दशैँ र दलितको सम्बन्ध

(जागरण मिडिया सेन्टरद्वारा उत्पादित रेडियो कार्यक्रम कटवाल रेडियो पत्रिकाको लागि दलित नेता तथा साहित्यकार विश्वभक्त दुलाल आहुतीसँग ‘दशैँ र दलित’ विषयमा महावीर विश्वकर्माले गर्नुभएको कुराकानी)
१)दशैँ र दलितको सम्बन्ध कस्तो छ ?
—दार्शनिक रुपमा यसले धार्मिक अन्धतातिर लगिराखेको छ । दोश्रो यसले वर्णव्यवस्थामा आधारित उँचनीचमय तहगत संरचनालाई कायम राख्ने काम गर्छ, टीका प्रथाले । र तेश्रो चाहीँ उनीहरुलाई आर्थिकरुपमा ऋणमा डुबाउँछ । यसरी दलितहरुको र दशैँको सम्बन्ध चाहीँ वास्तवमा आधारभुत रुपमा नकारात्मक प्रभावहरु लिएर आउने चाडपर्व रहेको छ ।
२)दलितलाई धार्मिक अन्धतातिर लैजान्छ भन्नुभयो, त्यो चाहीँ कसरी नी ?

—दशैँ भन्ने बित्तिकै यो चाहीँ दुर्गाले महिषासुरलाई वध गरेको, राक्षसहरुलाई वध गरेको कथासँग सम्बन्धित छ एउटा । अर्कोचाहीँ रामले रावण वध गरेको कुरासँग सम्बन्धित गरिन्छ यसलाई । अब यसो हुने बित्तिकै दशैँको पहिलो दिनदेखी नै नवरात्री शुरु भइसकेपछि चाहीँ राक्षसको कपालको रुपमा जमरा राख्न शुरु गरिन्छ । जमरा भनेको चाहीँ त्यो जटा हो राक्षसको । त्यसलाई मारेपछि सिउरिएको हो भन्ने अर्थमा लगाइन्छ त्यो । त्यसपछि देवी—देवताका पूजाआजा शुरु हुन्छ,  मार हानिन्छ । यसरी दशैँ चाडको शुरुदेखी अन्त्यसम्म देवी देवता वा अर्को कुनै शक्तिलाई पूजा गर्नका निम्ति र त्यो सँग आशिर्वाद लिनका निम्ति चाहीँ प्रेरित र प्रशिक्षित गरिन्छ । त्यो भनेको मानिसलाई सिधै धार्मिक अन्धतातिर, कुनै विश्वासवादतिर लान्छ । दलितहरुको मुक्तिचाहीँ त्यसप्रकारका अन्धताबाट मुक्त भएर मात्रै सम्भव छ फेरी । किनकी वर्णव्यवस्थाजस्ता धार्मिक मान्यताहरु जो बनाइएको छ, त्यो स्वयम नै धार्मिक अन्धतासँग सम्बन्धित छ । त्यसबाट मुक्त हुनुपर्ने दलितहरु । तर दशैँले चाहीँ झनै धार्मिक अन्धतातिर प्रेरित गर्छ, प्रशिक्षित गर्छ । त्यस अर्थमा यो गलत छ ।
३)दशैँलाई त असत्यमाथी सत्यको जीतको रुपमा लिएर केही सिक्नुपर्छ पनि भनिन्छ नि हैन र ?
—यो चाहीँ कस्तो कुरा हो भने, के लाई सत्य भन्ने के लाई असत्य भन्ने ? अब इतिहासमा चाहीँ जो जित्यो त्यसले आफ्नो पक्षमा इतिहास लेख्यो । रावणले जितेको भए उस्ले अर्कै इतिहास लेख्थ्यो, रामलाई खलनायक बनाउँथ्यो । महिषासुरहरु यदि जितेका हुन्थे भने उनीहरुले देवी—देवताहरुलाई खलनायक बनाउँथे, इतिहासमा । र इतिहास(समाजशास्त्र) पढ्ने हो भने के देखिन्छ त फेरी जसलाई हिन्दुस्तानमा र यो दक्षिण एसियामा राक्षस भनिएको छ, उनीहरुचाहीँ यहाँका आदिवासी देखिन्छन् फेरी । र जो चाहीँ देवी देवता भनिएका छन्, उनीहरुचाहीँ आर्य मुलका छन् । उनीहरु ५००० वर्षको आसपासमा यो भुमिमा आएका हुन् । उनीहरुले आक्रमण गरेका हुन् यहाँका आदिवासी वस्ती माथी । यसरी हेर्दाखेरी राक्षसहरु भनेका चाहीँ वास्तविक आदिवासी देखिन्छन् यहाँका र देवता भनेका चाहीँ फेरी आप्रवासी देखिन्छन् । यदि समाजशास्त्रको कोणबाट हेर्ने हो भने अहिलेका देवी देवता सबै खलनायक बन्न पुग्छन्, अनि जसलाई राक्षस भनिएको छ उनीहरुचाहीँ नायक बन्न पुग्छन् । त्यसकारण सत्य र असत्यको बयान पनि एउटा मिथक बाहेक अरु केही देखिँदैन ।
४)दशैँले दलित र गैरदलितबीचको जुन असमानता छ, खाडल छ, त्यसलाई कस्तो असर पार्छ ?
