प्रेम सुनार-असौंज–२०, गुल्मी । गुल्मी पुकोर्टदहबाट आफ्नो परम्परागत पेशा छाडेर
तम्घासमा मजदुरी गर्न बसेका रामबहादुर दर्जि विहानैै मन्दिरमा दर्शन गर्न
पुगेका थिए । दर्शन पछि केहि छिन खल्तीमा हात लगाएर वाजा बजाएको एक तमासले
हेरी रहे उनले । खुव हेर्नु भो नि ? भन्ने प्रश्नमा उनले कमाण्डर
पोष्टलाई भने –‘ हेर्नु न, हिजो वाजा वजाउने ठेक्का हाम्रै मात्र हो जस्तो
लाग्थ्यो, अहिले सवै जात–जातीले बजाउँदा खुशी लाग्यो ।’
त्यो दृश्य तम्घास ८ भुजेलखर्कस्थित खडग
कालिका मन्दिरमाा चलिरहेको
दशै पुजाको दोश्रो दिन विहनाको थियो । त्यस वडा भरी नै बाजा वजाउने दर्जि
समुदाय नभएपछि झण्डै एक दशक अघिदेखि स्थानिय एक जना भण्डारी सहित गैर
दलितहरुले दशै पुजाको नौ दिन सम्म बाजा बजाउने गर्दा रहेछन् ।
पुुर्कोटदहका रामबहादुर झैं विगतमा त्यस गाउँमा बस्ने दुई घर दर्जि पनि
त्यस पेशाबाट जिविका चलाउन नसकेर तराईतिर वसाई सराई गरे पछि त्यहाँ वाजा
वजाउने दर्जिको अभाव खड्किएको त्यस कोटमा वाजा बजाउने समुहको नेतृत्व
गरिहेका ४४ वर्षिय शुसिल भण्डारीले बताए । ‘ के गर्ने अहिले यस गाउँमा
दर्जिहरु हुनुहुन्न, हामीले वजाउने गरेका छौं’ भण्डारीले भने–‘ यि वाजा
हाम्रा राष्ट्रिय वाजाहरु हुन् यिनको संरक्षणमा जो सुकै जाती , समुदाय पनि
जुट्दा हुन्छ भन्ने ठानेर म लगायत यहाँका केहि श्रेष्ठ, मगर र बिश्वकर्मा
साथीहरु जुटेका छौं ।’
‘म नेपाल प्रहरीको पेन्सनर हुँ ’ भण्डारीले भने–‘यस कोटमा दर्जिको
मात्र होईन वाजाको समेत अभाव भएपछि चार वटा वाजा मैले चढाएकाो छु र अरुले
पनि चढाएर वजाउँदै आएका छौं । ’ त्यस वडा दलित समुदायको बाहुल्य रहेको वडा
हो जहाँ कपडा सिलाउँने, वाजा वजाउनेहरुको मात्र होईन, फलाम र तामाको काम
गर्ने उनिहरुको पुख्र्यौली पेशा समेत लोप भएको छ । झण्डै डेढ सय घरधुरी
दलित समुदायमा जम्मा दुई घर बृद्धहरुले मात्र आरन चलाएको देख्न पाईन्छ र
उनका छोराहरु कोहि देश–प्रदेश त कोहि तम्घास वजारमा सुनको काम गर्ने
गर्दछन् ।
‘के गर्ने बाबु यो काम बाट ज्यान पाल्नै गाह्रो छ, छोराहरुले जे
गरेका छन् ठिकै गरेका छन ’ आरन चलाएर बस्ने बृद्धहरु भन्छन्–‘ यो पेशा त
अरुका लागि ज्यान फाल्ने पेशा मात्रै रैछ । ’यता वाजा बजाई रहेका भण्डारी
परम्परागत पेशाहरु लोप हुँदै गएकोमा चिन्ता ब्यक्त गर्छन् । भन्छन्–‘ कपडा
सिलाउने, सुन कमाउने पेशा वरु क्षेत्रि वाहुन सवैले गर्न थाले तर फलामको
काम र वाजा वजाउने काम गर्न ति समुदायका युवाहरु लजाउन थाले । ’
उनले यि लोप हुन लागेका पेशाहरुलाई राज्यको तहवाटै प्रोत्साहित हुनु
