वर्षभरि सबै परिवारका लुगाकपडा पैसा नलिई सिलाउन पर्छ

बाजुरा, आश्विन २२ - 'साहुले खलो दिए दसैं रमाइलो होला, नभए अरूको रमाइलो हेरेर बस्नुपर्छ ।' कैलाशमाण्डौं ३ दलित टोलका शंकर लोहारले आफ्नो परिवारको दसंै मनाउने अवस्था सुनाउँदै भने । पुस्तौंदेखि लोहारको परिवार चाडपर्व मनाउन साहुबाट खलो पाउने आशमा हुन्छ । वर्षभर काम गरेबापत साहुले दिने ज्याला बापतको खाद्यान्नलाई खलो भन्ने चलन छ । बाजुराका अधिकांश दलित समुदायका परिवार खलो प्रथाबाट आउने अन्नपातबाट गुजारा चलाउँछन् । चाडपर्वका बेला उनीहरूलाई खलो पाउने प्रतीक्षा हुन्छ । दिनरात बेफुर्सदी भएर साहुका हसिया, हथौडालगायत फलामका सामान निर्माण तथा मर्मत
गर्ने काम गर्दै आए पनि शंकरको परिवारलाई सधैंजसो परिवार पाल्नै समस्या हुन्छ । यति बेला पनि गाउँघरमा दसंै लागिसक्यो तर उनको परिवारलाई भने कसरी मान्ने भन्ने पीर छ । 'त्यही खलोको आस बाँकी छ,' उनले भने ।

उनीमात्र नभएर खलो प्रथा मानेर बसेका जिल्लाका दलित समुदायका अधिकांशको अवस्था एकैनासको छ । फलामे भाडा मर्मत गरेबापत उनलाई कसैले नगद दिँदैनन् । बाली भित्र्याउने बेला र चाडपर्वका बेला गाउँलेले खलो दिने चलन छ । साहुले दिने खलोमा कुनै मापदण्डसमेत हुँदैन । साहुले आफ्नै इच्छाअनुसार कामदारले ज्यालास्वरूप अन्न दिने गर्दछन् । 'ज्याला भने पनि त्यही खलोका रूपमा पाउने खाद्यान्न हो,' उनले भने । वल्लोपल्लो गाउँ गरी करिब डेढ सय परिवारका फलामे भाडा मर्मत र निर्माण गर्ने उनको काम हो । साहुले बेलैमा खलो दिए परिवारलाई चाडपर्वका बेला राहत हुन्छ । यति बेला साहुले धानबालीसमेत भित्र्याउने समय नभएकाले दसंैका बेला उनीहरूले खलो दिन्नन कि भन्ने पीर परेको शंकर बताउँछन् ।

खलो प्रथामा काम गर्नेले नगद नपाउने भएकाले आफूहरूलाई दैनिक गुजारा गर्न समस्या हुन थालेको जिल्लाका खलिया बताउँछन् । गुजारा नचल्ने भएपछि कतिपय त साहुको काम छोडेर रोजगारी खोज्दै भारत जान्छन् । 'यता गाउँघरमा काम गरेर गुजारा चलाउनै समस्या हुने भएकाले भारतमा चौकीदारी गर्न जानुपर्ने बाध्यता पनि छ,' बाह्रविसका शेरबहादुर नेपालीले भने, 'वर्षभरि सबै परिवारका लुगाकपडा पैसा नलिई सिलाउन पर्छ तर वर्षमा दुई पटक पाउने खलोले गुजारा चल्दैन ।'

लोहार, दमाई, सार्कीलगायत थरका दलित परिवारले खलो प्रथा अपनाई रहेका जिल्ला खलिया समाजका अध्यक्ष प्रतापे आउजी बताउँछन् । आउजीले भने, 'दसंैका बेला साहुको घरमा बोका काटिन्छ, खलियालाई एक किलो मासु किन्ने उपाय हुन्न ।' समाजका अनुसार जिल्लाभर करिब ४५ हजार बढी दलित छन् । यीमध्ये धेरैजसोले परम्परागत रूपमा खलो प्रथाबाटै गुजारा गरिरहेका छन् ।
- साभार ekantipur

No comments:

Post a Comment