—दलितहरुचाहीँ समाजमा सानै हुन् भन्ने कुरा यसले किटान गर्छ । किनकी दलितहरुको हातबाट टीका लगाउन गैर दलित त आउँदैन कोहीपनि । दलित नै गैरदलितको हातबाट टीका थाप्न जाने हो । जो ठुलो हो उसैको हातबाट टीका थाप्ने हो भनिसकेपछि त समाजको मान्यता के हो त भने गैर दलित नै ठुलो हा,  गैर दलित नै उच्चस्थानमा छ । भनिसकेपछि यसले दलितहरुलाई चाहीँ तलकै हुन् भन्ने छाप लगाइदिन्छ ।
५)उसो भए यस्ता चाडपर्वहरुलाई कसरी परिमार्जन गर्नु आवश्यक छ त ?
—चाडपर्वहरुको हकमा नेपालमा चाहीँ मोटामोटी ३/४ प्रकारको नीति लिनुपर्छ भन्ने ठान्छु म । पहिलो कुरा, हाम्रा जति पनि चाडपर्व र कर्मकाण्डहरु छन्, ती अधिकाँश ९९ भन्दा बढी प्रतिशत ती धर्मसँग जोडिएका छन् । जुन ठाउँमा धर्म घुस्छ त्यो मानवताविरोधी बनिहाल्छ । त्यसकारण सबैभन्दा पहिले त हाम्रा चाडपर्वहरुबाट धार्मिक अनुष्ठानहरु हटाईदिनुप¥यो । धार्मिक अनुष्ठानहरु हटाउने र साँस्कृतिक अनुष्ठान मात्रै गर्ने । मान्नुस् की दशैँमा पूजा नगर्ने, जमरा नराख्ने, टीका नलगाउने र अरु सबै गर्ने । अरु सबै भनेपछि के पर्छ त भने खानपिन गर्न सकिन्छ, नाचगान गर्न सकिन्छ, आफन्तलाई बोलाएर भेटघाट गर्न सकिन्छ, भावना साटासाट गर्न सकिन्छ । यदि त्यो धार्मिक अनुष्ठान त्यहाँबाट हटाईदियो भने मान्छेको सेवा गर्ने चाड बन्छ त्यो । त्यसकारण हाम्रो चाडपर्वहरुबाट धार्मिक अनुष्ठानहरु हटाउनुपर्छ ।
दोश्रो कुरा , हाम्रा चाडपर्वहरुलाई चाहीँ सरल र किफायती बनाउन लाग्नुपर्छ । किनकी एकैचोटी मान्छेहरुले धार्मिक अनुष्ठान त छोडदैनन् । प्रगतिशिल मान्छेहरुले, क्रान्तिकारीहरुले त छोड्लान् तर फेरी आमजनताले त भन्ने बित्तिकै छोड्दैनन् । त्यस्ले गर्दा हाम्रा धार्मिक अनुष्ठानहरु, कर्मकाण्डी अनुष्ठानहरुलाई किफायती र सरल बनाउने अभियान पनि सँगसँगै चलाईनुपर्छ । दशैँ २/३ वटा खसी काटिन्थ्यो, एउटा राङो काटिन्थ्यो भने त्यसलाई केही किलो मासुबाट काम चलाउने । यसरी सरल र किफायती बनाउन तिर लाग्ने ।
तेश्रो कुरा , हामीले यी चाडपर्वहरुलाई वैज्ञानिकीकरण बनाउँदै जानु पनि जरुरी छ । जस्तो की म तपाईँलाई भनुँ, भक्तपुरमा एउटा जिब्रो छेँड्ने जात्रा छ । बेस्सरी रक्सी खुवाएर मात्तेको मान्छेलाई जिब्रो छेँड्ने चलन छ त्यहाँ । कुनै कालमा, कुनै तरिकाले मान्छेले शुरु गरेको जिब्रो छेड्ने, सग्लो जिब्रो चाहीँ फलामले छेड्ने जो जात्रा छ, त्यसरी नै त्यो जात्रा मनाए हुन्छ, तर जिब्रो नछेडिकन छेडेको जस्तो भान पर्ने गरि देखाउन पनि त सकिन्छ । वैज्ञानिकरण गर्न सकिन्छ नी । जिब्रो चाहीँ नछेड्ने त्यसको सट्टा चाहीँ जिब्रो छेँडेको आकार बनाउने तर साँच्चै जिब्रो चाहीँ नछेड्ने । तर जात्रा चाहीँ फेरी गर्ने, यस्तो पनि हुनसक्छ ।  त्यसो भयो भने त्यो अलिकति वैज्ञानिकीकरण हुन्छ ।
