै बिर्सन्थे । हामी सबैको एउटै जात 'विद्यार्थी' हुन्थ्यो । उकालो बाटो तिर्खाएर जब हामी दामगाडे आइपुग्थ्यौँ, तब जात बिर्सने रोगले मलाई पीडा दिन्थ्यो । मैले त्यहाँ कैयौँपटक असाध्यै तिर्खाउँदा पनि पानी पिइनँ ।
नौ कक्षामा पुगेपछि साथीहरूको एउटा समूह बन्यो । १०-११ जनाको समूहमा म मात्र दलित थिएँ । हामीसँगै ट्युसन पढ्थ्यौँ । प्रायः सबै सँगै हिँड्थ्यौँ । रमाइलै हुन्थ्यो । जब कुनै साथीको घरमा जान्थ्यौँ, सबै घरभित्र हुन्थे, म बाहिर । अनि, मलाई नरमाइलो लाग्थ्यो ।
पाँच कक्षासम्म प्रथम/दोश्रो भइरहन्थेँ । तर ६ देखि जेनतेन पास हुन थालेँ । त्यहाँ चार-पाँचवटा प्राविबाट आएका सिपालु विद्यार्थीसँग प्रतिस्पर्धा गर्नुपथ्र्यो । धेरै विद्यार्थी, पढ्नेले पढ्थ्यो, नपढ्ने भाग्थ्यो, कुनै बन्देज थिएन । योबीचमा खैनी-चुरोट खाने कोसिस पनि गरेँ । खै कुन सौभाग्यले हो, खैनी-चुरोटलाई मेरो शरीरले सहेन । यसमा लत लागेन । खैनी मुखमा राखेपछि भनभनी घुमाउँथ्यो । एकसर्को चुरोटले दिनभरि खोकी लाग्थ्यो ।
स्कुल छाडेर खासै भाग्दिनथेँ । पढ्नुपर्छ भन्ने सानैदेखि लाग्थ्यो । पहिलोपटक ठकुरी साथीको घरमा बास बसेपछि मेरो मनमा धेरै विचार आए । हजुरबासँग सोधेँ, 'जात के हो ? मान्छे कसरी ठूलो मान्छे हुन्छ ? हामीलाई किन सबैले हेप्छन् ?'
हजुरबा भन्नुहुन्थ्यो- कहीँ गए पनि आफ्नो जात नलुकाऊनू, पढ्नू, सीप सिक्नू र इमानमा बस्नू ।'
बाले भारतमा नोकरी गर्ने भएकाले पनि म हजुरबाको काखमा हुर्कें । सानैदेखि हजुरबालाई रामायण पढेर सुनाउँथे । हजुरबालाई रामायण पढेर सुनाएपछि मैले अन्य घरको काम गर्नुपर्दर्ैनथ्यो । घाँस काट्ने, पानी ल्याउने, आदि घरको काम गर्ने अल्छीले पनि सानैमा धेरैपटक रामायण पढेँ ।
बर्खाको वेला दिदीसँग गाईवस्तु चराउन गएको थिएँ । मेरै कारणले गाई हरायो । आफूलाई रामायणको राम-लक्ष्मण, लव-कुश र हनुमान सम्झन्थेँ । गाईवस्तु पर पुगेपछि बेसरी दौडेर फर्काउन जान्थेँ । गाईले नेटो काटेछ । भरे हजुरबाले गाली गर्नुभयो । सधैँ माया गर्ने हजुरबाले गाली गरेपछि म घर छाडेर हिँडेँ । खोलो कहाँ पुग्छ, गण्डकी कहाँ पुग्छ भन्दै एउटा भव्य घरमा पुगेँ । त्यो घर चापाकोट सेरोफेरोकै नामुद साहु भुवानेश्वर आचार्यको रहेछ, पछि थाहा पाएँ । हाम्रो घरमा मट्टीतेल हुँदा टुकी बाल्थ्यौँ । नहुँदा, आगो-अगुल्टोले नै निर्वाह गथ्र्यौं । अहिलेजस्तो बिजुली थिएन । भरे अवेला त्यो घरमा पुग्दा झिलीमिली थियो । वरपर फूलैफूल, ठूलो गोठ, चारैतिर गोबर ग्यासको बत्ती, रमाइलो मानीमानी त्यो सब हेर्दै थिएँ ।
सानो केटो, साँझपख, आफ्नो घरवरपर रमाइरहेको देखेर होला, त्यो घरकी आमाले मलाई बोलाइन् ।
'माथि डाँडामा घर, दमै थर,' मैले यस्तै भनेँ ।
'मगर गुरुङ भएको भए पानी चल्थ्यो । दमै परिस् । सोझो रैछस् । घर-परिवार पनि रैछ । अब हाम्रैमा गोठालो बस् । बा-आमाले खोजेछन् भने जालास्,' ती आमाले बास दिइन् ।
त्यो रात त्यहीँ बसेँ । भोलिपल्ट कालीको तिरैतिरै कतै पर जाने सोचेको थिएँ । सम्झँदा अचम्म लाग्छ, कहाँ जान हिँडेको होला ? रामायणको प्रभाव, कतै पर सानी सीता र सुनको मृग भेट्छुजस्तो लाग्थ्यो ।
त्यो घरमा पनि बाहिरै खाएँ, बाहिरै सुतेँ । जहाँ गए पनि जातसँगै जाने भएपछि मलाई नरमाइलो लाग्न थाल्यो । सोचेको थिएँ- कतै पर पुगेर जात ढाँट्छु । मलाई आफ्नो जातप्रति सम्पूर्ण रूपमा घृणा लागिसकेको थियो । त्यो घरमा दुई रात बिताएँ । कालीको किनारमा गोठालो जाँदा त्यसै रमाइलो लाग्यो । तेस्रो दिन मलाई खोज्दै हजुरबा पुग्नुभयो र घर फर्कें ।
हाम्रो गाउँमा दलितले ठकुरीहरूलाई 'बाबुसाहेब', 'मैयाँसाहेब' भन्थे, यो चलन अझै छ । ठकुरी जातको सानो बच्चाले पनि वृद्धवृद्धा दलितलाई 'तिमी' भनेर सम्बोधन गर्छन् । तर, वृद्धवृद्धा दलितले जुनसुकै उमेरको ठकुरीलाई 'हजुर' भनी सम्बोधन गर्छन् । यसरी सम्बोधन नगरे ठूलो बन्न खोज्यो भनिन्छ ।
११/१२ वर्षको हुँदा एउटा ठकुरीको घरमा पूजाको निम्तो मान्न गएको थिएँ । दुना-टपरीमा प्रसाद बाँडिदै थियो । माथिल्ला जातिले हातैबाट प्रसाद लिने र तल्ला जातले भुइँमा राखेको टपरी टिप्नुपर्ने रहेछ । मलाई ख्यालै भएन । मैले हातैबाट प्रसाद झिकेँ । प्रसाद बाँड्ने दिदीले गाली गरिन्, 'तल्लो जात भएर तलै बस्न जान्नुपर्छ ।'
No comments:
Post a Comment