पर्ने र अन्य जातिहरुले अग्रसरता लिए संरक्षण गर्न सकिने धारण राख्छन् ।
‘केहि वर्ष अघि सम्म यस कालिका मन्दिरमा दशैं भर अर्खलेको वर्दवास, सिमीचौर
र उपल्लो तम्घासबाट दर्जिहरु बोलाउने गर्दथ्यौं’ भण्डारीले भने–‘ अहिले त
ति गाउँहरु मै अभाव भएको छ ।’ बाजा वजाउनेहरुको जिल्लाका प्राय हरेक गाउँमा
अभाव खड्कीदै आएको छ ।
गुल्मी कै बडागाउँ जस्तो जहाँ वडा नम्वर ६ र ८ , मुसिकोट २ मा
दलितहरुको बाहुल्य छ, त्यहाँ समेत परम्परागत पेशा गर्ने दलितहरु पलायन
हुँदै गएका छन् । त्यहाँका ३ सय बढि घर धुरी दलितहरुमा करिव एक दर्जन
घरधुरीले मात्रै परम्परागत पेशा गर्ने गरेको अरु सवै अन्य मजदुरीमा लागेको
बडागाउँका दलित अगुवा गोमबहादुर सुनार बताउँछन् । ‘ मेरै अहिलेको अवस्था
हेर्नुस ’ सुनारले भने –‘ डेढ दशक अघिको तिज दशै तिहारमा गहना कमाउँदा खान
खाने फुर्सद हुन्नथ्यो अहिले ठेंका टाल्ने काम सिवाय केहि आउँदैन सवै
वजारतिर खनिएका छन् ।’
उनका अनुसार सुनारहरुको तुलनामा अझ उपेक्षित छन् आरनको काम गर्ने र वाजा
वजाउने दलितहरु । मुख्यतयः बाजा बजाउनेहरुलाई सामाजिक उपेक्षा र उचित
परिश्रम नहुनु पलायनको मुख्य कारण भएको उनको ठहर छ । अहिले पनि अधिकांस दशै
कोटहरुमा दर्जिहरुलाई हिजोका भुरे टाकुरे राजा र रैतिको शैलीमा नेग–नाग
दिने जस्तो उपेक्षा कायमै छ । वालि चढाईएका टाउँकाहरु मन्दिर पुजा
ब्यवस्थापन खर्चका नाममा बढि–बढाउमा बेच्ने, त्यसको आम्दानीको केहि हिस्सा
उनिहरुको कल्याणमा नखर्चीने गरेका कारणले पनि असन्तुष्ट देखिन्छन् दर्जि
समुदायहरु ।
नेग–नाग प्रथा हिजोका राजा–महाराजा र रैतीहरु विचको प्रथा हो यसले
दलितहरुलाई दासका रुपमा हेर्ने परिपाटीलाई कायमै राख्छ भन्दै गत वर्ष साझा
मञ्च गुल्मीका अध्यक्ष गणेश बिश्वकर्मा लगायतका अगुवाहरुले तम्घास स्थानको
मन्दिरमा नेग–नाग बहिस्कार गर्न लगाई नगद पारिश्रमिक लिन लगाएका थिए ।
त्यहाँका वाजा वजाउने दलितहरुले गत वर्षदेखि पारिश्रमिक लिन थालेपछि
मर्यादित पेशा जस्तो महशुस भएको बताउँ छन् ।
यस्तै नगद पारिश्रमिक दिने र उनिहरुको आत्मा सम्मानमा ठेस नपुग्ने
खालको बोली वचन र ब्यवहार गर्ने हो भने त्यस समुदायलाई आफ्नो पेशाबाट पलायन
हुनबाट बचाउन सकिने दखिन्छ । अन्यथा भोलीका दिनमा तम्घास ८ भुजेलखर्कको
कालिका मन्दिरमा झैं दर्जि दर्शक र भण्डारी जस्ता गैह्र दलितहरु वाजा
बजाउँदैको दृश्य जताततै देख्नु पर्ने सम्भावना बढेको छ । जुन पक्ष सकरात्मक
पनि हो तर त्यो समुदायलाई पनि हातोमालो नै गरेर लैजान सके अझै सकरात्मक
हुने देखिन्छ ।
source:- gulmitoday
No comments:
Post a Comment