र चौथो कुरा, नयाँ हाम्रै युगमा मानव जातीले लडेर निर्माण गरेका दिवसहरुलाई हामीले साँस्कृति चाडपर्वको रुप दिनु जरुरी छ । जस्तो की मई दिवस हुनसक्छ, ८ मार्च हुनसक्छ, सहिद दिवस हुनसक्छ, गणतन्त्र दिवस हुनसक्छ इत्यादि । अहिलेसम्म यी चाडपर्वहरुलाई चाहीँ राजनीतिक चाडपर्वको रुपमा मात्रै मनाइयो । मई दिवसमा चाहीँ खलखली पसिना निकालेर जुलुस निकाल्ने अनि लखतरान भएर घरमा फर्किएर एक छाक मिठो पनि नखाने फेरी । त्यो राजनीतिक पर्व मात्रै भयो, अब हामीले त्यसलाई साँस्कृतिक रुप दिनुप¥यो । सहिद दिवसमा आफन्तहरु किन नडाक्ने ? र अलिकति मिठो मसिनो किन नखाने ? मई दिवसमा चाहीँ मजदुरहरुले वा अरु सबै श्रमजीवि जनताले चाहीँ आफ्ना आफन्तहरुलाई बोलाएर सँगै बसेर भावना साटासाट किन नगर्ने ?यदि त्यो गर्न थालियो भने यी राजनीतिक पर्वहरु चाहीँ साँच्चैको साँस्कृतिक पर्वमा रुपान्तरण हुनेछन् । त्यसो भयो भने पुराना रुडीवादी खालका पर्वहरुलाई विस्तारै विस्थापन गर्न र हाम्रै युगमा स्थापित गौरवमय दिनहरुलाई साँस्कृतिक पर्वको रुपमा विकास गर्न सम्भव हुनेछ । यी ४ कुरा गर्नुपर्छ भन्ने मलाई लाग्छ ।
६) देश धर्मनिरपेक्ष राष्ट्र भइसक्दा पनि कुनै एउटा धर्म विशेषको चाडलाई विशेष प्राथमिकता दिइरहेको छ नि राज्यले, कसरी हेर्ने यसलाई ?
—पहिलो कुरा चाहीँ धर्म निरपेक्षता चाहीँ नेपालको शासक वर्गले चाहेको भएर आएको होईन । नेपालका श्रमजीवि र नेपालका उत्पीडित समुदायहरुको लडाईँको कारणले आएको हो । र अहिले पनि धर्मनिरपेक्षता संविधानमा त लेखियो तर त्यसलाई पूरै संस्थागत भएर धर्म निरपेक्षतामा आधारित कानुनहरु बनिरहेको छैन । किनकी धर्म निरपेक्षताको घोषणालाई त, स्वीकारोक्तिलाई त कानुनमा लिपिवद्ध गरेर लागु गर्नुपर्ने हुन्छ । अहिले तपाईँले विभिन्न कानुन हेर्नु भो भने अधिकांश कानुन हिन्दु धर्ममा आधारित छ, त्यसको मुल्य मान्यतामा आधारित छ । किन छन् त भन्दाखेरी चाहीँ धर्म निरपेक्षतामा आधारित भएर कानुन बन्न शुरु भएकै छैन । एउटा मात्रै बन्यो त्यस्तो कानुन, त्यो हो छुवाछुत विरोधी कानुन । त्यसकारणले जबसम्म धर्म निरपेक्षताचाहीँ नयाँ संविधानमा लिपिवद्ध हुँदैन, र त्यसका आधारमा नयाँ कानुनहरु र पुराना कानुनहरुलाई परिमार्जन गर्ने काम शुरु हुँदैन त्यो बेलासम्म हिजोदेखी चलिआएका यसप्रकारका एक धर्मको चाडलाई चाहीँ विशेष महत्व दिने जुन प्रथा छ त्यो कुनै न कुनै रुपमा जारी भइरहन्छ ।
७) दशैँ जस्ता चाडपर्वहरुको समयमा दलितले सिनो फ्याल्नुपर्ने जस्ता जातीय विभेदका घटनाहरु ब्ढी नै हुने गरेका छन् । यसलाई नियन्त्रण गर्नका लागि के गर्नुपर्छ ?
—दुई वटा कुरा जरुरी छ । एउटा कुरा त समाजमा रहेको प्रगतिशिल जो दलित पनि हुनसक्छ, गैर दलित पनि हुनसक्छ प्रगतिशिल हिस्सा र दलित समुदायले पनि स्थानीय तहमै पहल गर्नु जरुरी छ यो विषयमा । अर्को कुरा राज्यले बनाएको जो कानुन छ, त्यो कानुनलाई पनि दृढतापूर्वक लागु गर्नका लागि राज्य तयार हुनुपर्छ ।
८)यस्ता चाडपर्वहरुचाहीँ प्रगतिशिल ढङ्गले मनाऔँ भनिन्छ नि , कस्तो हो यो प्रगतिशिल भनेको चाहीँ ?
— यो चाडपर्व जसरी मनाइँदै आइएको छ, त्यसरी नै मनाउने हो भने यो प्रगतिशिल हुँदैन । प्रगतिशिल हुनका निम्ति कम्तीमा यसबाट धार्मिक अनुष्ठानहरु नमनाउन शुरु गर्नुपछ । अनि मात्रै यसले प्रगतिशिल रुप धारण गर्छ ।
९)यसो गर्न सम्भव छ आम दलित समुदायमा ?
—आममा त एकैचोटी सम्भव छैन । मैले यसकारण दोश्रोमा यसो गर्नुपर्छ, तेश्रोमा यसो गर्नुपर्छ, चौथोमा यसो गर्नुपर्छ भनेर ४ वटा विकल्प राखेको छु । तर क्रान्तिकारी र साँच्चेको प्रगतिशिल हिस्साले त गर्न सम्भव छ । मेरै कुरा गर्नुहुन्छ भने म चालिस सालदेखी यसै गरि आइरहेको छु ।
१०)तर धार्मिक अनुष्ठान नै अलग गरिदिँदा त त्यो पर्वको रस नै हराएर महत्व नै कम हुँदैन र ?
—मानिसहरुलाई त्यसको बारेमा भ्रम पनि छ, धार्मिक अनुष्ठान नगरिकन चाहीँ कसरी चाडपर्व होला भन्ने भ्रम । तर म तपाईँलाई केही उदाहरणहरु राख्न चाहन्छु— घोडेजात्रा । घोडेजात्रामा कुनै धार्मिक अनुष्ठान हुँदैन । तर काठमाण्डौका नेवारहरु सबैले आफ्ना आफन्तहरुलाई डाक्दछन्, सँगै भोज गर्दछन् र उनीहरु आफ्नो भावना साटासाट गर्दछन् र उनीहरुले आनन्द नै मान्छन् । त्यसैगरि ल्होछारा धार्मिक होईन त्यो नयाँवर्षको पर्व हो । त्यहाँ पनि ती जातीहरुले आफुलाई आनन्दित नै महसुस गर्दछन् । के भएर आनन्दित महसुस गर्छन त भन्दा खेरी त्यहाँ उनीहरु नातागोता, साथीसँगी एकैठाउँमा जमघट हुन्छन्, सँगै खानपिन गर्छन, सँगै नाचगान गर्छन र आफ्ना भावना साटासाट गर्छन । त्यसरी उनीहरु आनन्दित हुन्छन् । त्यसकारणले धार्मिक अनुष्ठान गरेपछि मात्रै त्यहाँ आनन्दित हुने वा त्यो चाहीँ जनताले स्वीकार्ने भन्ने कुरा होइन । हाम्रो के कुरामा रस बस्छ भन्ने कुरा हो । रोदीमा कुनै पूजा हुँदैन । तर त्यहाँ सबै मान्छे तँछाडमछाड गरेर आनन्दित हुनका लागि जान्छन् र त्यहाँ नाचगान गर्छन । त्यसकारण धर्मसँग मात्रै आनन्दको सम्बन्ध छ भन्ने कुरा होईन ।
११)यसपालीको दशैँमा दलित समुदायलाई तपाईँको सुझाव के छ ?
—साँच्चै क्रान्तिकारी दलितहरु, अग्रगामी चेतनाले लैस भएका दलितहरु उहाँहरुले कम्तीमा धर्मलाई अलग पारेर केवल साँस्कृतिक भेटघाटको रुपमा मात्रै दशैँलाई मनाउन शुरु गरिनुपर्दछ । र आम दलितहरुको हकमा चाहीँ कम्तीमा पोहोर साल जति खर्च गर्या हो त्यो भन्दा कम खर्च गर्न तयार हुनुपर्छ । कम्तीमा यत्ति कुरा भयो भने हामी अगाडी बढेको ठहर्छ ।

 यो  कुराकानी गत बर्षको हो र सान्दर्भिक भएकोले राखिएको छ -एडमिन
साभार : जागरण मिडिया 

No comments:

Post a Comment